Prabardhan

Prabardhan #विचार #सम्पादकीय Weekly newspaper

अटिजम : सही बुझाइ र सहयोगको आवश्यकताहाल नेपालमा अटिजम पहिचान भएका बालबालिकाहरूको संख्या बढ्दो रूपमा सतहमा आएको देखिन्छ। ...
19/05/2026

अटिजम : सही बुझाइ र सहयोगको आवश्यकता

हाल नेपालमा अटिजम पहिचान भएका बालबालिकाहरूको संख्या बढ्दो रूपमा सतहमा आएको देखिन्छ। यसो हुनुमा अभिभावकहरूमा आएको चेतना एवं विभिन्न माध्यमबाट प्राप्त हुने जानकारीले भूमिका खेलेको देखिन्छ। त्यसभन्दा पनि निर्णायक भूमिका अटिजम एवं अन्य मनोविज्ञान सम्बन्धित समस्याहरूमा उपचार एवं जनचेतनाको लहर फैलाउन भइरहेको विभिन्न सरकारी एवं गैरसरकारी र निजी क्षेत्रका संघसंस्थाहरूले खेलेको कुरा स्पष्टै छ।

अटिजम सम्बन्धमा हाम्रो स्तर अहिले पनि प्रारम्भिक चरणमै रहेको भन्नुपर्ने अवस्था छ। किनकि हामीले हालसम्म पनि नीतिगत रूपमा र राष्ट्रिय स्तरमै गृहकार्य गर्न बाँकी छ। वास्तवमा अटिजम सम्बन्धमा राष्ट्रिय स्तरमै एकद्वार नीति आवश्यक देखिन्छ किनकि हाल सबै संघसंस्थाहरूले आफ्नै क्षमता एवं प्रयासद्वारै अटिजमलाई बुझाउने र अटिजम भएका बालबालिकाहरूको उपचारात्मक प्रक्रियाहरू अवलम्बन गर्दै आएका छन्। यस अन्तर्गत राष्ट्रिय स्तरमै अटिजम सम्बन्धमा नीतिगत निर्णय एवं प्रक्रियागत विधिहरू अवलम्बन गर्न सके एकरूपता कायम भई सम्पूर्ण अभिभावक एवं स्वयं बालबालिकाहरू समेत सकारात्मक परिणाम प्राप्त गर्न सक्छन् भन्ने कुरामा कसैको दुईमत नहोला।

यस संक्षिप्त लेखमार्फत आफू मनोविज्ञानक्षेत्रमा समर्पित अभ्यासकर्ता रहेको परिचयमा सम्पूर्ण सरोकारवालाहरूलाई लक्षित गरी अटिजम सम्बन्धमा सरल रूपमा जानकारी दिने प्रयास गरेको छु। सकारात्मक एवं रचनात्मक सुझाव एवं सल्लाहको समेत अपेक्षा राखेको छु।

अटिजम के हो?

अटिजमले बालबालिकाहरूको त्यो अवस्थालाई बुझाउँछ जसमा उनीहरू कमजोर सामाजिक व्यवहार, भाषागत समस्या र फरक व्यवहारहरू देखाइरहेका हुन्छन्। सामान्य चलनचल्तीको भाषामा भन्नुपर्दा बालबालिकाहरू सामाजिक वा पारिवारिक रूपमा घुलमिल हुन नसक्ने, दोहोरो संवाद गर्न नसक्ने वा सीमित शब्दहरू मात्र प्रयोग गर्ने, कतिपय बालबालिकाहरू शब्दहरू उच्चारण गर्न नसक्ने, एउटै प्रकारको व्यवहारमा मात्र सीमित रहने, कुनै आवाज, रङ, भिडभाड इत्यादिमा असहज महसुस गर्ने एवं तीव्र प्रतिक्रिया अपनाउने लक्षणहरू प्रायः देखिन्छन्।

जसरी यो सृष्टिमा हरेक व्यक्ति पृथक रूपमा एकअर्काबाट निरन्तर फरक हुन्छ, त्यसरी नै अटिजम भएका बालबालिकाहरू पनि एकअर्काबाट पृथक हुन्छन्। उनीहरूका व्यवहार, संवेग र प्रतिक्रियाहरू पनि स्वतः फरक हुन्छन्। यसैकारणले अटिजमलाई आधिकारिक वर्गीकरण गर्दा अटिजम स्पेक्ट्रम डिसअर्डर भनेर एउटै शीर्षकमा राखेर DSM-5-TR मा छुट्याइएको देखिन्छ। चलनचल्तीमा अटिजम भनेर यसैलाई जनाइन्छ। पहिले पहिले DSM-IV वर्गीकरणमा अटिजम सम्बन्धित अवस्थाहरूलाई पर्वेसिभ डेभलपमेन्टल डिसअर्डर भन्ने समूहभित्र राखिन्थ्यो। यस अन्तर्गत अटिस्टिक डिसअर्डर, रेट सिन्ड्रोम, एस्पर्जर्स सिन्ड्रोम, PDD-NOS तथा चाइल्डहुड डिसइन्टेग्रेटिभ डिसअर्डर जस्ता अवस्थाहरू समावेश थिए भने हाल आएर ती सबैलाई एउटै शीर्षकमा अटिजम स्पेक्ट्रम डिसअर्डरको रूपमा राखिएको छ। रेट सिन्ड्रोमको स्पष्ट आनुवंशिक कारण (MECP2 जीनसँग सम्बन्धित) पहिचान भइसकेकाले हाल यसलाई अटिजम स्पेक्ट्रम डिसअर्डर भित्र राखिएको छैन।

वास्तवमा अटिजम भएका बालबालिकाहरूमा देखिने अटिजमको विविधता नै निश्चित समाधान प्राप्त गर्नमा ठूलो अवरोध हो। किनकि हरेक बालबालिका जो अटिजम भएका छन्, उनीहरूको उपचारात्मक प्रक्रियामा त्यति नै फरक स्रोत एवं साधनको आवश्यकता पर्दछ। जुन आर्थिक, भौतिक एवं व्यवहारिक रूपमा चुनौतीपूर्ण छ। विशेषगरी अभिभावकहरूको आर्थिक स्थिति एवं अन्य दैनिक कठिनाइहरू स्पष्टै महसुस गर्न सकिन्छ। यही बिन्दुमा आएर नेपाल सरकारको नीतिगत स्पष्टता एवं सकारात्मक पहलको टड्कारो आवश्यकता महसुस हुन्छ। यस विषयमा अर्को लेखमा विस्तृत चर्चा गर्नेछु, अहिलेका लागि अटिजम विषयमै अघि बढौँ।

सर्वप्रथम मेरो विनम्र अनुरोध अभिभावकज्यूहरूलाई छ। अटिजमको क्षेत्रमा एउटा सर्वमान्य सिद्धान्त के छ भने जति चाँडो वा भनौँ बच्चा सानै हुँदादेखि अभिभावकहरूले बच्चाको सामान्य विकास प्रक्रिया अन्तर्गत कुनै पनि रूपमा कमी देख्नुभयो भने सकेसम्म चाँडो सम्बन्धित विषयमा विज्ञमार्फत सो सम्बन्धमा स्पष्ट हुनुभयो भने, अटिजमको संकेत रहेछ भने त्यसतर्फ लक्षित भएर उपचारात्मक प्रक्रिया अपनाउँदा बच्चाहरूलाई सही रूपमा अघि बढाउन सरल र उपलब्धिमूलक हुन्छ। त्यसकारण अभिभावकज्यूहरू, तपाईंहरूलाई कुनै कुरा असामान्य महसुस हुनासाथ अटिजमको लक्षण हो वा होइन स्पष्ट हुनुहोला। अटिजम पहिचान भइहाल्यो भने पनि नआत्तिनुहोला। यसको पनि सकारात्मक परिणाम प्राप्त गर्ने विधिहरू छन्।

अटिजमलाई ३ फरक तहहरूमा वर्गीकरण गर्न सकिन्छ।

१. सहयोग आवश्यक पर्ने तह - तह १

यो स्तरका अटिजम भएका बालबालिकाहरूलाई सामाजिक अन्तरक्रियासँग सम्बन्धित कार्यहरू गर्न कठिनाइ महसुस हुन्छ। तर उनीहरूमा भाषिक विकास सामान्यरूपमै भएको हुन्छ र बौद्धिक रूपमा पनि प्राकृतिक उपलब्धि भएको हुन्छ। मुख्य कुरा उनीहरू सामाजिक रूपमा दोहोरो संवाद गर्ने वा त्यसका लागि प्रयोग हुने संकेतहरू (जस्तै भाषा, भावना आदि) बुझ्न गाह्रो मान्छन्।

उदाहरणका लागि मानौँ कृष्ण भन्ने बालक ४ कक्षाको स्तरको गणितीय समस्याहरू हल गर्न र अन्य विषयहरूमा समेत राम्रो समाधान लेख्न सक्छ तर ऊ साथीभाइसँग घुलमिल हुन, संवाद गर्न रुचाउँदैन, प्रायः एक्लै आफैँमा सीमित रहन्छ। तर शिक्षक एवं उसका साथीभाइहरूले उसलाई एकलकाँटे वा अन्य अर्थमा बुझ्न सक्छन्, जुन वास्तविकता होइन। हामीलाई ऊ लजालु छ जस्तो पनि लाग्न सक्छ।

यो स्तरको अटिजम (धेरै बालबालिकाहरू जसलाई पहिले DSM-IV वर्गीकरणमा एस्परगर सिन्ड्रोम अन्तर्गत राखिन्थे) भएका बालबालिकाहरूलाई उचित सहयोग प्रदान गरी सामाजिकीकरण गर्न सकियो भने उनीहरूले राम्रो प्रगति गर्न सक्छन्।

२. थप सहयोग आवश्यक पर्ने तह - तह २

यो स्तरका बालबालिकाहरूमा सामाजिक अन्तरक्रिया र भाषा विकासमा कमीहरू स्पष्ट देखिन्छन्। उनीहरूको व्यवहार पनि दोहोरिरहने प्रकारको हुन्छ भने आफैँभित्रै सीमित रहने र आफ्ना आवश्यकताहरूसमेत स्पष्ट रूपमा बोलेर भन्न नसक्ने वा सीमित शब्दहरू मात्र प्रयोग गर्ने प्रकृतिका हुन्छन्।

उदाहरणका लागि नेपाली पारिवारिक सन्दर्भमा ४ वर्षीया बालिका मिना शब्द उच्चारण गरिन् तर आफूले चाहेको कुरा बताउन आमाको हात समातेर देखाउने वा इशारा गर्ने गर्छिन्। ऊ खेलिरहेकी बेला उसका खेलौना यताउता सारिदिँदा सहयोग गर्नुपर्ने हुन्छ। उनीहरूमा समेत इशारा उत्पन्न गराउन सक्ने आवाज वा वातावरणप्रति अभिभावकहरू चनाखो रहनुपर्छ। आफ्ना बच्चाहरूलाई क्रमशः एक शब्द जस्तै पानी, खानु, सुत (पिसाब फेर्ने संकेत) हरूको पर्याप्त प्रयोग गर्दै अभ्यास गराउने कोसिस गर्नुपर्छ। यस सम्बन्धमा आफैँ जागरूक भई विशेष सल्लाह सुझाव निरन्तर प्रयोगमा ल्याउनुपर्छ।

३. अत्यधिक सहयोग आवश्यक पर्ने तह- तह ३

यो तहमा भएका बालबालिकाहरू वास्तवमा गम्भीर अवस्थामा रहेका मान्नुपर्छ। किनकि यो तहका बालबालिकाहरूमा भाषा विकास अत्यन्त सीमित हुन्छ। सामाजिक व्यवहार लगभग शून्य हुन्छ र उनीहरू सहयोगी व्यक्तिहरूप्रति निर्भर रहन्छन्। मानौँ कुनै सुमन भन्ने बालक ६ वर्षको छ र उसले अहिलेसम्म कुनै शब्द बोलेको छैन। ऊ आँखा जुधाउन पनि प्रयास गर्दैन र लगातार शरीर, हात, टाउको इत्यादि हल्लाइरहने, एउटै स्थानमा घुमिरहने व्यवहार पनि निरन्तर देखाउँछ।

कुनै अस्वाभाविक आवाजप्रति अस्वाभाविक प्रतिक्रिया देखाउँछ, विभिन्न सतहमा हुँदा संवेदनशीलता देखाउँछ, एउटै प्रकारको खाना मात्र खान रुचाउँछ। टाउको भित्तामा ठोक्ने, हातखुट्टा पटक-पटक हल्लाउने जस्ता दोहोरिने व्यवहार देखाउँछ। यस्तो तहका बालबालिकाहरूको रेखदेख विशेष सावधानीका साथ गर्नुपर्ने हुन्छ। अटिजम सम्बन्धी विशेष संस्थाहरूमा बालबालिकाहरूलाई लैजानुपर्ने हुन्छ। यसमा सम्बन्धित संस्था एवं अभिभावकहरूमा बारम्बार सल्लाह एवं उपयुक्त विधि सम्बन्धमा एकरूपता हुनुपर्दछ। यसो गर्नाले बालबालिकाहरूले दुवै वातावरण (स्कुल र घर) मा एकरूपता महसुस गर्छन् र उनीहरू दैनिकी सहज हुन पुग्छ।

अभिभावकहरूले ध्यान दिनुपर्ने कुराहरू:

क) लक्षणहरूप्रति सचेत रहने

१. आँखा नजुधाउने व्यवहार (पुअर आई कन्ट्याक्ट)
आँखामा हेरेर व्यवहार र कुरा नगर्ने।

२. साथीभाइसँग घुलमिल नहुने (डिफिकल्टी इन पियर इन्टर्याक्सन)
एक्लै खेल्न रुचाउने।

३. बोली ढिलो हुने (डिलेड ल्याङ्ग्वेज डेभलपमेन्ट)
बोली ढिलो सुरु हुने वा नबोल्ने।

४. एउटै प्रकारको व्यवहार दोहोर्याउने (रिपेटिटिभ बिहेवियर)
एउटै ठाउँमा घुमिरहने, एउटै खेल खेलिरहने।

५. संवेदनशील संवेग (सेन्सरी सेन्सिटिभिटी)
आवाज, प्रकाश र स्पर्शमा असामान्य प्रतिक्रिया गर्ने।
ठूलो आवाज हुँदा कान छोप्ने।

६. एउटै प्रकारको दिनचर्या (रेसिस्टेन्स टु चेन्ज)
खाने समय, लुगा फेर्ने तरिका परिवर्तन गरे नमान्ने वा अस्वाभाविक प्रतिक्रिया गर्ने।

ख) व्यवस्थापन सम्बन्धमा सजग रहने

अटिजमको पूर्ण उपचार नभए पनि उचित थेरापी र सकारात्मक प्रयासद्वारा बालबालिकाको विकासमा ठूलो सुधार ल्याउन सकिन्छ। व्यवहारिक क्षमताको विकासमा सहयोग हुने मनोवैज्ञानिक र उपचारात्मक विधिहरूको प्रयोग नै अनुकूल उपलब्धि प्राप्त गर्न साधन हुन्।

१. प्रारम्भिक पहिचान सतर्कता (अर्ली आइडेन्टिफिकेसन) अपनाउने।

२. व्यवहारिक थेरापी/ एप्लाइड बिहेवियर एनालाइसिस (एबिए) प्रयोग गर्न अग्रसर हुने।

३. भाषागत थेरापी (स्पीच/ल्याङ्ग्वेज थेरापी) अपनाउने।

४. अकुपेशनल थेरापीद्वारा लुगा लगाउने, खाना खाने, समस्याहरू व्यवस्थापन गर्ने।

५. सामाजिक सीप विकास (सोसल स्किल्स ट्रेनिङ) बढाउने। पालो पर्खने, नमस्ते गर्ने, समूहमा खेल्ने।

६. अभिभावक तालिम (पेरन्ट ट्रेनिङ) – बिहेवियर म्यानेजमेन्ट टेक्निक प्रयोग गर्ने।

अन्त्यमा अटिजम एक जटिल तर व्यवस्थापन गर्न सकिने स्नायु विकासको स्थिति हो र सही समयमा यसको पहिचान गरी उपयुक्त उपचारात्मक विधि प्रयोग गरियो भने बालबालिकामा उल्लेखनीय सुधार एवं सफलता प्राप्त हुन सक्छ।

हाम्रो परिवेशमा मुख्य चुनौती भनेका जनचेतनाको कमी, अवस्था पहिचानका आवश्यक सेवाहरूको कमी, ग्रामीण क्षेत्रको बाहुल्यता र सुविधाको कमी तथा सामाजिक रूपमा यसप्रति रहेका गलत बुझाइहरू नै हुन्। हामीले यी ३ मुख्य कुराहरू अटिजमको सन्दर्भमा कहिल्यै बिर्सनु हुँदैन:

१. हरेक अटिजम भएका बालबालिकाहरू फरक हुन्छन्।
२. बालबालिकाको क्षमता र रुचिमा आधारित रहेर सहयोगका विधिहरू प्रयोग गर्नुपर्छ।
३. परिवार, विद्यालय, विशेषज्ञ र समुदायको पारस्परिक साथ र सहयोग अति आवश्यक छ।

धन्यवाद ।

मनोविद् एवं इन्जिनियर श्याम कुमार भट्टराई हाल नेपाल एकेडेमी अफ साइकोलोजीमा कार्यरत हुनुहुन्छ।

27/03/2026

इन्क्लुसिभ स्कूलको खोजीमा हुनुहुन्छ? के तपाईंको बच्चा न्युरोडाइभर्जेन्ट (Neurodivergent) छ? सिकाइ, ध्यान, सञ्चार वा व्यवहारमा फरक आवश्यकता देखिन्छ, जस्तै अटिजम (Autism), एडीएचडी (ADHD), विशिष्ट सिकाइ कठिनाइ SLD, इन्टेलेक्चुअल डिसएबिलिटी? प्लेग्रुपदेखि कक्षा १ सम्म २०८३ को लागि भर्ना खुल्दै छ।

के तपाईं यस्तो मुख्यधाराको विद्यालय खोज्दै हुनुहुन्छ जहाँ तपाईंको बच्चालाई मुख्यधाराको कक्षामै स्वीकार, बुझाइ र सहयोगसहित सिकाइने वातावरण प्रदान गरिन्छ?

यदि हो भने, हामी तपाईंको बच्चाको लागि उपयुक्त विद्यालय हुन सक्छौँ।

शिक्षा प्रत्येक बच्चाको अधिकार हो भन्ने कुरामा विश्वास र दृढता देखाउँदै, विविधतालाई सिकाइको स्वाभाविक हिस्साको रूपमा अपनाउँदै, बच्चाहरूलाई प्रणालीअनुसार होइन, प्रणालीलाई बच्चाअनुसार अनुकूल बनाउँदै, विशेष गरी न्युरोडाइभर्सिटीलाई ध्यानमा राख्दै हामी सेवामा छौँ। हामी समावेशी शिक्षालाई छुट्टै कार्यक्रमको रूपमा होइन, सम्पूर्ण शिक्षण प्रक्रियाको आधार मान्छौँ।

Least Restrictive Environment (LRE) (न्यूनतम प्रतिबन्धयुक्त वातावरण), व्यक्तिगत शैक्षिक योजना (IEP), RTI, PBS मा आधारित सिकाइ हाम्रो मुख्य उद्देश्य र प्रक्रिया हुन्। बालबालिकाले मुख्यधाराको कक्षामा सहपाठीहरूसँगै सिक्न पाउँदा सिकाइमा राम्रो प्रभाव त पर्छ नै, साथै प्रत्यक्ष रूपमा समाजमा स्थापित भई रहने अवसर पनि प्राप्त गर्छन्। पर्याप्त सहयोग कक्षाभित्रै प्रदान गरिन्छ र अत्यावश्यक परेको खण्डमा मात्र मल्टी-टियर प्रणालीमा आधारित विशेष सहयोग उपलब्ध गराइन्छ। उद्देश्य सधैं कक्षामा पुनः समावेश गर्नु हुन्छ। ध्यान केवल उपस्थितिमा होइन, सक्रिय सहभागितामा केन्द्रित रहन्छ।

आवश्यकताअनुसार प्रत्येक बच्चाको लागि मार्गनिर्देशक ढाँचा IEP बनाइन्छ, जसले लक्ष्य निर्धारण, शिक्षण अनुकूलन र प्रगति मूल्याङ्कन सुनिश्चित गर्छ। शिक्षक, विशेषज्ञ र अभिभावकबीचको सहकार्यलाई महत्त्व दिँदै IEP ले सबै बच्चाले एउटै तरिकाले सिक्नुपर्छ भन्ने मान्यता हटाएर प्रत्येक बच्चाको सिकाइ प्रक्रियालाई सम्मान गर्छ र child-centered सिकाइलाई अगाडि बढाउँछ।

पोजिटिभ बिहेवियर सपोर्ट (Positive Behavior Support – PBS) मार्फत व्यवहारलाई “समस्या” होइन “सन्देश” को रूपमा बुझिन्छ। बच्चाको व्यवहारको कारण पहिचान गरी वातावरण, काम र अपेक्षा अनुकूल बनाइन्छ र आवश्यक अवस्थामा बच्चालाई उपयुक्त विकल्प सिकाइन्छ। यसरी दण्ड होइन, सिकाइ र सहयोगमार्फत सकारात्मक र कार्यात्मक व्यवहार विकास गरिन्छ। शिक्षण र मूल्याङ्कन दुवै लचिलो राखिन्छ ताकि प्रत्येक बच्चाले आफ्नै तरिकाले आफ्नै ढंगले सिक्न र सिकेका कुरा प्रस्तुत गर्न सकोस्। वैज्ञानिक रूपमा प्रमाणित निर्देशनका साथै सिकाइप्रति रुचि र सहभागिता बढाउने विभिन्न तरिका अपनाइन्छ, सामग्री प्रस्तुत गर्ने फरक–फरक माध्यम प्रयोग गरिन्छ, र बच्चाले सिकेको कुरा देखाउन विभिन्न तरिका प्रयोग गरिन्छ। यसरी Universal Design for Learning (UDL) मा आधारित सिद्धान्तहरूलाई आधार बनाउँदै कक्षालाई अगाडि बढाइन्छ, जसले सबै बालबालिकालाई समान रूपमा अध्ययनमा रुचि राख्न, निर्देशन बुझ्न र सिकेका कुरा प्रस्तुत गर्न अवसर प्रदान गर्छ।

कुनै पनि बच्चालाई कठोर प्रणालीमा फिट हुन बाध्य बनाइँदैन। प्रणालीलाई बच्चाअनुसार विकास गरिन्छ। बालबालिकालाई छुट्याइँदैन, बरु समावेश गरिन्छ। उनीहरूलाई हामी आत्मविश्वास, गरिमा र सामाजिक सम्बन्धसहित सिक्ने अवसर प्रदान गर्न प्रतिबद्ध छौँ, जसले सहानुभूति, आपसी सम्मान र सामाजिक बुझाइ विकास गर्छ। सिकाइ केवल शैक्षिक उपलब्धिमा सीमित नरही सामाजिक रूपमा पनि विस्तार हुन्छ। समावेशी पूरा वा थोरै हुँदैन, एउटा विद्यालयलाई इन्क्लुसिभ बनाउन धेरै कुराहरू पुर्‍याउनुपर्छ। हालैका अध्ययनहरूले देखाउँछ कि नेपालमा हालसम्म इन्टिग्रेटेड बाहेक पूर्ण इन्क्लुसिभ विद्यालय, जसका लागि भौतिक पूर्वाधारदेखि धेरै कुराको आवश्यकता पर्छ, बन्न सकेको छैन। र त्यो अन्तरलाई पूरा गर्ने लक्ष्य राख्दै हामी पनि वास्तविक इन्क्लुसिभ विद्यालयसम्मको यात्रा गर्दैछौँ। सबै समूह, अपाङ्गता तथा अवस्थालाई समेट्न नसकिए पनि हामी न्युरोडाइभर्जेन्ट विद्यार्थीहरूको लागि आवश्यक इन्क्लुसिभ सपोर्टलाई पूर्ण रूपमा उपलब्ध गराउन प्रतिबद्धता जाहेर गर्छौँ।

नेपाल एकेडेमी अफ साइकोलोजी र दशकौँदेखि अटिजम, SLD, ADHD लगायत बालबालिकालाई सहयोग गर्दै आएका विशेषज्ञहरूसँग सहकार्य गर्दै
भर्ना खुल्ला छ
Playgroup देखि कक्षा १ (Playgroup to Class 1)

बेबीज माइलस्टोन्स एकेडेमी

बच्चाअनुसार बदलिने विद्यालय

स्थान: सानेपा, ललितपुर
सम्पर्क: 9840003417, 9803812939
इमेल: [email protected]

यातायातको पनि सुविधा छ।

गरिबी आफैँमा एक अभिशाप हो, तर जब यो अभिशापलाई कसैले व्यापारको माध्यमn बनाउँछ, तब मानवता लज्जित हुन्छ। चाहे त्यो खाडी मुल...
23/02/2026

गरिबी आफैँमा एक अभिशाप हो, तर जब यो अभिशापलाई कसैले व्यापारको माध्यमn बनाउँछ, तब मानवता लज्जित हुन्छ।

चाहे त्यो खाडी मुलुकमा श्रम शोषण होस् वा काठमाडौंको क्लिनिकमा डिम्बको व्यापार—शोषित हुने सधैँ गरिब नै हुन् ।
-अधिवक्ता आकृति रायमाझी
Aakriti Rayamajhi

आकृति रायमाझी । गरिबी आफैँमा एक अभिशाप हो, तर जब यो अभिशापलाई कसैले व्यापारको माध्यम बनाउँछ, तब मानवता लज्जित हुन्...

अटिजम, एडीएचडी लगायत न्यूरोडाइभर्सिटी विषयमा तालिम तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न !- तालिममा अटिजम लगायत विशेष अवस्था...
11/02/2026

अटिजम, एडीएचडी लगायत न्यूरोडाइभर्सिटी विषयमा तालिम तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न !

- तालिममा अटिजम लगायत विशेष अवस्था भएका बालबालिकाको पहिचान, आवश्यक थेरापी, समावेशी कक्षाकोठामा विशेष शिक्षा, व्यक्तिगत शैक्षिक योजना, व्यवहार व्यवस्थापन योजना लगायतका विषयहरू समेटिएका थिए।

- तालिममा सञ्चार सीप, सामाजिक सीप, जीवनोपयोगी सीप, संज्ञानात्मक विकास, व्यावसायिक शिक्षा, ट्रान्जिसनिङ सेवा जस्ता विकासात्मक पक्षहरूलाई पनि एकीकृत रूपमा समावेश गरिएको थियो। साथै, विकासात्मक अवस्था भएका व्यक्तिहरूका लागि पहिचान, पुनर्वितरण, प्रतिनिधित्व र सम्मानपूर्ण जीवन सुनिश्चित गर्ने विषयहरूलाई पनि महत्वपूर्ण रूपमा उठान गरिएको थियो।

- कार्यक्रमले मनोविज्ञान, शिक्षा शास्त्र र नीति यी तीनै आयामबाट विषयवस्तुलाई समग्र रूपमा सम्बोधन गरेको थियो। तालिममार्फत अटिजम, एडीएचडी, विशिष्ट सिकाइ अपाङ्गता, बौद्धिक अपाङ्गता लगायत विकासात्मक अवस्था भएका बालबालिकाको पहिचान, उपयुक्त हस्तक्षेप र सामाजिक स्वीकृति (Social Acceptance) को क्षेत्रमा व्यापक चेतना अभिवृद्धि हुने तथा शिक्षकहरूको सीप विकासमा टेवा पुग्ने विश्वास लिइएको छ।

अटिजम, एडीएचडी, स्पेसिफिक लर्निङ डिसएबिलिटी लगायतका विकासात्मक अवस्थाबारे चेतनामूलक, शैक्षिक तथा थेराप्युटिक ह...

के तपाईंको बच्चाले यी चरणहरू पार गरिरहेका छन्?बालविकासका बुझ्नै पर्ने महत्वपूर्ण चरणहरू:बालविकास भन्नाले समयसँगै बच्चाको...
10/02/2026

के तपाईंको बच्चाले यी चरणहरू पार गरिरहेका छन्?
बालविकासका बुझ्नै पर्ने महत्वपूर्ण चरणहरू:

बालविकास भन्नाले समयसँगै बच्चाको शारीरिक, मानसिक, सामाजिक र भावनात्मक रूपमा हुने परिवर्तनलाई बुझिन्छ। बच्चाको विकास हेर्नु जीवनकै सबैभन्दा अर्थपूर्ण अनुभवमध्ये एक हो, र यसले बच्चाको समग्र स्वास्थ्य र कल्याणमा पनि ठूलो भूमिका खेल्छ।
बच्चा शिशु अवस्थाबाट टोडलर हुँदै अगाडि बढ्दा, उसको विकासलाई बुझ्नु अभिभावकका लागि अत्यन्तै महत्वपूर्ण हुन्छ। बालविकासका चरणहरू (developmental milestones) ले बच्चाले कुन उमेरमा के–के गर्न सक्छ भन्ने सामान्य मार्गदर्शन दिन्छन्। यी चरणहरूले अभिभावक र स्वास्थ्यकर्मीलाई बच्चालाई थप सहयोग चाहिने क्षेत्र पहिचान गर्न मद्दत गर्छन्।तथापि हरेक बच्चा फरक हुन्छ, यो पनि हामीले बुझ्नु पर्छ। यदि तपाईंको बच्चाले सबै चरणहरू ठीक विज्ञानले तय गरेको समयमा पूरा गर्न सकेन भने पनि आत्तिहाल्नु पर्दैन। कसैको कुनै क्षेत्रमा बलियो क्षमता हुन्छ भने कुनै क्षेत्रमा अलि समय लाग्न सक्छ।

बालविकासका मुख्य चार क्षेत्र
बालविकासलाई प्रायः चार मुख्य क्षेत्रमा विभाजन गरिन्छ
१. शारीरिक वा मोटर विकास
यस क्षेत्रमा बच्चाले आफ्नो शरीर कसरी नियन्त्रण गर्छ भन्ने कुरा पर्छ। जस्तै: हात–औँलाको प्रयोग, हिँडडुल, दौडिनु, वस्तु समात्नु आदि।
२. संज्ञानात्मक (Cognitive) विकास
यसले बच्चाको सोच्ने, बुझ्ने र समस्या समाधान गर्ने क्षमतालाई जनाउँछ।
३. भाषा र सञ्चार विकास
बच्चाले आफूलाई अरूसँग कसरी व्यक्त गर्छ भन्ने कुरा यस क्षेत्रमा पर्छ। यसमा शब्द, आवाज मात्र होइन, इसारा, आँखा जुधाउने व्यवहार पनि पर्छ।
४. सामाजिक र भावनात्मक विकास
बच्चाको भावना, व्यवहार, र अरूको भावनाप्रति प्रतिक्रिया जनाउने क्षमता यसमा समावेश हुन्छ।
उमेर अनुसार बालविकासका चरणहरू
चारमध्ये तीन बच्चाले निश्चित उमेरमा के गर्न सक्छन् तिनका आधारमा वैज्ञानिक ढङ्गले बालविकासका चरणहरू तय गरिन्छ।

सामान्यतया बालविकासलाई पाँच चरणमा बाडिन्छ
1. शिशु अवस्था (जन्मदेखि १२ महिना)
2. टोडलर अवस्था (१ देखि ३ वर्ष)
3. प्रिस्कूल अवस्था (३ देखि ५ वर्ष)
4. स्कुल जाने उमेर (५ देखि १२ वर्ष)
5. किशोर अवस्था (१२ देखि १८ वर्ष)

उमेर अनुसार अपेक्षित क्षमताहरू:

१५ महिना
धेरैजसो बच्चाले यस उमेरमा:
• उभिन र केही पाइला चाल्न सक्छन्
• औँलाले खाना टिपेर खान सक्छन्
• खुशी हुँदा ताली बजाउँछन्
• मनपर्ने वस्तु देखाउँछन्
• अंगालो हाल्ने, माया देखाउने गर्छन्
• “मामा”, “बाबा” बाहेक केही शब्द बोल्ने प्रयास गर्छन्
• साधारण निर्देशन बुझ्छन्
१८ महिना
यस उमेरमा बच्चाहरूले:
• बिना सहारा हिँड्न सक्छन्
• दैनिक क्रियाकलापमा सहभागी हुन्छन्
• चम्चा वा कप प्रयोग गर्न थाल्छन्
• कुर्सीमा चढ्न–ओर्लन सक्छन्
• कम्तीमा तीन शब्द प्रयोग गर्छन्
२ वर्ष
धेरैजसो बच्चाले:
• दुबै हात एकैपटक प्रयोग गर्छन्
• अरूको भावना चिन्न थाल्छन्
• दुई शब्द जोडेर बोल्छन्
• शरीरका अङ्गहरू चिन्छन्
• दौडिन, बल हान्न र सिँढी चढ्न सक्छन्
३० महिना (२.५ वर्ष)
यस उमेरमा बच्चाले:
• अन्य बच्चासँग खेल्न थाल्छ
• साधारण दिनचर्या पछ्याउन सक्छ
• करिब ५० शब्द प्रयोग गर्छ
• नक्कली खेल (pretend play) खेल्छ
• दुई खुट्टाले उफ्रिन सक्छ
३ वर्ष
• अभिभावकबाट छुट्टिँदा केही समयमै शान्त हुन्छ
• अन्य बच्चासँग घुलमिल गर्छ
• साना कुराकानी गर्न थाल्छ
• आफ्नै नाम भन्न सक्छ
• गोलो आकृति कोर्न सक्छ
४ वर्ष
• नक्कल गरेर खेल्छ (नक्कली पात्र बनेर)
• दुखी व्यक्तिलाई सान्त्वना दिन्छ
• चार वा बढी शब्दको वाक्य बोल्छ
• केही रङ चिन्छ
• ठूलो बल समात्न सक्छ
५ वर्ष
• खेलका नियम पालना गर्छ
• साना घरायसी काममा सहयोग गर्छ
• लामो कथा भन्न सक्छ
• १० सम्म गन्न सक्छ
• केही अक्षर चिन्न वा लेख्न सक्छ
• एउटा खुट्टाले टेकेर उफ्रिन सक्छ
यदि बच्चाले उल्लेखित कामहरू गर्न सकेन भने के गर्ने?
यदि तपाईंको बच्चाले आफ्नो उमेरअनुसार सूचीबद्ध सबै काम गर्न सकेन भने चिन्ता हुनु स्वाभाविक हो। तर यी चरणहरू चेकलिस्ट होइनन्, मार्गदर्शन मात्र हुन्। बच्चाको कुनै क्षेत्रमा बलियो क्षमता हुन सक्छ भने अर्को क्षेत्रमा थप सहयोग चाहिन सक्छ। यस्तो अवस्थामा बालविकास वा बालरोग सम्बन्धी विशेषज्ञसँग परामर्श गर्नु सबैभन्दा राम्रो विकल्प हो।
Nepal Academy Of Psychology

बाल्यावस्थाको प्रारम्भिक चरणमा अभिभावकले बुझ्नै पर्ने कुराहरू:प्रारम्भिक रूपमा बालबालिकाले प्राप्त गर्ने वा गर्नुपर्ने स...
25/01/2026

बाल्यावस्थाको प्रारम्भिक चरणमा अभिभावकले बुझ्नै पर्ने कुराहरू:

प्रारम्भिक रूपमा बालबालिकाले प्राप्त गर्ने वा गर्नुपर्ने सहायता तथा हस्तक्षेप सामान्य देखिन सक्छ, तर त्यसको महत्व र गहिराइ हामीले बुझ्नैपर्छ। जति छिटो हामीले बालबालिका र परिवारलाई आवश्यक सहायता पुर्‍याउन सक्छौँ, त्यति नै उपलब्धि पनि बलियो हुन सक्छ।
समस्या आउँदा तिनलाई चरम अवस्थामा पुगेपछि मात्रै हेरौँला भनेर बस्नु उचित हुँदैन; बरु आवश्यक हस्तक्षेपहरू बेलैमा पुर्‍याउनुपर्छ। सुरुवाती अवस्थामै बालबालिकाका आवश्यकताहरू पहिचान गरी उनीहरूको सामान्य वातावरणमै रहेर पर्याप्त काम गरिनुपर्छ।

उमङ्ग जङ्ग पराक्रम शाह । जब एउटा सानो बच्चाले बोल्न सिक्दै गर्दा दिइएको निर्देशनलाई बुझ्न गाह्रो महसुस गर्छ, वा अ....

एकताको पथ -उमङ्ग जङ्ग पराक्रम शाहन निष्क्रिय न चञ्चल न टाढा न नजिकम जहाँ उभिएको छुयो माटो समान समतल छलौकिक चाहनाभन्दा नि...
11/01/2026

एकताको पथ -उमङ्ग जङ्ग पराक्रम शाह

न निष्क्रिय न चञ्चल न टाढा न नजिक
म जहाँ उभिएको छु
यो माटो समान समतल छ
लौकिक चाहनाभन्दा निक्कै पृथक।
भूगोल मात्र पनि होइन यो
ढुङ्गा र बालुवाले बनेको
आत्मासँग गाँसिएको सूत्र हो यो
जसले मेरो चलायमान शरीरलाई
हंस–हंस दिन्छ।
त्यसैले त यो
मेरो पाउमुनि होइन,
मेरो शिरमाथि छ।
स्वयं काल सामु पनि नझुकुला
जब यो माटोको तिलक
मेरो निधारमा छ।

म दुखी, सुखी, पीडित, सम्पन्न अनेक हुँला
तर म जे छु, जो छु
यही माटोमा उभिँदा छु।
म कहाँ थिएँ त्यो मेटेर होइन,
फरक–समानका भेदहरू खोजेर पनि होइन।
जब विजयध्वज मेरो चन्द्र–सूर्य फरफराउँछ,
एक रेसा, एक तन्तु उध्रिएको
नसहौँला।
कसैलाई नछुटाई
काँधमा काँध मिलाई
हरेक लडेकालाई उठाई
मेरो राष्ट्र उठाउँला।
एकताको पथमा जुटौँला।

मेरो पुर्खाको रगत र पसिनाले सिँचिँदै गर्दा
टप्–टप् यो माटो बोलेको आवाज
मेरो कानमा गुन्जिरहँदा
लौकिक आवश्यकताहरू गौण छन् मलाई।
मातृभक्तिको सुर–ताल,
स्वयं महाकाल ताण्डव गर्छन् जसरी,
मेरा रक्ततन्तुहरूमा दौडन्छन्।
भूत, भविष्य र वर्तमान
एकै बिन्दुमा समेटिँदा
तब मेरो नशा–नशाले भन्छ
आमा।

त्यसैले त यो
मेरो शिरमाथि छ,
यो भौतिक अवशेषभन्दा निकै पर
मेरो आत्माभित्र छ।
मेरो माटोलाई शिरमा पहिरी
सफलताको शिखर चढौँला।
प्रतिशोध र द्वेषका जालो पन्छ्याई
एकताको ध्वज ओढौँला।
मेरो माटोलाई अब उर्वर तुल्याउन
एक म, एक अघि बढ्नुछ।
तराई, हिमाल, पहाडको एक म।

Umanga Jung Parakram Shah

enepalese, news portal by Nepalese People who lives on USA

Address

PO. BOX NO. 19829
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Prabardhan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Prabardhan:

Share