31/12/2025
मेरो बच्चा किन पढ्न सकिरहेको छैन ???
धेरै बालबालिकाले पढाइमा संघर्ष गरिरहेका हुन्छन्। पढाइमा पछि पर्नु, कक्षामा ध्यान गुमाउनु, चिन्ता वा तनाव अनुभव गर्नु, वा साथीहरूसँगको सम्बन्धमा चुनौतीहरू सामना गर्नु आदिलाई सामान्य रूपमा लिनुपर्छ। यी चुनौतीहरू हुँदैमा बच्चामा क्षमता नै नभएको भन्न मिल्दैन, तर यी संकेतहरूले उनीहरूलाई उचित सहयोगको आवश्यकता रहेको भने पक्कै इङ्कित गर्दछ। अभिभावकको भूमिका यस अवस्थामा अत्यन्त महत्त्वपूर्ण हुनु स्वाभाविक हो। सही र समयमै सहयोग तथा समझदारीले बालबालिकालाई आत्मविश्वास र सफलताको सिँढीमा अगाडि बढ्न सघाउँछ।
विद्यालयमा बालबालिकाको अनुभव मात्र होइन, उनीहरूको भावनात्मक र सामाजिक विकासमा पनि अभिभावकको सहकार्य हुन जरुरी छ। बालबालिकाले पठनपाठनमा भोग्ने समस्याका मुख्य कारणहरूमा शारीरिक स्वास्थ्य-समस्या, पर्याप्त निद्रा र पोषणको कमी, दृष्टि वा श्रवणमा समस्या, मानसिक स्वास्थ्य चुनौतीहरू, पारिवारिक तनाव, भाषा अवरोध, घर वा समुदायमा भएको दबाब, सिकाइमा फरकपन, र शिक्षण शैलीसँग बच्चाको बुझ्ने तरिका मेल नखानु आदि पर्छन्। कतिपय बच्चाको सञ्चार कौशलमा समस्या देखिन सक्छ त कतिपय बच्चाले ध्यान केन्द्रित गर्न सक्दैनन् वा उनीहरूमा एडीएचडी (ADHD) वा अटिजम (Autism) जस्ता विविध आवश्यकताहरू रहेको अवस्था हुन सक्छ। यसले बच्चाको सिकाइ क्षमता प्रभावित गर्छ, तथापि उपयुक्त सहयोग र रणनीतिलाई शिक्षण शैलीमा समावेश गर्दा पर्याप्त सुधार ल्याउन सकिन्छ भन्ने कुरा अभिभावकले बुझ्नु जरुरी हुन्छ।
घरमा अभिभावकले नियमित र स्वस्थ दिनचर्या कायम राख्नुपर्छ। पर्याप्त निद्रा र पौष्टिक भोजन सुनिश्चित गर्नु, गृहकार्यमा सहयोग गर्नु तर दबाब नदिनु, विद्यालयका अनुभवबारे बच्चासँग खुला संवाद गर्नु, र बच्चाको रुचि अनुसार गतिविधि गर्न समय निकाल्नु बच्चाको उपलब्धिका लागि सहायक हुन सक्दछ। शिक्षक, काउन्सेलर वा लर्निङ स्पेशलिस्टसँग नियमित संवाद तथा सहकार्य गर्नु समेत अभिभावकको लागि अत्यन्त आवश्यक रहन्छ। सिकाइलाई अगाडि बढाउँदै गर्दा बालबालिकामा केन्द्रित सिकाइ पद्धति अवलम्बन गर्न अत्यन्तै जरुरी हुन्छ, जसका लागि शिक्षकहरूसँग सहकार्य गरेर उचित शिक्षण शैली तथा रणनीति लागू गराउन अभिभावकले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन्। जस्तै उदाहरणमा ध्यानभङ्ग भइराख्ने बालबालिकालाई कक्षाको अगाडि बस्न दिने वा शान्त कुनामा काम गर्न दिने वा हेडफोन प्रयोग गर्न दिने आदि। अत्यावश्यक परेको खण्डमा बच्चालाई कक्षाकोठाभित्रै बेग्लै सहायक शिक्षकको व्यवस्था समेत गर्न सकिन्छ।
बालबालिकाको सिकाइमा आत्मविश्वास बढाउनुका साथसाथै हामीले उनीहरूको भावनात्मक पक्षलाई समेत कदापि भुल्नु हुँदैन। पढाइलाई अगाडि बढाउँदै गर्दा भावनात्मक रूपमा समेत उनीहरू स्वस्थ र सहज महसुस गर्ने वातावरणमा हुर्किउन् भन्ने कुरालाई सुनिश्चित गर्नुपर्दछ।
यदि यी साधारण उपायहरूले सुधार प्राप्त गर्न नसकिने अवस्थामा विद्यालयसँग मूल्यांकनको अनुरोध गर्न सकिन्छ। औपचारिक सहयोग प्रणाली जस्तै आइइपी (IEP) व्यक्तिगत शिक्षण योजना वा आवश्यक सहुलियतको व्यवस्था गर्न सकिन्छ। विद्यालयले आवश्यक परेमा मनोविद्, लर्निङ स्पेशलिस्ट, काउन्सेलर, वा अन्य विशेषज्ञहरूको सहयोग लिन सक्छन्। विद्यालय, अभिभावक र शिक्षक मिलेर र आवश्यक परेको खण्डमा विषयगत विशेषज्ञ समेतलाई सामेल गरी प्रगतिको अनुगमन गरी रणनीति बनाउन सके बच्चाको विकासका लागि निकै महत्त्वपूर्ण कोसेढुङ्गा बन्न सक्छ। यसरी सहकार्य र समझदारीताका साथ उचित व्यवस्थापन गर्न सके कुनै पनि बच्चाले सिकाइमा पछि पर्नु पर्दैन।
प्रायः बालबालिकालाई सामान्य रणनीति र साधनस्रोतबाट नै सहयोग गर्न सकिन्छ र केही बालबालिकालाई मात्र विशेष तरिका र निरन्तर समर्थन र समयको आवश्यकता पर्दछ, जसमा विशेषज्ञको भूमिकालाई समेत नजरअन्दाज गर्नु हुँदैन। समग्रमा, विद्यालयमा सिकाइमा संघर्ष गरिरहेका बालबालिकालाई सफल बनाउन अभिभावकको समझदारी, सही सहयोग र शिक्षकसँगको सहकार्य अनिवार्य रहन्छ। घर र विद्यालयको परस्पर सहकार्य, सहयोग र समर्थनले बालबालिकालाई आत्मविश्वास बढाउन, सिकाइमा रुचि ल्याउन, र जीवनमा चुनौतीहरूको सामना गर्न सहयोग प्रदान गर्दछ। अभिभावकले समयमै आफ्ना बालबालिकाको सिकाइका लागि आवश्यक पक्षहरूलाई बुझेर, समस्या र समाधानको उचित पहिचान गरी सही कदम चाल्न सक्ने हो भने बच्चाले आफ्ना क्षमता अनुरूप उचित सफलता हासिल गर्न सक्दछ।
लेखक: श्याम कुमार भट्टराई (मनोविद्)
नेपाल एकेडेमी अफ साइकोलोजीमा कार्यरत छन्
Nepal Academy Of Psychology