01/10/2025
राणाहरूको वासनाको शिकार
(तिहारपछि सार्वजनिक हुने एउटा किताबबाट) :
यहाँका एउटा डाक्टरकी छोरी खुबै राम्री रहिछन् । राम्री केटीको खोजी गराउन धेरजसो जर्नेलहरू आआफ्ना चर लगाइरहन्थे । शङ्करशमशेरको चरले डाक्टरकी छोरी देख्यो । धनमाल, ऐस–आराम, धाक–रवाफ सबै प्रकारको मोह देखाएर जर्सापकी प्रियतमा बन्न मन्जूर गराउन खोज्ने, उनी मानिनन् । त्यस्तो दुर्लभ सिकार जर्सापकहाँ पुर्याउन पाए ठूलो इनाम बक्सिस पाउने त्यस आठपहरिया चरको आशा पूरा हुने लक्षण देखिएन । त्यसैले एक दिन बेलुकी, मौका पारेर युवतीलाई गाँज्यो, मुखमा रुमाल कोचेर कपडाले छोपछाप पारेर पुर्यायो शङ्करशमशेरकहाँ । युवती घर नफर्केकीले उता हाहा पर्यो । यताउता सबैतिर खोजखबर हुन थाल्यो । जे भए पनि डाक्टरसम्म भएको व्यक्तिकी छोरीको कुरा हुँदा जर्नेलभन्दा माथिल्ला तहसम्म पनि कुरा फैलियो । तिनलाई शङ्करशमशेरको दरबारमा पाँच दिन राखेर छाडेछन् । उनले आफूलाई पाँच दिन दबाइराखेको कुरा भनिन् । मामला चर्किंदा शङ्करशमशेर मुछिने हुनाले माथि उल्लेख गरेको युवकलाई बोको बनाइयो । त्यो रहेछ बागलुङको साहू । कारोबार केही गर्न नपरी दुई–चारपटक झूटो बोल्नाले मोटो रकम मिल्ने, किन छाड्थ्यो !
डाक्टरकी छोरी लैजाने मै हुँ भनी सकार गर्यो । त्यतिले मात्र आफ्नो टाउको नजोगिने ठानेर घोर अत्याचारको कार्यक्रम बनाए । एउटा कसाहीले ती युवतीलाई पीठमा बोक्यो । बिचरी ओढ्नेभित्र मुख लुकाई लाज र ग्लानिले भुतुक्क भइरहेकी थिइन् । शहर घुमाउँदै लग्दा पछि–पछि त्यो बागलुङे साहू राहू “यो मेरी स्वास्नी हो” भन्दै कराउँदै हिँड्दथ्यो । राणा जर्नेल प्रत्यक्ष रुपबाट केटीलाई लैजानमा नलागेको भान पारे । केटी लगेकोमा बालगुङे साहू दुई महिना जेल बसी छुट्यो । उसलाई स्वास्नीको सरोकार थिएन । त्यो केटीको के हाल भो कुन्नि, थाहा भएन । प्रत्येक राणा जर्नेल–कर्नेलसम्मको दरबारमा अधिराज्यका विभिन्न ठाउँका ठिटीहरू बटुल्थे र तिनीहरूलाई वासनाको सिकार बनाउँथे तर यी केटीउपर जुन घोर अत्याचार गरे, त्यस्तो कहिल्यै भएको थिएन, पछि पनि भएन ।