09/10/2026
मामाघर आश्रमको सामाजिक लेखा परीक्षण सम्पन्न
गोदावरी नगरपालिका–१४ मा सञ्चालित मामाघर अनाथालय सपोर्ट एण्ड केयर सेन्टर नेपालले आफ्नो वार्षिक सामाजिक लेखा परीक्षण सम्पन्न गरेको छ। कार्यक्रममा संस्थाको आर्थिक पारदर्शिता, बालबालिकाको संरक्षण, शिक्षा, स्वास्थ्य, पारिवारिक पुनर्मिलन तथा दीर्घकालीन व्यवस्थापनका विषयमा समीक्षा गर्दै सुधारका लागि विभिन्न सुझाव प्रस्तुत गरिएको छ।
संस्थाका संस्थापक अध्यक्ष बालयोगेश्वर विजय कृष्णमूर्ति महाराजको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, सुरक्षाकर्मी, पत्रकार, समाजसेवी तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागिता थियो।
आश्रममा ७० बालबालिका, २१ जनाको पारिवारिक पुनर्मिलन
संस्थाले प्रस्तुत गरेको प्रतिवेदनअनुसार हाल आश्रममा ३५ बालक र ३५ बालिका गरी ७० जना बालबालिका आश्रित छन्। संस्थामा हालसम्म ९१ जना बालबालिका दर्ता भएका छन्।
पारिवारिक विपद्, प्राकृतिक प्रकोप तथा विभिन्न प्रतिकूल परिस्थितिका कारण संरक्षणको आवश्यकता परेका बालबालिकालाई आश्रय दिँदै आएको संस्थाले उनीहरूको शिक्षा, स्वास्थ्य र पालनपोषणमा ध्यान दिँदै आएको जनाएको छ।
त्यसैगरी, आर्थिक वर्ष २०८०/८१ मा सात जना, २०८१/८२ मा चार जना र २०८२/८३ मा १० जना गरी हालसम्म २१ जना बालबालिकाको पारिवारिक पुनर्मिलन गराइएको प्रतिवेदनमा उल्लेख छ।
करिब ९२ लाख आम्दानी, ९१ लाखभन्दा बढी खर्च
सामाजिक लेखा परीक्षणमा प्रस्तुत विवरणअनुसार संस्थाको कुल आम्दानी ९१ लाख ९७ हजार ७५१ रुपैयाँ र कुल खर्च ९१ लाख ५५ हजार ४१० रुपैयाँ रहेको छ। यसअनुसार आम्दानीभन्दा खर्च ४२ हजार ३४१ रुपैयाँ कम रहेको देखिन्छ।
संस्थाको आम्दानीमा नगद दान, दानपेटिका, जिन्सी सहयोग, जन्मदिन तथा विशेष अवसरमा प्राप्त सहयोग, बैंक तथा क्यूआर कोडमार्फत प्राप्त रकम र विभिन्न संस्थासँगको सहकार्यबाट प्राप्त सहयोग समावेश छन्।
संस्थाले नेपाल सरकारबाट प्रत्यक्ष अनुदान वा वैदेशिक सहायता नलिई स्वदेशी दाता, शुभचिन्तक, भक्तजन तथा धार्मिक महायज्ञबाट प्राप्त सहयोगका आधारमा सञ्चालन हुँदै आएको जनाएको छ।
आफ्नै भवन निर्माण गरी नमुना बालगृह बनाउने लक्ष्य
बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेमपति जोशीले आश्रमका बालबालिकाको अनुशासन, शैक्षिक उपलब्धि र नैतिक संस्कारको प्रशंसा गर्दै व्यवहारिक ज्ञान तथा जीवनोपयोगी सीपलाई पनि प्राथमिकता दिनुपर्ने बताए।
संस्थाका अध्यक्ष बालयोगेश्वर विजय कृष्णमूर्ति महाराजले आगामी दिनमा आफ्नै भवन निर्माण गर्ने, बालबालिकालाई गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवा उपलब्ध गराउने र मामाघर आश्रमलाई नेपालकै नमुना बालगृहका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए।
कार्यक्रममा आर्थिक अभिलेख व्यवस्थापन, नियमित अनुगमन, कानुनी मापदण्डको पालना, बालमैत्री वातावरण तथा सरोकारवालासँगको समन्वयलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको थियो।
सामाजिक लेखा परीक्षणले संस्थाको आय–व्यय सार्वजनिक गर्ने औपचारिकतासँगै आर्थिक पारदर्शिता, बालबालिकाको सर्वोत्तम हित, पारिवारिक पुनर्मिलन र आत्मनिर्भर भविष्य निर्माणका लागि सुधारका अवसर पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।