13/06/2026
सर्लाहीमा रास्वपाको पोर्टल अपडेट विवाद चर्कियो, जिल्ला सभापति द्वारा कारबाहीको माग 👇👇👇
सर्लाही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सर्लाही जिल्ला कार्यसमितिमा पार्टीको केन्द्रीय पोर्टल अनधिकृत रूपमा अपडेट गरिएको विषयलाई लिएर विवाद चर्किएको छ। जिल्ला सभापति सरोज बानिया ले प्रदेश संगठन विभाग प्रमुखलाई पत्र लेख्दै घटनामा संलग्नमाथि कडा कारबाही गर्न माग गरेका छन्।
२०८३ असार २० गते राति ११ बजे जिल्ला सभापतिको स्वीकृति बिना पार्टीको केन्द्रीय पोर्टलमा प्रवेश गरी केही व्यक्तिहरूले मनोमानी ढंगले अपडेट गरेको आरोप पत्रमा उल्लेख गरिएको छ। सभापति सरोज बानियाका अनुसार उक्त कार्यले पार्टीको नीति, विधि र संगठनात्मक मर्यादामाथि ठाडो चुनौती दिएको छ।
पत्रमा “न निर्वाचन समिति, न जिल्ला सभापतिको जानकारी, तर केही व्यक्तिको समूहले बारम्बार पोर्टलमा प्रवेश गरी पार्टीको मानमर्दन गर्ने काम गरेको” उल्लेख गरिएको छ। साथै, यस्तो गतिविधिलाई सामान्य रूपमा लिन नसकिने र दोषीमाथि कडा कारबाही आवश्यक रहेको जनाइएको छ।
जिल्ला सभापतिले पार्टी सबैको साझा संस्था भए पनि प्रक्रियाविपरीत गरिएका गतिविधिले संगठनभित्र गम्भीर प्रश्न उठाएको बताएका छन्। प्रदेश तहबाट हुने हस्तक्षेप र बिना जानकारी गरिने निर्णय प्रक्रियाले जिल्लामा असन्तोष बढाएको पनि पत्रमा उल्लेख छ।
उक्त पत्रको बोधार्थ केन्द्रीय अनुशासन विभाग, केन्द्रीय संगठन विभाग, केन्द्रीय निर्वाचन विभाग तथा प्रदेश अनुशासन विभागलाई समेत पठाइएको छ।
यस घटनापछि रास्वपा सर्लाहीभित्र आन्तरिक विवाद थप सतहमा आएको राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।