23/09/2026
‘गल्ती स्वीकार गर्न सक्नु नै जिम्मेवार नागरिकको पहिचान हो’ : केशव न्यौपाने
सिंहदरबारअगाडि रातो बत्ती बलेको थाहा नपाई अघि बढ्दा ट्राफिक प्रहरीले रोकेपछि आफूले कानुनअनुसार जरिवाना तिरेर सचेतना कक्षा लिएको अनुभव केशव न्यौपानेले साझा गरेका छन्।
उनका अनुसार, ट्राफिक प्रहरीले रोकेर लाइसेन्स र कागजात मागेपछि उनले ब्लुबुक तथा नागरिक एपमा रहेको डिजिटल लाइसेन्स देखाए। त्यसपछि साँझ अनलाइनमार्फत चिट आएपछि आफूले ट्राफिक सचेतना कक्षा लिनुपर्ने जानकारी पाए। अर्को दिन रु. ५०० जरिवाना तिरेर अनलाइन सचेतना कक्षा लिए र ६ मध्ये ४ वटा प्रश्नको सही उत्तर दिँदै कक्षा सफलतापूर्वक पूरा गरे।
“महत्त्वपूर्ण कुरा के हो भने, न कुनै विवाद भयो, न बहस। ट्राफिक प्रहरीले अत्यन्तै शिष्ट र सभ्य भाषामा आफ्नो जिम्मेवारी पूरा गर्नुभयो। मैले पनि आफ्नो गल्ती स्वीकार गरेर कानुनअनुसारको प्रक्रिया पूरा गरेँ,” न्यौपानेले भनेका छन्।
उनका अनुसार, समाजमा समस्या त्यतिबेला देखिन्छ, जब आफूले नियम उल्लंघन गरेपछि पनि कारबाही गर्ने प्रहरीसँग उल्टै बहस गर्ने, आफ्नो गल्ती स्वीकार नगर्ने र पहुँच वा चिनजान देखाउने प्रवृत्ति बढ्छ।
“रातो बत्ती नदेख्नु क्षणिक गल्ती हुन सक्छ। तर गल्ती भएपछि पनि ‘मलाई किन रोकिस्?’ वा ‘मलाई नियम लाग्दैन’ भन्ने सोच गलत हो। कानुन सबैका लागि समान हुनुपर्छ,” उनी भन्छन्।
रु. ५०० जरिवाना र सचेतना कक्षबाट आफूले एउटा महत्वपूर्ण पाठ सिकेको उनको भनाइ छ। सडकमा केही सेकेन्डको असावधानीले ठूलो दुर्घटना निम्त्याउन सक्ने भएकाले ट्राफिक नियमलाई झन्झट नभई जीवन सुरक्षाको नियम**का रूपमा बुझ्नुपर्ने उनले बताएका छन्।
“गल्ती भयो भने स्वीकार गरौँ, जरिवाना भयो भने कानुनअनुसार तिरौँ र सचेतना कक्षा भयो भने त्यसबाट सिकौँ। तर सबैभन्दा महत्वपूर्ण कुरा, भोलिदेखि त्यही गल्ती नदोहोर्याऔँ,” न्यौपानेले भनेका छन्।
उनले कानुन पालना गर्ने नागरिकलाई कमजोर नभई सभ्य र जिम्मेवार नागरिकका रूपमा बुझ्नुपर्ने र कानुन कार्यान्वयन गर्ने प्रहरीलाई शत्रु नभई सडक सुरक्षाका लागि काम गर्ने राज्यको संयन्त्रका रूपमा हेर्नुपर्ने बताएका छन्।
“नियम आफूलाई मन परेको बेला मात्र होइन, नियम भएकै कारण मान्ने संस्कार विकास गरौँ।”
नोट : प्रयोग गरिएको ट्राफिक प्रहरीको तस्बिर एआईद्वारा तयार गरिएको हो।