13/09/2026
चुपकुमार यादवज्यू राहतको सहयोगले खुसी बनायो, तर सडकले फेरि मन दुखायो
रौनक यादव/Rnc khabar
भगवानपुर गाउँपालिकाका अध्यक्ष चुपकुमार यादवज्यूसँग अब छिट्टै भेट हुनेछ। भेट फरक किसिमको हुनेछ.....केही प्रश्न लिएर, केही गुनासा लिएर ।
सबै कुरा नराम्रो मात्र छ भन्नु पनि ठीक होइन। पछिल्लो समय बाढी तथा वर्षापीडित नागरिकका लागि पालिकाबाट आर्थिक सहयोग गर्ने पहल गर्नुभएको खबरले खुसी लागेको छ। पीडामा रहेका नागरिकलाई स्थानीय सरकारले सम्झिनु आफैंमा स्वागतयोग्य कुरा हो।
हो, यो काम हुन केही समय लाग्यो। तर अन्ततः गर्नुपर्ने काम गर्नुभयो त्यसका लागि सकारात्मक रूपमा हेर्नुपर्छ।
तर अध्यक्षज्यू खुसीसँगै मनमा एउटा कुरा फेरि दुखिरहेको छ।
वर्षा रोकिएको धेरै दिन भइसक्यो तर भगवानपुरका सडकको पीडा रोकिएको छैन।
सडकमा हिँड्ने ठाउँ छैन। पानी परेपछि बाटोको अवस्था झन् खराब हुन्छ। कतिपय ठाउँमा सामान्य रूपमा पैदल हिँड्नसमेत कठिन छ। बिरामीलाई अस्पताल लैजानुपर्दा के गर्ने? वृद्धवृद्धा र बालबालिकाको अवस्था के होला? एम्बुलेन्स आवश्यक परेको बेला त्यही सडकले बिरामीलाई झन् पीडा दिने अवस्था आयो भने त्यसको जिम्मेवारी कसले लिने?
सबैभन्दा दुःख लाग्ने कुरा त आफ्नै घर नजिकैको बाटो देख्दा हुन्छ। वरिपरि विकासका कुरा सुनिन्छन्, तर त्यहीँबाट केही पर पुगेपछि जनतालाई सामान्य रूपमा हिँड्नसमेत कठिन हुने सडक भेटिन्छ।
जनप्रतिनिधिको घरसम्म पुग्ने बाटो राम्रो हुनु मात्र विकास होइन। गाउँका सबै नागरिकको घरसम्म पुग्ने बाटो सहज हुनु विकास हो।
चुप कुमार ज्यु तपाईंलाई व्यक्तिगत रूपमा आरोप लगाउन यो लेखिएको होइन। तपाईंले राम्रो काम गर्नुभएको ठाउँमा धन्यवाद भन्न पनि सक्नुपर्छ र जनताले दुःख पाएको ठाउँमा प्रश्न गर्न पनि सक्नुपर्छ।
राहतमा पैसा दिनु आवश्यक छ। तर जनताको दैनिक जीवनसँग जोडिएको सडक सुधार गर्नु झन् आवश्यक छ।
आज बाढीपीडितलाई सहयोग भयो खुसी लाग्यो।तर भोलि फेरि पानी पर्दा उही सडक, उही हिलो र उही समस्या दोहोरियो भने त्यो सहयोगले मात्र जनताको पीडा अन्त्य हुँदैन।
त्यसैले अध्यक्षज्यू, अब हाम्रो भेटमा एउटा कुरा स्पष्ट रूपमा सोध्न मन छ.....भगवानपुरका जनताले सामान्य रूपमा हिँड्न पाउने सडक कहिले पाउँछन्?
जनताको आवाज उठाउनु कसैको विरोध गर्नु होइन।
गलत भएको ठाउँमा प्रश्न गर्नु पत्रकारको जिम्मेवारी हो।
चुपकुमार यादवज्यू, राम्रो कामको स्वागत छ। अब बाँकी कामका लागि पनि जनताको आँखाले तपाईंलाई हेरिरहेको छ।
NCKhabar #भगवानपुर #भगवानपुरगाउँपालिका #सिरहा #सडकसमस्या