Sanobabu Diaries

Sanobabu Diaries अक्षर–अक्षरमा जिन्दगीको कथा,
कवितामा लुकेको मनको व्यथा
Sanobabu Diaries
(3)

22/07/2026

खेल

तिमी आयौ रहर बनेर
जिन्दगी बदल्ने कसम खाएर।

म पनि त बहकिएँ नि
तिम्रा ती झुटो न्यानोपनमा।

अन्तिममा खेल सकियो
तिमी त अगाडि बढ्यौ
मलाई भने अनिदो छोडेर गयौ।


#सानोबाबु_डायरीज़

#सानो_बाबु

20/07/2026

श्रावण विशेष

हरेक समय
शिव तिम्रै नाम जपु म
मेरो हरेक धमनीमा
तिम्रै नाम लेखु म
देवको देव महादेव
महाकाल हौ तिमी
मर्दा पनि प्रभु
लिई तिम्रै नाम मरु म।

जीवनका तीता घुट्की
विष बनी आउँदा,
पसिनाको मूल्य माग्दै
जिन्दगीले रुवाउँदा
निलकण्ठ सम्झी
आफ्नै पीडाहरू पिउने छु
तिमीमै विश्वास राखी
हरेक पल जिउने छु।

झूटा हुन् यी मोह-माया
झूटो मेरो काया,
अन्तिममा लिनु छ
तिनै भस्मको छायाँ
संसारको भिडभित्र
बाटो मेरो हराउँदा,
तिमी नै बनिदेऊ दियो
अज्ञानताले सताउँदा।

दुःखका यी पहाडलाई
पन्छाउँदै हिँड्दा,
आफ्नै भनिएका मान्छे
पछाडिबाट बिझाउँदा
सत्य केवल तिमी हौ
बाँकी सब भ्रम हो
तिम्रै पाउमा समर्पित
मेरो हरेक कर्म हो।।


#सानोबाबु_डायरीज़

#सानो_बाबु

18/07/2026

मियो

घरको मियो बनेर
घुमिरहनु पर्ने
एउटा जिन्दगी,
आफ्नो आकाश त्यागी
अरूको
छानो जोगाउनु पर्ने,
कति भारी हुन्छ
यो गुम्सिएको
नारीपनको कथा।

बालखैमा देखाइएका
ती चम्किला ताराहरू,
बग्दै गए सिन्दूर र पोतेका
राता धर्साहरूमा,
आफ्नो इच्छा त केवल
एउटा दन्त्यकथा बनिदिन्छ।

त्यागको अर्को नाम
दिएर पुजिने यो समाजमा,
आफ्नो रगत पानी बनाएर
ओभानो राख्नुपर्छ काख,
भित्र जति रोए पनि
ओठले सधैँ मुस्कुराउनु पर्ने।


#सानोबाबु_डायरीज़

#सानो_बाबु

16/07/2026

धार

नदीको पानी
फर्कन्न पछाडि
बगिरहन्छ।

तिमी भने
उही किनारमा
झगडा गर्दैछौ।

अगाडिको
विशाल समुद्र
तिमिले गुमाउँदैछौ।


#सानोबाबु_डायरीज़

#सानो_बाबु

15/07/2026

आशा

निभ्न लागेको
दियोले पनि त
अन्तिमसम्म उज्यालो खोज्छ,
थाकेको यो गोडाले
फेरि नयाँ
पहाड चढ्ने साहस रोज्छ।

हार त एउटा
बहाना मात्र हो,
नयाँ तरिकाले
ब्युँझिनका लागि,
त्यसैले त मनले सधैं
निराशाको भीडमा पनि
एउटा आशा खोज्छ।

पीडाका यी लामा
लहरहरूले कति दिन नै पो
थुन्लान् र छोपेर?
खुसीका किरणहरू आउनेछन्,
सबै बन्धन र भित्ताहरू तोडेर।

आज एक्लो महसुस भए पनि,
भोलि संसार तिम्रो पछि हुनेछ,
अघि बढ्दै जाऊ,
विगतका ती
तिक्तताहरूलाई त्यहीँ छोडेर।

मौसम जस्तै त हो नि
यो जीवन,
बद्लिन समय लाग्दैन,
साँझ ढलेपछि
क्षितिजमा जूनको
चमक कहिल्यै भाग्दैन।

समय सधैं एउटै रहँदैन,
यसले त
नयाँ पालुवा मात्र पर्खेको हो,
जसरी आज दुःख छ,
भोलि सुख पनि
पक्कै आउनेछ,
यो सत्य टर्दैन।


#सानोबाबु_डायरीज़

#सानो_बाबु

14/07/2026

सुवास

फूल भएर फुलिन्
तर सुवास
अरूलाई नै सुम्पिइन्,
आफ्नो डालीबाट
चुँडिएर अर्कै बगैँचा सजाउन,
हरेक मौसममा उनले
आफूलाई नै बदल्नुपर्‍यो।

आमाको काखबाट
शुरु भएको त्यो कोमल यात्रा
बुहारीको कठोर परीक्षा र
जिम्मेवारीमा परिणत भयो,
सपनाहरू त कता
बादलका टुक्राहरू झैँ बिलाए।

यो केवल एउटा
त्याग मात्र होइन,
यो त उसको आयु हो,
जो अरूका लागि पग्लिएर
मैनबत्ती झैँ सकिन्छ,
हरेक दिन अरूकै
उज्यालोका लागि
आफू निभ्नुपर्छ।


#सानोबाबु_डायरीज़

#सानो_बाबु

13/07/2026

चेत

तिम्रा उजुरी
मेरा गुनासा
सबै बगाइदेऊ।

यो पल बाँचे
यो पल हाँसे
संसार बदलिन्छ।

त्यहीँ
मुस्कुराउनेछ
हाम्रो आउने सुन्दर दिन।


#सानोबाबु_डायरीज़

#सानो_बाबु

12/07/2026

यात्रा

एउटा नयाँ मोडको
खोजीमा हिँड्दा हिँड्दै,
अतीतका कतिपय
पाटाहरू र पुराना गल्ती,
मैले मलाई
धेरै पर
छोडेर आएको छु।

अहिलेको म
अनि पहिलेको म मा,
मिल्ने भनेको
अनुहार मात्र हो,
सोच, शैली र गन्तव्य
सबै फेरिएका छन्।

यो यात्रा निरन्तर छ,
रोकिनेवाला छैन,
म जे थिएँ
त्यो इतिहास भयो,
म जे बन्दैछु,
त्यो नै मेरो नयाँ परिचय हो।


#सानोबाबु_डायरीज़

#सानो_बाबु

12/07/2026

शून्य

विगतको छाँया
वर्तमानको घाम
दुवै बाँझिए।

अल्मलिँदा
अल्मलिँदै चेतनामा
साँझ परेछ।

हातमा लाग्यो
रित्तो आकाश
रित्तो भोलि।


#सानोबाबु_डायरीज़

#सानो_बाबु

10/07/2026

कोरा

सुरुमा त एउटा
सादा पाना मात्र थियो
न त कुनै दागी थियो
न त कुनै केरकार।

समयको एउटा
चिसो मसी सल्किएपछि
सुरु भयो
आफैंभित्र आफ्नै संसार।

केही पानाहरू
हतारमा कोरिए यहाँ
चाहानाका लामा
लस्कर र अधुरा सपना।

जति लेख्यो
उति मात्रै आफ्नो हुँदो रहेछ,
बाँकी त सब
रित्तो गल्ली र विपना।

यो रित्तोपन नै सायद
जिन्दगीको सुन्दरता हो
सबै भरिए त
अन्त्यको पाना पल्टिहाल्छ नि।

थोरै कोरिनु
धेरै खाली रहनु नै त
भोलिको नयाँ आशमा
मान्छे बाँचिरहन्छ नि।


#सानोबाबु_डायरीज़

#सानो_बाबु

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Sanobabu Diaries posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share