09/07/2026
परिवार पाल्ने सपना बोकेर साउदी अरब गएका सप्तरीका मृगेन्द्र अहिले न काम गर्न पाउँछन्, न नेपाल फर्किन नै। उनी अहिले साउदीका सडक र मस्जिदमा आश्रय लिएर बाँ'च्न बाध्य छन्।
सप्तरीको सुरुङ्गा निवासी मृगेन्द्र कुमार मण्डल १५ वर्षअघिको एक घटनामा जोडिएको मु'द्दाका कारण अहिले जटिल अवस्थामा पुगेका छन्। उनीमाथि करिब १ करोड ३३ लाख रुपैयाँ बराबरको ब्ल'ड म'नी तिर्नुपर्ने फैसला भएपछि रकम नतिर्दासम्म देश छाड्न नपाउने अवस्था बनेको हो।
पछिल्लो समय २ वर्षदेखि साउदीमा रहेका मृगेन्द्र नेपाल फर्किन विमानस्थल पुगेका थिए। घरमा परिवार उनको प्रतीक्षामा थियो। तर अध्यागमन काउन्टरमा पासपोर्ट जाँचका क्रममा उनलाई यात्रा प्रतिबन्ध रहेको भन्दै नेपाल जान नपाइने जानकारी दिइयो। त्यो खबरले उनको घर फर्किने सपना एकैछिनमा टुट्यो।
यो समस्याको जरो १५ वर्षअघिको दुर्घटनासँग जोडिएको छ। साउदीमा गाडी चालकका रूपमा काम गरिरहेका बेला भएको दुर्घटनामा एक जोर्डनका नागरिकको मृ त्यु भएको थियो। त्यसपछि साउदी अदालतले उनलाई दो'षी ठहर गर्दै ६ वर्ष जे'ल स'जाय सुनाएको थियो। उनले पूरा ६ वर्ष जे'ल बसेर स'जाय भुक्तान गरेपछि फाइनल एक्जिटमार्फत नेपाल फर्किएका थिए।
नेपाल आएपछि करिब पाँच–छ वर्ष गाउँमै मजदुरी गरेर परिवार चलाएका मृगेन्द्र आर्थिक अवस्था कमजोर भएपछि सन् २०२३ मा फेरि रोजगारीका लागि साउदी फर्किएका थिए। नयाँ कम्पनीमा दुई वर्ष इमानदारीपूर्वक काम गरे पनि सम्झौता सकिएपछि पुनः नेपाल फर्किने क्रममा पुरानो मुद्दा फेरि खुलेको हो।
अदालतले मृतकका परिवारलाई करिब ३ लाख ३० हजार साउदी रियाल, अर्थात् झण्डै १ करोड ३३ लाख रुपैयाँ ब्ल'ड म'नी तिर्नुपर्ने निर्णय सुनाएको छ। रकम नतिरेसम्म उनलाई साउदी छाड्न नपाउने अवस्था बनेको छ।
अहिले उनी न काम गर्न पाउँछन्, न नेपाल फर्किन नै। मृगेन्द्रले नेपाली दूतावासमा पुगेर सहयोग मागेका छन्। बसोबास, खानपिन र कानुनी सहयोग उपलब्ध गराइदिन अनुरोध गरे पनि अपेक्षित सहयोग नपाएको उनको गुनासो छ। वकिल राखेर आफैँ मु'द्दा लड्न भनिएपछि समस्या झन् जटिल बनेको उनले बताएका छन्।
अहिले मृगेन्द्र साउदीका सडक र मस्जिदमा आश्रय लिएर दिन बिताइरहेका छन्। यता नेपालमा उनका परिवारले सरकार, परराष्ट्र मन्त्रालय र सम्बन्धित निकायसँग उनको उद्धार तथा स्वदेश फिर्ताका लागि पहल गरिदिन आग्रह गरिरहेका छन्।