22/12/2023
रोल्पा गंगादेव–२ का २१ वर्षीय बालकुमार वलीले सामाजिक सञ्जाल ‘मेटा’को इन्ट्रोमा लेखेका छन्– ‘दुःख मात्रै यस्तो चिज हो, जसले अझै पनि म जीवित छु भन्ने आभास दिलाइरहन्छ!’
यी हरफहरू बालकुमारले कोरेका होइनन्। तर ‘फेसबुकको भित्ता’मा व्यक्त–व्यथा भने उनी आफैंले डेढ वर्षदेखि भोग्दै आएको ‘गरीबी र दुर्घटना’भित्र रुमल्लिएको एउटा कथा–सार हो।
विदेशिनुअघि उनी सोच्थे, ‘ऋण लागोस्, विदेश जान्छू। तर दिन नलागोस्, दैव नलागोस्।’
दिन लाग्यो कि, दैव! यतिबेला उनैलाई थाहा छैन।
‘मलाई भाग्यले ठग्यो। सानी छोरीले बाबा खोजिरहेकी छे। घर–परिवार ऋणले थलिएको छ। मलाई दुबईकाे कम्पनीले रूवाएकाे छ, उपचारखर्च नतिरिदिँदा हस्पिटलले बन्धक बनाएको छ। मेरो बिजोक छ,’ दुबईमा थुनिएका बालकुमारले भने।
डेढ वर्षअघि पैसा कमाउन दुबई पुगेका उनी ‘बन्धक’जस्तै छन् यतिबेला। साँघुरो कोठाभित्र खुम्चिएका छन्। एकछिन हाँस्छन्, क्षणभरमै दुःखी हुन्छन्। सबैतिरबाट एक्लिएका उनी टाउकोमा ‘चोट’ बोकेर कैद छन्।
पातलो शरीर। मलिन अनुहार। भारी मन। सबैतिरबाट खेदिएको ‘एउटा मजदूर’।
समुद्रको छालसितै हराइहेका ‘दुबई सपना’। मृत्युको मुखबाट उम्किएको बालकुमारकाे ‘जिन्दगानी’, मरुभूमिको तातो घाममा सेकिँदैछ।
‘वली परिवारको कान्छो छोरा’ बालकुमारका रहर थपिँदै थिए। ०७८ असोज २९ गते प्रेमिका ‘लीला’ सित विवाह गरे।
त्यो पनि आफ्नो उमेर २० वर्ष नपुग्दै।
एकातिर पढाइ। अर्कोतिर घरबार। परिवार ऋणमा डुब्दै थियो। बालकुमारले पत्नी लीला, पिता र घरछेउका साथीभाइसँग सल्लाह मागे। सबैजनाको सुझाव थियो– ‘दुबई, मलेसिया वा कतार जाऊ’।
चर्को ब्याजदरमा ऋण काढेर उनी ०७८ चैतको पहिलो सातातिर काठमाडौँ हिँडे। योजना थियो– ‘विदेश’ उड्ने।
केही दिन नयाँ बसपार्क–छेउको एउटा होटलमा बसे। कनिकुथी राहदानी बनाए उनले।
‘प्याराडाइस म्यानपावर’का एजेन्ट साउने गिरीलाई १ लाख ५० बुझाएर उनले दुबई उड्ने पक्कापक्की गरे।
र, १२ कक्षा पढ्दापढ्दै ०७९ वैशाख ९ गते आफन्तलाई बिदाइका हात हल्लाउँदै ‘सपनाको सहर’ दुबई उडे।
बालकुमारका लागि दुबई नयाँ थियो। तर जताततै रमाइलो र आफ्नो जीवनमाा भरोसाको ‘रंगीन सहर’ थियो।
‘इजदा असिस्टेन्ट म्यानेजमेन्ट ग्रुप’मा कार्यरत उनी श्रम सम्झौतामा उल्लेख भएबमोजिम १ हजार २ सय दिराम पारिश्रमिक पाउँथे। कम्पनीले खातामा हालिदिएको तलब उनले खुरुखुरु घरमै पठाइदिन्थे।
उनी ग्रुपमार्फत ‘साम्स फोर जेबिआर’ अपार्टमेन्टमा सरसफाइको काम गर्थे। बालकुमार ‘ब्लूवाटर’ नजिकै खटिन्थे।
उनले लगभग १४ महिना अपार्टमेन्टमा सरसफाइको काम गरे।
‘मेराे कम्पनी राम्रो थियो। यो दुबईको नामी कम्पनी रहेछ। बस्न र खाना समस्या कहिल्यै भएन। समयमै भनेअनुसारको तलब–सुविधा दिन्थ्यो। मैले १४ महिना अपार्टमेन्टमा क्लिनरको काम गरेँ,’ बालकुमार भन्छन्।
राम्रो कम्पनी भएकोले राम्रै सुविधा थियो। ‘इजदा’ले आफ्ना कामदारलाई कम्पनीकै गाडीबाट अपार्टमेन्टसम्म ओसार्थ्यो। कम्पनीमा नेपाली, भारतीय, पाकिस्तानी र बंगालीहरू छरपस्टै छन्। तीमध्ये उनीहरू सरसफाइकर्मी र सुरक्षागार्ड हुन्।
दैनिकी उही थियो, उसैगरी दिनहरू बितिरहेका थिए।
बालकुमार ०८० असार १२ गते एकाबिहानै कोठाबाट निस्के। ड्यूटीतिर जाँदै थिए उनी। कम्पनीको गाडी पर्खिने ‘जेबलाली’ पुगेर रोकिए।
समय घर्किसकेकाे थियाे। ‘साम्स फोर जेबिआर’ अपार्टमेन्ट जाने कम्पनीको गाडी छुटेको पत्तो पाए। अनि, अर्को गाडी कुरेर बसे उनी।
एकै छिनमा ‘इजदा असिस्टेन्ट म्यानेजमेन्ट ग्रुप’को अर्को गाडी आइपुग्यो। त्यो गाडी थियो– सुरक्षागार्डको। उनी थिए– सरसफाइकर्मी।
तरपनि बालकुमार गाडीमै चढे। उनी चढेको गाडी ‘ब्लूवाटर’तिर हुँइकियो। गाडी चालकलाई उनले भनेका थिए, ‘मेरो गाडी छुट्यो। मलाई ब्लूवाटरको पुलमा झार्दिनु, म त्यहीं झर्छू।’
गाडी आफ्नै रफ्तारमा गुडिरहेको थियो। उनलाई काममा पुग्नै हतार थियो। झ्याप्प ढोका खुल्यो। गाडीबाट ओर्लिन खोज्दा भूइँमा बजारिए उनी।
तर गाडी रोकिएको थिएन। उनी भूइँमा ठोकिएपछि पनि गुडिरह्यो गाडी।
बालकुमारको टाउको रोडछेउको पेटीमा बेस्सरी ठोकियो। उनले आफू चढेको गाडी द्रूतगतिमा कुदेको पत्तो नै पाएनन्। र, बिहान साढे ६ बजे गाडीबाट ओर्लिन खोज्दा दुर्घटनामा परे।
‘...मलाई त्यसपछि केही याद छैन,’ बालकुमारले भने, ‘बेहोस् भइ बाटोमै छट्पटाइरहेका बेला मलाई दुबई प्रहरीले साउदी जर्मन अस्पतालमा पुर्याएको रहेछ। मैले यो सबै कुरा एक महिनापछि थाहा पाएँ।’
दुर्घटनामा ठोक्किएर उनलाई ‘टाउको’को दाहिनेपट्टी गम्भीर चोट लागेको छ। गाडीबाट लडेर बेहोस भएपछि उनलाई प्रहरीले चाँडै अस्पताल लग्यो। र, चौबिस घन्टाभित्रै अप्रेसन गरियो।
तीन महिनाको उपचारपछि आफू साउदी जर्मन अस्पतालबाट डिस्चार्ज भएको र कम्पनीले बेवास्ता गर्दा अहिले ‘दुबईमै बन्धक हुनुपरेकाे’ उनकाे गुनासो छ।
महिना दिनपछि होसमा आएका बालकुमारको उपचार निरन्तर २ महिना चल्यो। अस्पतालले डिस्चार्ज गर्नेबेला भइसकेको थियो। तर कम्पनीले उपचारखर्च नतिरिदिँदा थप १ महिना उनी अस्पतालमै बस्नुपर्याे।
र, ‘बन्धक’जस्तै बनाएको अस्पतालले उनलाई त्यहाँ राखेबाफत दैनिक करिब ५ हजार दिरामका दरले भुक्तानी दाबी गर्यो।
‘होस आएपछि दिमागले कामै गरेन। पागलझैँ थिए। बेहोसीमै कुराकानी हुन्थ्यो रे,’ बालकुमारले भने, ‘तीन महिनापछि मात्रै राम्रोसँग परिवारसँग कुराकानी भयो।’
रोल्पाली सेवा समाज यूएईका अध्यक्ष दिल पुनकाअनुसार उनको उपचारमा साढे ९ लाख दिराम खर्च लागेको छ। (साढे ३ करोड रुपैयाँ) त्यसमध्ये ४ लाख ३७ हजार दिराम बीमा कम्पनीले तिरेकाे छ। बाँकी उपचारखर्च भुक्तानी नभएको भन्दै अस्पतालले उनीसहित कम्पनीविरुद्ध मुद्दा हालेको छ।
‘भाइकाे स्वास्थ्य अवस्था राम्राे छ। उनी अहिले सुरक्षित छन्। राेल्पाली सेवा समाजकाे पहलमा गैरआवासीय नेपाली संघ यूएईले खानेबस्ने प्रवन्ध मिलाएकाे छ,’ पुनले भने, ‘अस्पतालबाट हाम्राे समाजले बाहिर निकालिएकाे थियाे।
उपचारबाफत बाँकी रकम भुक्तानी गर्न नसक्दा उनी दुबईमै अलपत्र छन्। साउदी जर्मन अस्पतालले उपचारखर्च नतिरेकाे भन्दै दुबईको एक अदालतमा मुद्दा हालेको छ। त्यो रकम भुक्तानी नगरेसम्म उनी न घर फर्किन पाउँछन्, न त्यहाँ कुनै काम गर्न पाउँछन्।
बालकुमारले तीन महिना उपचार गराएको साउदी जर्मनी अस्पतालमा डेढ करोड रुपैयाँ भुक्तानी हुनै बाँकी रहेको रोल्पाली सेवा समाज यूएईका अध्यक्ष पुनले बताएका छन्।
बालकुमार कार्यरत ‘इजदा असिस्टेन्ट म्यानेजमेन्ट ग्रुप’ले चालकको बचाउ गरेको छ।
गाडी चालक भारतीय नागरिक हेमराम खेशरले ‘जेबेल अली’बाट ३० देखि ४० कामदार बोकेर आफू ‘ब्लूवाटर’तिर गइरहेको दुबई प्रहरीलाई बयान दिएका छन्।
चालक खेशरले भनेका छन्, ‘अराइभल प्वाइट ब्लूवाटर पार्किङ अघि नै गाडीको ढोका खुल्यो। र, बालकुमार ओर्लिए। गाडी सुरुङमार्गअघि करिब १५ देखि २० किलोमिटरको गतिमा गुडेको थियो।’
अस्पतालबाट डिस्चार्ज भएको १५ दिनपछि उनी कम्पनीको कार्यालयमै पुगे। घर फर्किने मनसाय बनाएका उनले कम्पनीसँग भिसा सम्झौता तोडिदिन आग्रह गरे।
र, कम्पनीले उनको आग्रह स्वीर्कायो। भिसा खारेज गर्यो।
दुबईदेखि काठमाडौँसम्मको टिकट पनि कम्पनीले नै काटिदियो। उपचारका लागि उनी अस्पताल बसेको अवधिभरिको तलब पनि दियो।
‘कम्पनीकहाँ गएको थिएँ। मैले एचआरलाई भेटेर भनेँ– म काम गर्न सक्दिनँ। घर फर्किन्छु भिसा रद्द गरिदेऊ। कम्पनीले सहजै गरिदियो,’ उनले भने, ‘घर फर्किने टिकट पनि कम्पनीले दियो।’
असोज २५ गते दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँका लागि उनको उडान थियो। राति साढे १ बजे उनको फ्लाइट थियो। उनी सरासर विमानस्थल पुगे।
विमानभित्र चेकिङ जारी थियो। उनलाई अध्यागमन कर्मचारीले रोके। राहदानी हेरे। र, माथिल्लो अधिकारीकहाँ रिफर गरे।
उनी डराउँदैडराउँदै अधिकारसामु पुगे। बालकुमारलाई त्यहाँ भनियो– ‘तिमी घर जान पाउँदैनौ। अदालतमा तिम्रो मुद्दा चलिरहेको छ।’
विमानस्थलबाट अध्यागमनले फर्काएपछि उनी विमानस्थल बाहिर निस्केर बेस्सरी रोए। तर उनको रोदन सुनिदिने कोही थिएन।
भोलिपल्ट कम्पनीको कार्यालयमा गए उनी। फेरि एचआरलाई भेटे। आफ्नो समस्या सुनाए। उनले धेरै कुरा सुन्न चाहेनन्। तर कम्पनीले सुरूमा बस्नेखाने प्रवन्धचाहिँ मिलायाे।
बालकुमारले बुझ्दै जाँदा पत्तो पाए, अस्पलातले रोकेको रहेछ उनलाई। दुबईमा एक्लिएका छन्। कम्पनीको सम्पर्कमा छैनन्, चाँडै घर फर्किन पाउँदैनन् उनी।
‘मेराे कम्पनीले हस्पिटललाई एक रुपैयाँ पनि दिएको रहेनछ। कम्पनीले मलाई बेवास्ता गर्यो,’ बालकुमारले भने।
दुबईमा ‘बन्दी’ जीवन बिताइरहेका उनी यूएईस्थित नेपाली दूतावासलाई गुहारिरहेका छन्। दुबई प्रहरी, कम्पनी र अदालत धाइरहेका छन्। अस्पतालको उपचारखर्च नतिर्दासम्म उनी जन्मभूमि फर्किन पाउँदैनन्।
breaknlinks.com
रोल्पा गंगादेव–२ का २१ वर्षीय बालकुमार वलीले सामाजिक सञ्जाल ‘मेटा’को इन्ट्रोमा लेखेका छन्– ‘दुःख मात्रै यस्तो .....