28/10/2025
बागमतीको किनारमा बगरखेती
मकवानपुर र सिन्धुलीका किसानका लागि बागमती नदी किनार हिउँदमा वरदानसाबित भएको छ । यहाँका स्थानीयवासीले बगर किनार र नदीभित्रै मकै खेती गरेका छन् ।
बागमतीको बगरमा गरिएको मकै खेतीले किनार हराभरा देखिएको छ । वर्षायाममा किनार नै ढाक्ने गरी नदी बगे पनि अहिले मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बागमती गाउँपालिका र छिमेकी जिल्ला सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका स्थानीयले आफ्नो क्षेत्रमा पर्ने बगरमा मकै खेती गरेका हुन् ।
ठुला ठुला ढुङ्गा भएको बगरमा छरेको मकैको उत्पादनले यहाँका बासिन्दाले परिवारको पेट पाल्दै आएको बागमती गाउँपालिका कार्यकारी अधिकृत ओमबहादुर दर्जिले जनाउनुभयो । उहाँका अनुसार बागमतीको भोर्लेनी, बगेरी, ज्यामिरे, झुरझुरे, पाँच पाण्डु, भैँसे, करौँजे, माग्धु हुँदै राईगाउँका बासिन्दाले बागमती खोलाको बगरमा हिउँदमा मकै उत्पादन गर्दै आएको कारण पालिकाले यसमा अनुदान नै राखेर किसानलाई बगरखेतीमा प्रोत्साहन गरिहेको छ ।
२०५७ सालदेखि बगरमा स्थानीयले मकै खेती गर्दै आएका हुन् । बागमतीको ढलसहितको पानीले युरिया मलभन्दा पनि राम्रो उत्पादन दिएको पालिकाले जनाएको छ । “ढुङ्गामाथि नै मकै फलेको छ,” प्रमुख दर्जिले भन्नुभयो, “वर्षामा बागमती नदीले बगर ढाकेर बस्ती र जमिन कटान गर्छ । हिउँदमा सयौँ कृषकले उन्नत जातको मकैको बिउ छरेर उत्पादन लिनुहुन्छ ।”
वारि मकवानपुरको बागमती र पारि सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका पर्ने यो क्षेत्रका किसानले मकैसँगै चैते धानको खेती पनि गर्दै आएका छन् । यहाँ हिउँदको समयमा नदी किनारा र नदी भित्रै ढलसहितको पानी बग्ने ठाउँमा खेती हुँदै आएको हो । ३० किलोमिटर बढी क्षेत्रमा गरिर्दै आएको मकै खेतीमा सात सयभन्दा बढी परिवार आश्रित छन् । बगरमा उत्पादन भएको मकैले फापरबारी, राईगाउँ, मन्थली र बेतिनीका बासिन्दाले राम्रो आम्दानी लिएको स्थानीयको भनाई छ । मकै उत्पादनले यहाँका स्थानीयको जीवनस्तर परिवर्तन ल्याउन मद्दत पुगेको बताइएको छ ।
वर्षामा आउने बाढीले त्रास हुने गरे पनि हिउँदमा काठमाडौँबाट बग्दै आउने ढलसहितको पानीले बगर खेती फस्टाएको सिन्धुलीका विशालराज राईले बताउनुभयो । वर्षामा अभिशाप हुने नदी हिउँदमा वरदान हुँदै आएको उनले भने।
काठमाडौँबाट बग्दै आउने बागमती नदी दूषित हुँदा माछा मारेर जीविकोपार्जन गर्ने समुदायको पेसा भने सङ्कटमा परेको स्थानीय दन्तलाल माझीले बताए।
बागमतीमा ढल नमिसिँदा यहाँको पानी पिउने, नुहाउने र यहाँ माछा मारेर खाने गरेका माझी समुदायको प्रदूषित पानीका कारण पेसा जोगाउन समस्या भएको छ । दूषित ढलसहितको पानीका कारण यहाँको जलीय जनावर प्रभावित भएको छ । बगरमा खेती गर्नेका लागि भने यो वरदान भएको छ ।