29/08/2026
सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक गम्भीर घाइते
सर्लाही, १३ भदौ । सर्लाहीको बलरा नगरपालिका–७ डुमरियास्थित मधुवनी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
गएराति करिब ९ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको भारतीय नम्बर बिआर ३० एल ३१८० को मोटरसाइकल आफैं अनियन्त्रित भई सडकबाट करिब साँढे पाँच फिट तल रहेको पुलको साइफनमा ठोक्किएको थियो। दुर्घटनामा मोटरसाइकलमा सवार तीन जना घाइते भएका थिए।
दुर्घटनामा मोटरसाइकल चालक बलरा नगरपालिका–६ निवासी दुखरन बैठाका १७ वर्षीय छोरा अभिनाष बैठा गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याइएकोमा उपचारकै क्रममा राति करिब १०ः३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
त्यस्तै, मोटरसाइकलको बीचमा सवार बलरा नगरपालिका–६ निवासी प्रमोद कुमार बैठाका १८ वर्षीय छोरा रोहित बैठा का दुवै खुट्टा तथा शरीरको भित्री भागमा चोट लागेको थियो। सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्जतर्फ लैजाने क्रममा करिब २ः३१ बजे बाटोमै मृत्यु भएको आशंका भएपछि उनलाई पुनः प्रादेशिक अस्पताल मलंगवा ल्याइएको थियो। अस्पतालमा ईसिजी परीक्षण गर्दा चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए। उनको शव पनि अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ।
मोटरसाइकलको पछाडि सवार भारतको बिहार, सीतामढी जिल्ला, बथनाहा थाना, रनौली–१० घर भई हाल बलरा नगरपालिका–६ बस्दै आएका बदन बैठाका २४ वर्षीय छोरा शनि कुमार बैठा को दाहिने खुट्टा भाँचिएको छ। उनको अवस्था पनि गम्भीर रहेको र सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय गडहियाबाट प्रहरी नायब निरीक्षक इन्द्रभूषण मिश्राको कमाण्डमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा पुगेको थियो। दुर्घटनामा परेको मोटरसाइकल इलाका प्रहरी कार्यालय गडहियाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले जनाएको छ।