06/04/2025
निर्वाचनमा बहुपक्षीय प्रतिस्पर्धा सिर्जना
उर्लाबारी, २४ चैत
यही चैत २६ गते हुने नेकपा एमाले उर्लाबारी नगर कमिटीको निर्वाचन अत्यन्तै रोचक बन्दै गएको छ । अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव द्वय पदका लागि दर्जनौं उम्मेद्वारहरूले आ–आफ्नो दाबी प्रस्तुत गरेसँगै निर्वाचनमा बहुपक्षीय प्रतिस्पर्धा सिर्जना भएको छ ।
अध्यक्ष पदका लागि उर्लाबारी–७ का मेघराज श्रीपाली, निरोज तिम्सिना, उर्लाबारी–१ का गोपाल रिमाल, उर्लाबारी–९ का सुरेन्द्र शेर्मा र उर्लाबारी–४ का यम न्यौपानेले उम्मेद्वारी घोषणा गरेका छन् । यसैगरी उपाध्यक्ष पदमा
शेरबहादुर भण्डारी, सुरेश शाक्य, योगराज लाबुङ लिम्बु, खेमचन्द्र थापा र भरत मणि गौतमले दाबी गरेका छन्।
सचिव पदमा चेतन सिग्देल, इन्द्रबहादुर भट्टराई र सुनिल धिमालबीच प्रतिस्पर्धा हुने अवस्था छ। उपसचिव द्वय पदमा अमृता नेपाली, रुद्र लामिछाने, छविलाल दाहाल, नित्तम चौहान र कल्पना नाल्बो उम्मेदवार बनेका छन् । खुल्ला सदस्य पदमा उर्लाबारी–४ का सक्रिय युवा तथा व्यवसायी सुनिल बोहोराले उम्मेदवारी घोषणा गरेका छन् ।
त्यसैगरी लेखा समिति संयोजकमा उर्लाबारी ४ का दुर्गाराम कार्कीले उम्मेद्वारी घोषणा गरेका छन् । निर्वाचन प्रमुख तथा प्रदेश कमिटी सदस्य भीष्मा रेग्मीका अनुसार हालसम्म उर्लाबारी नगर भित्र नवीकरण गरिएका १,०८० जना संगठित सदस्यहरूमध्येबाट २०४ जना प्रतिनिधिहरू चयन गरिएका छन् । यी प्रतिनिधिहरूले आगामी नेतृत्व चयन गर्नेछन् ।
यस निर्वाचनलाई सर्वसम्मत बनाउन पार्टीको नेतृत्व पंक्ति लागि
परेको नगर अध्यक्ष गंगाप्रसाद बास्तोलाले जानकारी दिएका छन् । यद्यपि अहिलेको माहोलले प्रतियोगिता चर्किएको संकेत दिएको छ ।
उम्मेद्वारहरूले घरदैलो अभियानलाई तीव्र बनाउँदै आफ्ना एजेन्डा प्रस्तुत गरिरहेका छन् । प्रतिनिधिहरू अनुभवी र काम गर्न सक्ने नेतृत्वको पक्षमा मतदान गर्नुपर्ने आवाज उठाइरहेका छन् ।
नगर कमिटीमा जाने प्रतिनिधिहरूको छनोट वडागत भूगोल तथा क्लस्टर प्रतिनिधित्वका आधारमा भइरहेको छ । निर्वाचनको सम्पूर्ण कार्यक्रम चैत २६ गते सम्पन्न हुनेछ भने मतदान चैत २७ गते हुने निर्वाचन समितिले जनाएको छ ।
यो निर्वाचनले उर्लाबारीका एमाले कार्यकर्ताहरूको विशेष ध्यान खिचेको छ । तर नेतृत्व कसको पोल्टामा पर्छ भन्ने विषय मतदानपछि मात्रै प्रष्टिनेछ । जे होस्, सबै उम्मेद्वारहरू सशक्त नेतृत्वको दाबी गर्दै नगर पार्टीलाई नयाँ दिशामा डो–याउने प्रतिबद्धतासहित मैदानमा उत्रिएका छन् ।
゚