20/09/2025
नेपासको प्रथम प्रधानमंन्त्री भीमसेन थापापछि सवैभन्दा अपमानजनक विदाई, केपी ओली
***************************************************
सन्तोष श्रेष्ठ
नेपालमा मात्र होइन, विश्व राजनीतिको इतिहासमै पनि विद्रोहपछि नेतृत्वको उदय र पतन स्वाभाविक प्रक्रिया हो । सामान्यतया सरकार प्रमुखको विदाई अमर्यादित हुने गरेको छैन । हुकुमी राणा शासनको अन्तिम प्रधानमन्त्री मोहन शमशेर जबरा हुन् वा निर्दलीय पञ्चाय व्यवस्थाका अन्तिम प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठ नै किन नहोस्, आन्दोलनपछि उनीहरूको विदाई अपमानजनक भएन । यद्यपि २०१७ सालमा बीपी कोइरालालाई जेल चलान गरिएको भए पनि २०२४ सालमा अदालतले ससम्मान रिहा गर्यो । तर, नेपालको इतिहासमा प्रधानमन्त्रीको हैसियतले प्रथम प्रधानमन्त्री भीमसेन थापा र जनताद्वारा निर्वाचित कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको विदाई भने अत्यन्तै अपमानजनक र बेज्जतिपूर्ण भएको तथ्यलाई केही ऐतिहासिक समानतासहितलाई उजागर गर्ने प्रयास गरिएको छ ।
सम्राज्यवादी अंग्रेज विरुद्ध हतियार उठाएर गोर्खाली जातिको वीरता संसारभर चिनाउने भीमसेन थापाले वि.सं. १८६३–१८९४ सम्म नेपालका प्रधानमंन्त्री गरेका थिए । तत्कालीन राजकुमार देवेन्द्र विक्रम शाहको विफरले भएको मृत्युलाई झूटो “विषकाण्ड” बनाएर भीमसेन थापालाई षड्यन्त्रपूर्वक सत्ताबाट सिधै जेल चलान गरियो । आरोप प्रमाणित गर्ने सम्भावना नदेखिएपछि, कान्छी श्रीमतीलाई नाङ्गै शहर घुमाइने र त्यो भिमसेन थापाले दिशामा डुवेर हेर्नु पर्ने भनी अफवाह स्वाभिमानी भीमसेन थापाको कानमा सुनाईयो । यो अपमानपूर्ण दृष्य हेर्नु भन्दा मर्नु उचित संम्झेर झ्यालको सिसाले घाँटी रेतेर आत्महत्या प्रयास गरे । रगतले लतपतिएका घाइते थापालाई उपचार गर्नुको सट्टा विष्णुमती बगरमा लगेर फ्यालियो, जहाँ नौ दिनसम्म जीवित रहेर अन्ततः वि.सं. १८९६ साउन १६ गते उनको निधन भयो ।
मृत्युपछि पनि थापाको जात खोसियो, अन्तिम संस्कार गर्न नदिइ, लाशलाई टुक्रा–टुक्रा पारेर स्याल, कुकुर र गिद्धलाई खान शहरको विभिन्न स्थानमा फ्यालिएको थियो । भनिन्छ, बेलायती राजदूत हगसनले उनको खोपडी चोरेर बेलायतको संग्रहालयमा राखेको छ । तत्कालीन सत्ता र शक्तिको चरम दुरुपयोग गरेर एक वीर महान देशभक्तको जीवनलाई दुःखद र अपमानजनक अन्त्यतर्फ धकेलिएको इतिहास आज पनि जिउँदो छ । हुनत प्रधानमन्त्री बनाउने निश्चित विधि नहुँदा भिमसेन थापापछि पनि सत्ताका लागि हत्याहिंसाको राजनीति नभएको होइन, त्यो षड्यन्त्रपूर्ण काटामारकै राजनीति थियो । तर पछिल्ला समयमा भने सत्ता मात्र होइन, व्यवस्था नै परिवर्तन हुँदा पनि प्रधानमन्त्री पदमा बस्नेहरूको विदाई अपमानजनक भएको छैन ।
तर ओलीको विदाईले भन्ने भिमसेन थापाको विदाई झझल्को दिने थियो । “म भनेको एमाले, एमाले भनेको म” भन्ने भाष्य निर्माण गरेको ओलीले सहयोगी कांग्रेसलाई समेत थाङामा सुताएर सत्तामा रजगज चलाइरहेको ओली, चीन भ्रमणमा पुटिन र किम जोङलाई भेटेपछि उनले आफूलाई सि जिनपिङभन्दा अलिकति कम ठान्न थाले । २६ वटा सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएर बहादुरी देखाएको ओलीले पाँच दिनपछि भदौ २३ गते हुने भनेको Gen-Z पुस्ताको आन्दोलनलाई खुट्टाको रै पनि सम्झेका थिएनन् । पहिलो दिनको आन्दोलनमा १९ जनाले ज्यान गुमाए पनि ओलीमा कुनै अपसोज देखिएन । आन्दोलनको दोस्रो दिन, सुरक्षा निकायलाई दमनका लागि कडा निर्देशन दिँदा सेना प्रमुख अशोक सिग्देलले “दमन होइन, अब तपाईँले राजीनामा नदिए, तपाईँहरूको पनि सुरक्षा गर्न सक्दिन” भनेपछि ओलीको पसिना छुट्यो । Gen-Z को जनविद्रोह नजिकै आइरहेको अनुभव गरेपछि उनले छिटोछिटो सेतो पानामा राजीनामा लेखे, सेनासँग ज्यानको भिक्षा मागे र हतार–हतार हेलिकप्टरमा चढेर बेपत्ता भए । आन्दोलनकारीहरूले गाउॅमा बाख्रा चोरलाई खोज जस्तै गरि राती १० बजे सम्म त्रिभुवन विमानस्थलदेखि सैनिक ब्यारेक र शंका लाग्ने स्थानहरू खोजी गरे । २१औँ शताब्दीमा प्रधानमन्त्रीले यो भन्दा बेजत अरु के हुन सक्छ ? पाँच मिनेट मात्र ढिलो भएको भए काल्पनिक फिल्ममा समेत डाईरेक्ट्ररले अहिलेसम्म कल्पना गर्न नसकेको दृश्य संसारले प्रत्यक्ष हेर्ने थियो ।
अतःभिमसेन थापा र केपी ओली दुवैको विदाई हृदयविदारक, बेज्जतपूर्ण तथा अत्यन्त अपमानजनक भएको हो, यसमा कुनै दुईमत छैन । तर भिमसेन थापाको विदाई तत्कालीन सत्ताको चरम दुरुपयोगको परिणाम थियो भने ओलीको विदाई जनताद्वारा गरिएको असन्तुष्टिको प्रतिफल थियो । थापा गोर्खाली जातिको गौरवमय वीरता र अमूल्य राष्ट्रिय विभूति थिए, जसको अपमानजनक विदाईले इतिहास आजसम्म झुकिरहेको छ । तर ओलीको विदाईलाई नेपाल र विश्वका सचेत नागरिकहरूले हर्षपूर्वक स्वागत गरे, किनकि भ्रष्ट तानाशाहलाई यसरी लखेटेर मात्र सुशासन स्थापना गर्न सकिन्छ भन्ने सन्देशका रूपमा लिइएको छ । ओलीको पतनलाई विश्वले “रोल मोडल” का रूपमा स्वीकार गर्दै आ–आफ्नो देशमा अनुकरण गर्न तत्काल प्रयास गरिरहेका छन् । तर भिमसेन थापाको अपमानजनक विदाईलाई भने आज सम्म हामी अफसोसका साथ सम्झिरहेका छौं ।
अन्तमा, विदाईको स्वरूप मिल्दा जुल्दा भए पनि विदाई हुने पात्रहरूको स्वभाव भन्ने आकाश–पातलको फरक देखिन्छ । तथापि, भिमसेन थापा र केपी ओलीबीच केही ऐतिहासिक समानताहरू भन्ने रहेका छन् । नेपालका यी दुई प्रधानमन्त्रीहरूको मात्र सन्तान थिएनन्, निसन्तान थिए र आफ्ना विरोधीप्रति दुबै असहिष्णु र कठोर नीति अपनाउने प्रवृत्ति राख्थे । भिमसेन थापा कट्टर अङ्ग्रेज विरोधी र साहसी राष्ट्रवादी थिए भने त्यही थापाले अङ्ग्रेजसँग गरेको सुगौली सन्धि अनुसार कालापानी, लिपुलेक र लिम्पियाधुरालाई ओलीले नक्सामा समेटेर कडा राष्ट्रवादको पहिचान बनाउन सफल भएका थिए । आफ्नो शासनकालमा यी दुबै नेता सर्वसाधारणदेखि देश–विदेशमा समेत चर्चा–परिचर्चा हुन्थे । दुवै नेता सत्ता तथा शक्तिलाई मजबुत बनाउन निरन्तर प्रयासरत रहन्थे ।
रोचक कुरा के छ भने, ओलीले अध्ययन गर्ने माक्सवाद ठेलीको प्रणेता कार्ल मार्क्स जर्मनीमा जन्मेका बेला नेपालमा प्रधानमन्त्री भिमसेन थापा नै थिए । यो ऐतिहासिक संयोग मात्र हो, केपी ओलीलाई राष्ट्रिय विभूति भिमसेन थापासँग न तुलना गर्न मिल्छ, न तुलना गर्नु उपयुक्त हुन्छ । तथापि, मैले केही ऐतिहासिक कटु सत्यहरू तपाईहरुको सामु जानकारीको रुपमा मात्र उल्लेख गरेको हुँ ।