27/09/2025
अधिकृत विक्रेता संघ लेखनाथको शुभकामना आदानप्रदान
तथा सामग्री हस्तान्तरण
लेखनाथ, ११ असोज।
‘देशको आर्थिक पुनर्जागरणका लागि उद्योगी व्यवसायी उठ्नु पर्दछ’ भन्ने सन्देशका साथ अधिकृत विक्रेता संघ लेखनाथ, कास्कीले शुभकामना आदानप्रदान तथा सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।
विजया दशमी, शुभ दीपावली, छठ पर्व साथै नेपाल संवत ११४६ को अवसरमा आयोजित उक्त कार्यक्रममा शुभकामना आदानप्रदान तथा सम्मानसमेत गरिएको थियो ।
अधिकृत विक्रेता केन्द्रीय वितरण संघका निवर्तमान अध्यक्ष हरिराज पन्तले देशको विषम परिस्थितिको सामना गर्दै समाज र व्यवसायी प्रवद्र्धनमा लाग्न व्यवसायीलाई आग्रह गर्दै, चाडपर्वलाई व्यक्तिगत रुपमा आफ्नो परम्परा र संस्कृतिअनुसार मनाउन सुझाव दिए ।
लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष विक्रम कर्माचार्यले वर्तमान अवस्थामा व्यवसायी र प्रतिष्ठानले ठूलो नोक्सानी व्यहोर्नु परिरहेको उल्लेख गर्दै कालोबजारी र नाफाखोरीमा नलागी राष्ट्र निर्माणका आर्थिक क्रियाकलापमा संलग्न व्यवसायीले रोजगारी सिर्जना गरी जनताको सेवा गर्न एकजुट हुनुपर्ने बताए ।
त्यसैगरी, अधिकृत विक्रेता संघ लेखनाथका अध्यक्ष निर्मल पौडेलले चाडपर्वमा व्यवसायीले व्यवसायिक मान्यता अनुसार व्यापार गर्नुपर्नेमा जोड दिँदै, व्यापार व्यवसाय राष्ट्रको मेरुदण्ड भएकाले सबैले आफ्नो दायित्व र भूमिकाको महत्त्व बुझ्नुपर्ने धारणा राखे ।
कार्यक्रमका प्रमुख अतिथि मार्फत प्रहरी प्रदेश कार्यालयलाई नियमित कार्य सञ्चालनका लागि आवश्यक पर्ने कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरिएको थियो। उक्त सामग्री प्रहरी निरीक्षक कृष्ण रानाभाटलाई हस्तान्तरण गरिएको हो । कार्यक्रमको सञ्चालन संस्थाका महासचिव सन्तोष बरालले गरेका थिए ।