
30/06/2025
भाष्कर मेमोरियलद्वारा ४ जिपिए ल्याउनेलाई १ लाख पुरस्कार
पोखरा १५ असार । भाष्कर मेमोरियल स्कुल, पोखरा–११, फूलबारीले एसइई परीक्षा–२०८१ मा उत्कृष्ट विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।
विद्यालयले ४ जिपिए ल्याउने विद्यार्थीद्वय अदिती पौडेल र सौगात लामिछानेलाई जनही १ लाख रुपैयाँ पुरस्कार प्रदान गरेको हो ।
विद्यालय प्रांगणमा आइतबार संस्थापक अध्यक्ष माधवी बास्तोलाले पुरस्कृत विद्यार्थीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेकी थिइन् ।
यसैगरी, विद्यालय प्रिन्सिपल गणेशबहादुर रानाले आफ्ना तर्फबाट दुवै जनालाई १०/१० हजार रुपैयाँ पुरस्कार प्रदान गरे ।
त्यस अवसरमा एसइई उत्तीर्ण विद्यार्थीहरु र अभिभावकहरुलाई टीका र खादाले सम्मान गरिएको थियो ।
यस्तै, विद्यालयका तर्फबाट कक्षा १० मा अध्यापनरत् ८ जना शिक्षकलाई जनही २० हजार र अन्य शिक्षक, कर्मचारीलाई जनही १ हजार प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ ।
कार्यक्रममा विद्यालयका संस्थापक निर्देशक विश्वराज बास्तोलाले विद्यार्थीहरुको प्रोत्साहनको लागि पुरस्कार प्रदान गरिएको र आगामी वर्ष पनि निरन्तरता दिने बताए ।
प्रिन्सिपल गणेशबहादुर रानाले एसइई नतिजाले हामी सक्षम छौं र आगामी दिनमा अरु बढी प्रगति गर्न सक्छौं भन्ने देखाएको बताए ।
पुरस्कृत छात्रा अदितीका बुवा बुद्धि पौडेलले विद्यालयबाट राम्रो वातावरण पाएर नै विद्यार्थीले सफलता हासिल गरेको बताए ।
विद्यार्थी सौगात लामिछानेले विद्यालयबाट पुरस्कृत हुन पाएकेमा धेरै खुसी लागेको बताउँदै आगामी वर्ष धेरै भाइबहिनीहरु पुरस्कार जित्न सफल बन्ने छन् भन्ने विश्वास व्यक्त गरे ।
कार्यक्रम संचालन शिक्षक विजय कोइरालाले गरेका थिए ।
भाष्कर मेमोरियलले यसपालि २ जनाको ४ जिपिएसहित ४५ जना विद्यार्थी उत्तीर्ण गराउन सफल भएको हो ।