01/06/2026
प्रतिनिधिसभा बैठक सोमबार प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर तनावपूर्ण बनेको छ। विपक्षी दलहरूले नेपालले भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने तथा प्रधानमन्त्रीले रोष्ट्रममा आएर सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गर्दै सदनमा चर्को विरोध जनाएका हुन्।
बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरू उभिएर विरोधमा उत्रिएपछि सभामुख डोल प्रसाद अर्यालले पटक–पटक बस्न आग्रह गरेका थिए। उनले कार्यव्यवस्था परामर्श समितिको छलफलका लागि विपक्षी दलका प्रमुख सचेतकहरूलाई बोलाउँदा पनि अनुपस्थित भएको गुनासो गरे। साथै अन्य सांसदहरूको बोल्ने अधिकार सुनिश्चित गर्न सदन अवरोध नगर्न आग्रह गरेका थिए।
सभामुख अर्यालले भने, “जनताको विषयमा अन्य सार्वभौम सांसदले बोल्न चाहँदा समय नदिने हो? हिजैदेखि विपक्षी दलका नेताले बोल्न समय मागिराख्नुभएको छ। त्यसकारण बसेर सभा सञ्चालन गरौँ, कार्यसूचीमा प्रवेश गरौँ।”
सभामुखले प्रधानमन्त्रीको अभिव्यक्तिबारे उठेका विषयमा आफ्नो ध्यानाकर्षण भएको बताए पनि विपक्षी दलहरू पछि हटेनन्। नेकपा एमालेका सांसद गुरू बरालले प्रधानमन्त्रीलाई सदनमा बोलाएर देशवासीसमक्ष माफी माग्न लगाउनुपर्ने माग गरे। उनले भने, “यो कार्यसूचीभन्दा अग्राधिकारको विषय हो। देशलाई पछाडि पारेर अरू सूची अघि बढ्दैन। यो सामान्य घटना होइन, देश लज्जित भएको छ।”
विपक्षी दलहरूले सभामुख अर्यालमाथि समेत ‘पेलेर बैठक चलाएको’ आरोप लगाए। त्यसको जवाफमा सभामुखले “मेरो इच्छा र चाहना हुँदैन, पेलेर सदन चलाउने” भनेपछि एमाले प्रमुख सचेतक ऐन महरले तत्कालै “किन चलाउनु भयो त?” भन्दै प्रतिप्रश्न गरेका थिए।
त्यसपछि एमाले सांसद साजिदा खातुन सिद्धिकीले “पेलेर जानेमै प्रतिस्पर्धा गर्ने हो?” भनेर प्रश्न उठाएकी थिइन्। जवाफमा सभामुख अर्यालले सांसदहरूलाई कानुन निर्माण, सुशासन, राष्ट्रियता र जनजीविकाका मुद्दामा प्रतिस्पर्धा गर्न आग्रह गरे। उनको उक्त भनाइमा रास्वपा सांसदहरूले ताली बजाएर समर्थन जनाएका थिए।
सभामुख अर्यालले आइतबारको बैठकमा आफूले नियमअनुसार निर्णयार्थ मात्र पेश गरेको स्पष्ट पारे। उनले नियमावलीअनुसार सदनमा छलफल र निर्णय प्रक्रियामार्फत विषय टुंग्याउनुपर्ने बताए। “मैले कुनै विषय स्वीकृत वा अस्वीकृत गरेको छैन, निर्णयार्थ मात्र पेश गरेको हो,” उनले स्पष्ट पारे।
उनले संविधान बनेको दस वर्ष बितिसक्दा पनि धेरै कानुन निर्माण हुन नसकेको उल्लेख गर्दै सांसदहरूलाई सदन सञ्चालनमा सहयोग गर्न आग्रह गरे। तर सभामुखको आग्रहपछि पनि विपक्षी दलहरूले विरोध जारी राखेपछि प्रतिनिधिसभा बैठक अन्ततः १५ मिनेटका लागि स्थगित गरिएको छ। Youth Update