18/10/2025
पत्रकार Rajib Khatry लेख्नुहुन्छ।
नख्खु कारागारभित्रको त्यो दिनः 👉️ रवि लामिछानेको मुखबाट हिजो शुक्रबारको दिउँसो नख्खु कारागारभित्र रास्वपा सभापति रवि लामिछानेसँगको भेटमा उनले शान्त स्वरमा ती दिनका स्मृतिहरू मलाई सुनाए । उनका शब्दहरूमा उतिबेला देशभित्रको तनाव, भीडको उग्रता र शासन–संवेदनशीलता सबै एकसाथ बोल्थे ।
“२३ गतेको घटनाबारे म दिउँसोसम्म पूर्णरूपमा जानकार थिएँ,” उनले प्रारम्भ गरे, “तर साँझपख कारागारको टेलिभिजन लाइन काटियो । त्यसपछि बाहिरको कुनै अपडेट पाइँदैनथ्यो ।” २४ गते दिउँसोतिर, उनी बाथरुममा थिए । प्रहरीहरू आए र जेलरले बोलाएको खबर दिए । तुरुन्तै उनलाई जेलरको कार्यकक्षमा पुर्याइयो । त्यहाँ पुग्दा जेलरको अनुहारमा चिन्ता स्पष्ट देखिन्थ्यो ।
“बाहिर ठूलो भीड जम्मा भएको छ,” जेलरले भने, “जेल तोड्ने प्रयास भइरहेको छ । तपाईं बाहिर गएर भिडलाई सम्झाउनुहोस् ।”
रविले माइकको माग गरे र गेटनजिक पुगेर आन्दोलनकारीलाई सम्बोधन गर्ने प्रयास गरे । तर भीडले सुन्ने अवस्था नै थिएन । कोलाहल र आक्रोशबीच उनी पुनः भित्र फर्किए ।
“जेलरले भने, कारागार अब सुरक्षित छैन, तपाईं बाहिर जानुहोस्,” रविले सम्झिए, “तर मैले भनेँ — विना आधिकारिक पत्र बाहिर निस्किन्न ।”
त्यसैबीच उनले थाहा पाए — पत्नी निकिता र पार्टी उपसभापति स्वर्णिम वाग्लेलाई प्रहरीमार्फत लिन आउन भनिसकिएको रहेछ ।
थोरैबेरमै खबर आयो — सिंहदरबार, संसद भवन, प्रहरी चौकी र नेताहरूका घरहरूमा आगजनी भइसकेको छ ।
राजधानी धुवाँ र डरले ढाकिएको थियो ।
गृहसचिव, प्रहरी प्रमुख र जेलरबीच छोटो छलफल भयो । त्यसपछि उनलाई एक पत्र थमाइयो ।
“आजको सहज अवस्थामा त्यो सबै सम्झिँदा फरक लाग्छ,” उनी भन्छन्, “तर त्यस्तो परिस्थितिमा पत्र कसरी बन्यो, भाषा कस्तो थियो — सोच्ने समय थिएन ।”
नख्खु कारागारबाट करिब एक किलोमिटर टाढा मन्त्री क्वार्टर थियो । त्यहाँबाट मन्त्रीहरू र तिनका परिवारलाई हेलिकप्टरमार्फत सुरक्षित स्थानमा लैजाँदै थियो । “तर मलाई भने ‘सुरक्षित’ भनिएको जेलबाट ‘असुरक्षित’ भिडतर्फ पठाइँदै थियो,” उनले भने, “तर म जनताको मान्छे, म जनताकै भिडमा जान्छु ।”
त्यसरी उनी भिड छिचोलेर सडकपारिको एउटा रेस्टुरेन्टमा पुगे । बाहिर भीड झन् उग्र बनिसकेको थियो ।
त्यहाँ उनले पार्टीका साथीहरूलाई भने — “ओजन छाना भएको गाडी ल्याउनुहोस् । भिडले मलाई देख्नुपर्छ, नत्र गाडीमा आगो लगाइन्छ ।”
गाडी आएसँगै उनले रेस्टुरेन्टको बार्दलीबाट केही बेर भिडलाई सम्बोधन गरे ।
त्यसपछि गाडीमा बसेर उभिएर अभिवादन गर्दै नख्खुबाट बाहिरिए ।
त्यो दृश्यलाई केहिले फरक अर्थमा प्रस्तुत गरे — “गाडीमा हात हल्लाउँदै हिँडे” भनेर ।
तर उनका शब्दमा, “त्यो कुनै प्रदर्शन थिएन, त्यो बाध्यता थियो । नत्र गाडी नै जल्ने अवस्था थियो ।”
उनले बाहिरिँदै गर्दा सुने — शीर्ष नेताहरू कुटिएका छन्, कतिपय भागेका छन् ।
त्यो क्षण उनले विगतमा आफुले दलहरुलाई दिएको चेतावनी पनि सम्झिए —
“एकदिन जनता विस्फोट हुन सक्छन् ।”
त्यो विस्फोट अब उनले आफ्नै आँखाले देखिरहेका थिए ।
उता नेताहरूका घर र पार्टी कार्यालयहरूमा तोडफोड भइरहेका थिए ।
जनता र शासकबीचको विश्वासको अन्तिम धागो चुँडिएको महसुस भइरहेको थियो ।
रवि सुनाउँदै थिए, म सुन्दै थिएँ । अनि मेरो मनमा एक पुरानो घटना चम्कियो —
यही नख्खु जेलबाट कुनै समय कैदीहरूले कांग्रेस नेता गणेशमान सिंहलाई भगाएका थिए । त्यो घटना आज पनि “वीर गणेशमान”को इतिहास बनेर उभिएको छ ।
तर आज जब कारागारमा असुरक्षित भएर परिवारको जिम्मा लगाइएका रवि लामिछाने जतिबेला बाहिरिए, त्यसै दलका नेता र तिनका कार्यकर्ता उनीमाथि लाञ्छना लगाइरहेका छन् ।
एउटा प्रश्न उब्जिन्छ —
किन आन्दोलनकारीहरूले रास्वपाको कार्यालय वा नेताहरूका घरमा कुनै क्षति पुर्याएनन् ?
उत्तर —
सायद जनताले रास्वपालाई आफ्नो पार्टी ठाने ।
र तिनका नेताहरूलाई आफ्नै प्रतिनिधि माने ।
त्यही हो, आज रास्वपाका नेता र कार्यकर्ताहरूले बुझ्नुपर्ने मुख्य कुरा ।