07/10/2026
भुल्कियामा २५ लाख लागतमा दुईकोठे विद्यालय भवन निर्माण हुँदै
गोलबजार — गोलबजार नगरपालिका–स्थित श्री जनता आधारभूत विद्यालय, भुल्कियामा दुईकोठे नयाँ विद्यालय भवन निर्माण हुने भएको छ। गोलबजार नगरपालिकाका नगर प्रमुख श्यामकुमार श्रेष्ठको विशेष पहलमा निर्माण हुन लागेको भवनको बुधबार नगर प्रमुख श्रेष्ठले शिलान्यास गरेका छन्।
करिब २५ लाख रुपैयाँको लागतमा निर्माण हुने उक्त भवनले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सुरक्षित, व्यवस्थित र सहज शैक्षिक वातावरण उपलब्ध गराउने अपेक्षा गरिएको छ। दलित तथा विपन्न समुदायको बाक्लो बसोबास रहेको भुल्किया क्षेत्रमा विद्यालयको भौतिक पूर्वाधार विस्तारले विद्यार्थीको शिक्षामा पहुँच बढाउन सहयोग पुग्ने नगरपालिकाले जनाएको छ।
भवन शिलान्यास कार्यक्रममा नगर प्रमुख श्रेष्ठले आर्थिक अवस्था वा सामाजिक पृष्ठभूमिका कारण कुनै पनि बालबालिका शिक्षाको पहुँचबाट वञ्चित हुन नहुने बताए। उनले स्थानीय सरकारले विपन्न तथा दलित समुदायका बालबालिकाको शिक्षामा पहुँच विस्तारलाई प्राथमिकतामा राख्दै विद्यालयको भौतिक पूर्वाधार विकासमा आवश्यक सहयोग गर्दै आएको उल्लेख गरे।
“विद्यालयको भवन निर्माण गर्नु भनेको केवल संरचना निर्माण गर्नु होइन, यहाँका बालबालिकाको भविष्य निर्माण गर्नु हो। दलित तथा विपन्न समुदायका बालबालिकाले पनि गुणस्तरीय र सुरक्षित वातावरणमा पढ्न पाउनुपर्छ भन्ने हाम्रो उद्देश्य हो,” नगर प्रमुख श्रेष्ठले भने।
उनले निर्माण कार्यमा गुणस्तरमा कुनै सम्झौता नगर्न र तोकिएको समयभित्रै भवन निर्माण सम्पन्न गर्न सम्बन्धित पक्षलाई आग्रह गरे। साथै, भौतिक पूर्वाधारसँगै विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि समेत नगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए।
नयाँ भवन निर्माण सम्पन्न भएपछि विद्यालयमा कक्षाकोठाको अभाव कम हुनुका साथै विद्यार्थीलाई अध्ययनका लागि थप सहज र सुरक्षित वातावरण बन्ने अपेक्षा गरिएको छ। नगरपालिकाले शिक्षा क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै आवश्यकताअनुसार विद्यालयको भौतिक संरचना सुधार तथा विस्तारलाई निरन्तरता दिने जनाएको छ।