09/04/2025
म तिमीलाई साँचो माया गर्थें, हरेक दिन तिम्रो सम्झनामा बित्थ्यो। तिम्रो हाँसो, तिम्रो बोलाइ, तिम्रो सानो-सानो कुराहरू मेरो मनभरि भरिएको थियो। तिमी बिना जिन्दगी कल्पना गर्न पनि सक्दिनथेँ। तिमी मेरो दिनको उज्यालो थियौ, मेरो रातको चन्द्रमा। तर समय संगै, परिस्थिति संगै, मैले आफैंलाई बाध्य बनाएँ—तिमीलाई भुल्न, तिमीलाई बिर्सिन।
हिजो जसलाई आफ्नो जिन्दगी सम्झेको थिएँ, आज त्यसैलाई मनबाट मेटाउने प्रयास गर्दैछु। तिमी संग बिताएका ती पलहरू—संगै हिँडेको बाटो, हात समाइएका ती क्षणहरू, चिसो हावामा तिमीले दिएको न्यानो स्पर्श—सबै बिस्तारै सम्झनाको पानाबाट मेट्न खोज्दैछु। तर कसरी मेट्नु? आँखाबाट आँसु झरिरहेको छ, मन भारी भएको छ, मुटु चर्किएजस्तो भएको छ।
तिमीलाई भुल्ने नाटक गर्दै हिँडेको छु, तर मनले साथ दिइरहेको छैन। जब तिमीलाई मनबाट मेटाउन खोज्छु, झन् तिम्रो यादहरूले घेरिरहन्छ। त्यो पहिलो चोटि तिम्रो नाम लिँदा आएको मुस्कान, त्यो पहिलो चोटि तिमीले आँखा जुधाएर बोलेको कुरा, त्यो पहिलो चोटि तिमीलाई अँगालो हाल्दा महसुस गरेको न्यानोपन—सबै अहिले हृदयभरि घोचिरहेका छन्।
रातभरि निद्रा लाग्दैन, आँसु आफैं खसिरहन्छ। कति पटक आफूलाई सम्झाएँ—तर मन त आफैंले मान्दैन। आफैंलाई कमजोर बनाउन चाहन्नथेँ, त्यसैले जबरजस्ती आफैंलाई कठोर बनाएँ। आफैंलाई माया गर्न सिकेँ, आफैंलाई सम्झाउन थालेँ—!
तर भित्रभित्रै म टुक्रिएको छु, छियाछिया भएको छु। एकपल्ट जिन्दगीमा साँचो माया गरेको मान्छेलाई आफैंलाई जबरजस्ती भुल्नुपर्ने पीडा सायद शब्दले बयान गर्न सकिन्न। मुस्कुराउँछु, हाँस्ने कोसिस गर्छु, तर भित्रभित्रै म रुन्छु, दिनदिनै म मर्दैछु।
किन यस्तो भयो? किन जिन्दगी यति कठोर बन्यो? तिमी बिना बाँच्नुपर्छ भन्ने सोच्दा नै मुटु जल्छ। तिमीले पनि कहिल्यै मलाई सम्झन्छ्यौ कि छैनौ? तिमीलाई पनि मेरो याद आउँछ कि आएन? थाहा छैन, तर म यहाँ एक्लै तिम्रा यादहरूसंग संघर्ष गरिरहेको छु।
र पनि, यो मन बुझाउनुपर्छ। समयले बिस्तारै सबै निको पार्छ भन्छन्, तर तिमी बिना बित्ने हरेक क्षण, हरेक रात मलाई चिथोरिरहेछ। तिमी मेरो जिन्दगीको एउटा अधुरो कथा भएर बाँकी रह्यौ।
तिमीलाई भुल्न बाध्य भएँ, तर यो मनले अझै तिमीलाई माया गर्न छोडेको छैन। 💔