25/09/2025
सिंहदरबारमा २०१४ साल भदौ महिनामा भैरहेको मन्त्रिपरिषदको बैठकमा दौरा सुरुवाल र कोट लगाएर सहभागी तत्कालीन शिक्षा तथा स्वायत्त मन्त्री महाकवि लक्ष्मीप्रसाद देवकोटा लाई निकै गर्मी भएछ, उनले कोट खोलेर मेचमा झुण्ड्याए। बैठक सकियो, अरु मन्त्रीसँगै उनी पनि आफ्नो मन्त्रालय कार्यकक्षमा गए।
काम सकेर बेलुका घर फर्कने बेला भएपछि सदाझैं कोट लगाउन खोजे- कोट त गायब। यताउति हेरे, कतै छैन। सहयोगीलाई सोधे– ए भाइ, खोइ मेरो कोट?
जवाफ- क्याबिनेटमा जाँदा तपाइँ कोट लगाएर जानु भएको थियो, फर्कंदा नलगाई आउनुभयो।
सहयोगीको कुरा सुनेपछि उन्ले सम्झिहाले र भने, ओहो धेरै गर्मी भएकाले कोट खोलें र मेचमा झुण्ड्याएर बसेको थिएँ । त्यहीं बिर्सिएछु । जाऊ जाऊ त्यति ल्याइदेऊ ।
निकै समय लगाएर शिक्षामन्त्रीको कार्यकक्षमा फर्किएको सहायकको हात रित्तै थियो । देवकोटाले सोधे– खोइ त मेरो कोट ? सहायकले जवाफ दियो– सबैतिर खोजी गरें, कहींकतै भेटिएन । त्यहाँको हाकिमले पनि कोटको खोजतलास गर्नुभयो तर पाइएन । देवकोटा त्यहीं धुरुधुरु रुन थाले । वरिपरि भएका कर्मचारी अक्क न बक्क बने । मन्त्री घुँक्कघुँक्क गरिरहेछन् ।
निकै समयपछि एउटा कर्मचारीले मुख फोर्यो– मन्त्रीज्यू, एउटा कोट हरायो त हरायो, के रुनु भएको ? नयाँ कोट किन्न तपाइँलाई गाह्रो छ र सक्नुहुन्न भने बरु हामी कर्मचारी मिलेर कोट किनी ल्याइदिन्छौं ! उसका कुरा सुनेपछि आफ्ना ठूलाठूला आँखा पल्टाउँदै देवकोटाले दिक्क भावमा भने, ‘तिमीले ठान्यौ म लोभले रोएको हुँ तर मूर्ख निजामती हो, कुरो त्यसो होइन । मेरो भक्कानो फुटेको कारण यो देशमा क्याबिनेटबाट मन्त्रीको कोट त चोरी हुन्छ भने यो देशका कर्मचारीहरुले जनताका के कुरा बाँकी राख्लान् ? म रुनुको कारण यो हो !!!!!