28/05/2026
पत्रकार चिन्तामणि कँडेलमाथि कुटपिट; महासंघ सुर्खेतद्वारा कारबाहीको माग
सुर्खेत, १४ जेठ ।
दर्शन खबर डटकमका सम्पादक पत्रकार चिन्तामणि कँडेलमाथि भएको कुटपिट, दुर्व्यवहार र धम्कीपूर्ण व्यवहारप्रति नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
यही जेठ १२ गते वीरेन्द्रनगर–५ स्थित आफ्नै घरअगाडि सडक निर्माणका क्रममा नगरपालिकाको मापदण्ड विपरीत कार्य भइरहेको विषयमा प्रश्न उठाउँदा निर्माण व्यवसायी सुरज थापाले पत्रकार कँडेलमाथि कुटपिट गरेका हुन्। कुटपिटबाट पत्रकार कँडेलको देब्रे कानको जाली फुटेको चिकित्सकको रिपोर्टले पुष्टि गरेको छ। व्यवसायी थापाले पत्रकारिता छोड्न बाध्य पारिदिने भन्दै अमर्यादित र आपत्तिजनक अभिव्यक्ति समेत प्रयोग गरेका थिए।
महासंघका सचिव गोविन्द खत्रीद्वारा जारी प्रेस विज्ञप्तिमा सार्वजनिक सरोकारका विषयमा प्रश्न उठाउँदा हिंसा र धम्कीको शैली अपनाइनु प्रेस स्वतन्त्रता र मानव अधिकार विरोधी हर्कत भएको उल्लेख छ। महासंघले घटनामा संलग्न व्यक्तिमाथि अविलम्ब निष्पक्ष छानबिन गरी कानुनी कारबाही गर्न र पत्रकारको भौतिक सुरक्षाको प्रत्याभूत गराउन जोडदार माग गरेको छ।