15/06/2025
कबिता
छायाँभित्रको देवता
हे देवता,
तिमी त मौन साक्षी छौ होला
जहाँ मान्छेले
आफ्नै छायाँलाई चिन्दैन
र अरूको अँध्यारोलाई श्राप दिन्छ।
यदि तिमी कहीँ छौ भने
एक पटक मेरो सपनामा आएर भन्देउन
आमाको कोख भ्रम हो ।
के तिमीले देखेका छौ
एउटी आमाले रातभरि
भित्तामा टाँसिएको तिम्रो मूर्तिलाई हेरेर
आँसु बगाएको ।
आमाको माया भुलेको छोरा,
शासनको आडमा बाँच्ने न्याय ,
कि तिम्रो उपस्थिति केवल चुप लागेर
हामीले पालेका भ्रमहरूमा छ?
यदि तिमीले सुन्न सक्छौ भने,
आज म तिमीलाई भन्न चाहन्छु
हामी सबै दोषी छौं।
आमा पनि, सन्तान पनि,
व्यक्ति पनि, समाज पनि,
म पनि, तिमी पनि ।
तर यति धेरै प्रश्नहरू भित्र
उत्तर दिन सक्ने हिम्मत
कसैसँग छैन।
म एउटा मन्दिरको शिखरमुनि उभिएको छु,
जहाँ मूर्ति छ
तर उत्तर छैन।
के तिमी त्यो मूर्तिको भित्र
बस्ने निःशब्द ईश्वर हौ,
जो हरेक दोष
नजिकैको मुखबाट सुनिरहन्छ
र आँखा झिम्काउँदैन?
म देख्छु
एकजना युवक,
क्यान्भासमा चित्र कोर्दैछ
तर अनुहार अधुरो छ।
उसको क्यान्भास पनि तिमी हौ
अस्पष्ट, अदृश्य, अपुरो चित्र पनि तिमी नै हौ ।
म प्रश्न गर्छु
के दोष जन्मिँदै आउँछ?
तिमी त उही मौन देवता हौ ।
जसको मन्दिरमा फूलहरू सुकिरहेका छन
धूपको धुवाईरहको छ,
तर बत्ती निभेको छ।
तिमी किन चुप रहन्छौ ?
जब पीडाले टुटेका सपना
मेरो आँखामा झुल्किन्छन
के तिमी पनि निर्दोष छौ?
वा तिमीले नै लेखेका हौ
यी नियतिहरू, जसले मन जलाउँछन?
तिमी उत्तर किन दिँदैनौ?
के तिमी अज्ञानी हौ ?
कि तिमी नै मौनतामा गुम्सिएका प्रश्न हौ?
तिमी उत्तर किन दिँदैनौ?
कसैले सोध्दैन तिमीलाई
किनकि
हामी सबैलाई उत्तर नचाहिने भइसकेको छ,
केवल दोष दिने कथा चाहिएको छ।
हे देवता,
तिमीलाई कुनै दिन
कहाँ छौ भनेर प्रश्न गर्दा,
के तिमी आफ्नो छायाँ देखाएर भन्छौ
हामी सबैको दोष म हुूँ?
मन्दिरको भित्तामा झुण्डिएको तिमी
हाम्रो विवशता हौ,
हाम्रो प्रश्नहरू हौ,
हाम्रो आफ्नै आत्माको चिच्याहट हौ।
तर तिमी सुन्दैनौ।
किनकि तिमी हामीले बनाएका देवता हौ,
हामीले आफैंलाई नछुने बहानाका मूर्ति हौ।
र हामी सबै नाटकका पात्र,
जहाँ छायाँले मात्र प्रश्न गर्छ
र उज्यालो उत्तर दिन डराउँछ।
जसरी हामीले देवता बनायौं,
उस्तै मौन बनायौं।
उत्तरभन्दा सजिलो रहेछ
मौन मूर्ति बनाउन ।
दिप्त प्रकाश अधिकारी
२०८२ जेष्ठ ३१ रोज ७ शुभम्