09/08/2025
जनै सम्बन्धी केही जानकारी :-
--------------
१) सबैको जनजिब्रोमा जनै भनिए पनि यसको वैदिक नाम यज्ञोपवीत, ब्रह्मसूत्र र पवित्रसूत्र हो,
२)जनै सम्बन्धी विशेष जानकारी तैत्तरीय ब्राह्मण ग्रन्थ ( ३.१०.९.१२ ) मा पाइन्छ,
३) जनै लगाउनेलाई तागाधारी, द्विजाति वा द्विजजाति भनिन्छ, तागाधारी भन्नाले ब्राह्मण, क्षत्री र वैश्यलाई जनाउँछ,
४) ब्राह्मण र वैश्यले नरङ्गाएको सेतो जनै र क्षत्रीले सुनको प्रतीक मानेर रङ्गाएको पहेंलो जनै लगाउने प्रचलन छ,
५) व्रतबन्ध संस्कार गर्दा ब्राह्यण बालकको हकमा कपासको धागोबाट बनाएको जनै, क्षत्रिय बालकको हकमा सन ( पाट ) को धागोबाट बनाएको जनै र वैश्य बालकको हकमा ऊनको धागोबाट बनाएको जनै लगाउने शास्त्रीय मान्यता भए पनि आजकाल सबैले कपासकै धागोबाट बनाएको जनै लगाउने प्रचलन रहेको छ,
६) हरेक ३/३ महिनामा नयाँ जनै फेर्नु पर्छ, कसै - कसैले ४/४ महिनामा नयाँ जनै पर्छ भनेको पनि पाइन्छ, तर त्यसो नभएर ३/३ महिनामा फेर्ने मान्यता रहेको छ,
७) नयाँ जनै फेरेपछि पुरानो जनै माथिबाट अर्थात् टाउको तिरबाट झिक्नु पर्छ
८)जनै पूर्णिमा, प्रत्येक पितृकार्य अर्थात् श्राद्धमा, जुठो सूतक पर्दा र मलामी जाँदाको अवसरमा नयाँ जनै फेर्नु पर्छ,
९) जनै बनाउँदा प्रत्येक एक्ले जनैमा ५ वटा शिखा हुन्छन् - एउटा गाैमुखे शिखा र ४ वटा साधारण शिखा, २ वटा एक्ले जनै मिलाएर बल्ल एउटा जनै अर्थात् एकजोर जनै तयार हुन्छ,
१०) काँचो धागो सङ्लँदा ४ अङ्गुलको पत्तामा ९६ पटक एकसरो बेर्ने, फेरि त्यही धागोलाई नचुँडालीकन दोस्रो ९६ पटक नै बेर्ने र अनि फेरि तेस्रो ९६ पटक नै बेरेपछि मात्र धागो चुँडाल्न पाइन्छ, यदि बीचमा धागो चुँडियो भने गाँठो पार्नु हुँदैन, गाँठो पारेको धागोको जनै अशुद्ध हुन्छ, त्यसरी धागो चुँडिन गएमा चुँडिएको धागोको दुबै टुप्पोलाई एक आपसमा मिलाएर बाटेर सिङ्गो धागोको रूप दिनु पर्छ ।
११) जनै तागाधारीको पहिचान, संस्कार र संस्कृति हो, आफूले लगाउने जनै आफैंले बनाएर लगाउनु पर्छ । व्यापारिक प्रयोजनको लागि बनाइएका जनैमा शुद्धता हुँदैन, त्यसैले किनेर लगाएको जनैमा शुद्धता हुँदैन, शुद्धता नभएको जनै लगाउनु नलगाए बराबरै हो ।
संकलन- भीमलाल लामिछाने