05/09/2025
बन्दीपुर बजार क्षेत्र प्लास्टिक झोलामुक्त घोषणा
तनहुँ । बन्दीपुर गाउँपालिकाले शुक्रबार आयोजित एक विशेष समारोहका बीच बन्दीपुर बजार क्षेत्रलाई प्लास्टिक झोलामुक्त क्षेत्र घोषणा गरेको छ।
गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख, प्रतिनिधि संस्थाका प्रतिनिधि तथा गाउँपालिकाका वडाध्यक्षहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा पर्यटनविद् भरत बस्नेतले प्लास्टिकको जथाभावी प्रयोगले मानव जीवन मात्र नभई विभिन्न जीवजन्तु, जनावर र जलचरमा समेत प्रतिकूल असर पारेको बताउँदै बन्दीपुरलाई जोगाउन दुईवटा पक्षमा ध्यान दिनुपर्ने सुझाव दिएका छन्। उनले बन्दीपुर वरपर पुराना शैलीका घरहरूमा भवन आचारसंहिता पालना गर्दै निर्माण गर्नुपर्नेमा जोड दिएका थिए। यस्तै पालिकामा प्लास्टिकजन्य सामग्रीमुक्त बनाउनु पर्ने समेत बताएका थिए।
कार्यक्रममा गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले प्लास्टिक प्रयोग नियन्त्रणको सुरुवात बन्दीपुर बजारबाट गरिएको भए पनि यसलाई बिस्तारै गाउँपालिकाभर लागू गरिने उल्लेख गरे। उनले भने, “प्लास्टिकको प्रयोगले हाम्रो स्वास्थ्य मात्र होइन, पर्यावरण, पर्यटन र भविष्यको पुस्तालाई समेत असर पुर्याइरहेको छ। बन्दीपुरलाई सौन्दर्य, संस्कृति र स्वच्छ वातावरणको नमुना बनाउन हामी सबैले यो अभियानलाई आत्मसात् गर्नुपर्छ। सुरुवात बजार क्षेत्रबाट भएको हो, तर यसलाई वडावडामा विस्तार गर्दै गाउँपालिकाभर लागू गर्ने हाम्रो प्रतिबद्धता छ। यसका लागि स्थानीय बासिन्दा, संघसंस्था, व्यवसायी र पर्यटक सबैको सहयोग अपरिहार्य हुनेछ।”
समापन सत्रमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर केसीले औपचारिक घोषणा गरेका थिए।
कार्यक्रमको सञ्चालन सुरोज भट्टराईले गरेका थिए।