22/03/2025
उर्लाबारी बाणिज्य संघ द्वारा सहुलियत दरमा आगो निभाउने उपकरण बिक्रि ।
उर्लाबारी / उर्लाबारी उद्योग वाणिज्य संघले आगो निभाउने उपकरण (फायर इक्सटिज्युसर) सहुलियत दरमा वितरण सुरु गरेको छ ।
एक कार्यक्रमका बीच नगर प्रमुख गंगाप्रसाद खरेलले वितरण शुभारम्भ गर्नुभयो । नगर प्रमुख खरेलले पनि आफ्नो घरका लागि सो उपकरण खरिद गर्नुभएको छ । कार्यक्रममा बोल्दै उहाँले आगो निभाउने उपकरण उद्योगी तथा ब्यवसायीलाई मात्र नभई प्रत्येक घरहरुमा राख्न आवश्यक रहेको बताउनुभयो । उहाँले आगलागीका घटना हुन साथ यो उपकरणको सहायताले आगोलाई नियन्त्रण गर्न सकिने बताउनुभयो । आवासीय आगलागीबाट जोगिनका लागि पुर्व सावधानी जरुरी भएको उहाँको भनाई थियो ।
उहाँले भन्नुभयो – आगलागीको बारेमा सामान्य जानकारी राख्यौ र पूर्व तयारी गर्यौ भने आगलागीबाट बच्न सकिन्छ । आगलागी भई हालेमा यसबाट हुने क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ । यसअघि वाणिज्य संघ परिसरमै नगर प्रहरी प्रमुख याम कार्कीले सो उपकरणको प्रयोगको तरिका प्रस्तुत गर्नुभएको थियो ।
वाणिज्य संघले २ केजी, ४ केजी, ६ केजी र ९ केजी क्षमताका सिलिन्डरहरू सहुलियत दरमा विक्री गरिरहेको संघका अध्यक्ष तारामान सिरेङले जानकारी दिनुभयो । खरिद गरिएका सिलिन्डर निःशुल्क पुनः भरिदिने व्यवस्था मिलाएको उहाँको भनाई छ । २ केजी सिलिन्डरको १ हजार ७ सय , ४ केजी सिलिन्डरको १ हजार ९ सय, ६ केजी सिलिन्डरको २ हजार १ सय र ९ केजी सिलिन्डरको २ हजार ८ सय रुपैयाँ तोकिएको छ ।
आगो निभाउने उपकरण खरिद गर्ने व्यक्तिहरूले उर्लाबारी–५ स्थित संघको कार्यालयमा सम्पर्क गर्नुपर्ने संघका महासचिव सम्झना खतिवडा आचार्यले जानकारी दिनुभयो ।
यसअघि उर्लाबारी उद्योग वाणिज्य संघले सफलतापूर्वक उर्लाबारी महोत्सव आयोजना गरेको थियो । आगो निभाउने उपकरण रिफिल गर्ने मेसिन खरिदका लागि महोत्सव लगाइएको थियो । उक्त मेसिन खरिद गर्ने प्रक्रिया अघि बढिसकेको र चाँडै ल्याइने बताइएको छ । कार्यक्रममा उर्लाबारी नगर उपप्रमुख मीना खतिवढा पौडेलको पनि आतिथ्यता रहेको थियो ।