
15/02/2025
हमासद्वारा थप तीनजना इजरेली बन्धक मुक्त, बदलामा ३६९ प्यालेस्टिनी बन्दी छुट्दै
इजरेली बन्धक तस्बिर स्रोत,Reuters
तस्बिरको क्याप्शन,युद्धविराम सम्झौता भएयता छैटौँ पटकको बन्धकहरू मुक्त भएका छन्
१५ फेब्रुवरी २०२५, १४:०३ +०५४५
३ घण्टा पहिले अद्यावधिक
हमासले शनिवार थप तीनजना इजरेली बन्धक मुक्त गरेको छ। त्यसको बदलामा इजरेली जेलहरूमा रहेका ३६० भन्दा धेरै प्यालेस्टिनी बन्दीहरू छुट्दैछन्।
मुक्त भएका बन्धकहरू अलेक्जेन्डर ट्रुफनोभ, याएर होर्न र सागी डेकल-खेन छन्। ती पुरुषहरू गत सात रिहा गरिएका बन्धकहरूजस्तो कमजोर देखिएका थिएनन्।
गाजाको दक्षिणमा पर्ने खान युनिस सहरमा रेडक्रसलाई बन्धक हस्तान्तरण गर्न तयार पारिएको मञ्च वरपर बिहानैदेखि हमास र अन्य प्यालेस्टिनी समूहका लडाकुहरू भेला भएका थिए।
ज्यानुअरी १९ मा हमास र इजरेलबीच युद्धविराम सम्झौता भएयताको यो छैटौँ पटकको बन्धक रिहा हो।
गाजामा बन्धकहरू मुक्त गरिँदैगर्दा इजरेलको तेल अभिभस्थित होस्टेज स्क्वायरमा मानिसहरू जम्मा भएर उक्त प्रक्रिया हेरेका थिए। बन्धकहरू रेडक्रसलाई हस्तान्तरण गरिएपछि उनीहरू खुसीले चिच्याएका थिए।
हमासबाट १३८ जना छुटिसक्दा विपिन जोशी नछुट्नु नेपालको कूटनीतिक कमजोरी हो?
'गाजामा ट्रम्पले भने जस्तो हुँदैन': तर उनको घोषणाबाट कस्तो प्रभाव पर्ला
यसअघि गत सोमवार हमासले इजरेललाई युद्धविरामका सर्त उल्लङ्घन गरेको भन्दै बन्धक रिहा नगर्ने जनाएपछि युद्धविराम भङ्ग हुने चिन्ता उत्पन्न भएको थियो।
जसको जवाफ दिने क्रममा इजरेलले समयमै बन्धक मुक्त नभए गाजामा बमबारि सुरु गर्ने बताएको थियो।
शनिवार बन्धक मुक्त गरेसँगै हमासले जारी गरेको एक विज्ञप्तिमा गाजामा रहेका बन्धकहरू मुक्त गर्न "वार्ता र युद्धविराम सम्झौताका पालना बाहेक"का अन्य उपाय नरहेको जनाएको छ।
इजरेली प्रधानमन्त्रीको कार्यालयले समेत हिब्रु भाषामा विज्ञप्ति जारी गर्दै आज भएको बन्धक रिहाको स्वागत गरेको छ।
हमासले यस साता "सम्झौता उल्लङ्घन गर्ने प्रयास गरेको" भन्दै सो विज्ञप्तिमा इजरेल सरकार अझै गाजामा रहेका बन्धक मुक्त गर्न अमेरिकासँग सहकार्य जारी राख्ने जनाएको छ।
छाडिएका बन्धक को हुन्?
अलेक्जेन्डर ट्रुफनोभ, याएर होर्न र सागी डेकल-खेन (बायाँबाट)तस्बिर स्रोत,Hostages and Missing Families Forum
तस्बिरको क्याप्शन,अलेक्जेन्डर ट्रुफनोभ, याएर होर्न र सागी डेकल-खेन (बायाँबाट)
शनिवार मुक्त भएका तीनैजना सन् २०२३ को अक्टोबर ७ मा हमासले गरेको हमलाका बेला बन्धक बनाएर गाजा पुर्याइएका थिए।
मुक्त भएर इजरेल फर्किसकेका उनीहरू सबै अन्य देशको नागरिकता समेत भएका इजरेली हुन्।
हाल २९ वर्षका अलेक्जेन्डर ट्रुफनोभ रुसी-इजरेली हुन्। प्यालेस्टिनी इस्लामिक जिहादको सैन्य दस्ताले शनिवार बिहान उनी आफू मुक्त हुने थाहा पाएको भिडिओ सार्वजनिक गरेको थियो। तर उक्त भिडिओ कहिले खिचिएको हो भन्ने प्रस्ट छैन।
त्यसैगरी याएर होर्न आर्जेन्टिनाको समेत नागरिकता भएका इजरेली हुन् भने सागी डेकल-खेन अमेरिकी नागरिक समेत हुन्।
होस्टेज स्क्वायरतस्बिर स्रोत,Reuters
झण्डै एक महिनाअघि पछिल्लो युद्धविराम सुरु भएयता हालसम्म हमासले १९ जना इजरेली र पाँचजना थाई बन्धकहरू मुक्त गरेको छ।
रेडक्रसका अनुसार यसबीचमा इजरेलले ७६६ जना प्यालेस्टिनी बन्धक रिहा गरेको छ।
इजरेल-गाजा युद्ध : शान्तिको मूल्य के हो?
२० डिसेम्बर २०२३