31/07/2025
थाइल्याण्डमा ‘आदर्श दिव्य दर्पण’ पहिलो शृङ्खला सम्पन्न
बैंकक, थाइल्याण्ड – साहित्य मन थाइल्याण्डको आयोजनामा यही जुलाई ३१, २०२५ (श्रावण १५, २०८२) मा ‘आदर्श दिव्य दर्पण’ नामक अनलाइन साहित्यिक कार्यक्रमको पहिलो शृङ्खला सफलतापूर्वक सम्पन्न भएको छ। यस कार्यक्रमले थाइल्याण्ड र नेपालका साहित्यप्रेमीहरूलाई एकै ठाउँमा जोडेको छ।
कार्यक्रममा चेतनाथ धमलाले प्रमुख अतिथिको रूपमा मन्तव्य दिनुभयो भने विशिष्ट अतिथि डा. कृष्णराज डी.सी.ले भारती वन्दना शीर्षकको कवितासहित मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा शिव घिमिरेले ‘याद’ शीर्षकको कविता, कविता उपाध्यायले २ वटा गजल, तुमला ढुङ्गानाले ‘तिमी लेख’ शीर्षकको कविता, शून्य नयनले ‘प्रमाण’ शीर्षकको कविता, दीपा रानाले ‘जिन्दगी आज छ भोलि त के हो के हो’ शीर्षकको कविता, विना ढकालले ‘घर छोडेथेँ म’ शीर्षकको कविता, भिमप्रसाद खनालले ‘यात्रा’ शीर्षकको कविता, राज पौडेलले ‘देशको सुख किन्ने रहर’ शीर्षकको कविता र रविचन्द्र अधिकारीले गजल प्रस्तुत गर्नुभयो।
साहित्य मन थाइल्याण्डका अध्यक्ष ओमप्रकाश न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव दीपा रानाले गर्नुभएको थियो ।
कार्यक्रममा थाइल्याण्ड र नेपालबाट साहित्यकार तथा साहित्यप्रेमीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रममा वक्ताहरूले विदेशमा रहेका नेपालीहरूलाई आफ्नो भाषा, साहित्य र संस्कृतिसँग जोड्न महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभएको थियो ।
थाइल्याण्डको समय अनुसार बेलुकी ८ बजेबाट सुरु भएको कार्यक्रम २ घण्टासम्म चलेको थियो । साहित्य मन थाइल्याण्डको फेसबुकमार्फत कार्यक्रम लाइभ गरिएको थियो । कार्यक्रमको सफल पार्न सहयोग गर्ने सम्पूर्ण अतिथि, रचना वाचक र सहभागीहरूलाई आयोजकले धन्यवाद ज्ञापन गरेको छ।