01/14/2026
एघारौँ राष्ट्रिय योग दिवसको अवसरमा त्रिवेणी माध्यमिक विद्यालय कटारीमा पाँच दिने योग प्रशिक्षण कार्यक्रम सम्पन्न
कटारी /एघारौँ राष्ट्रिय योग दिवसको अवसरमा “स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग” भन्ने मूल नाराका साथ त्रिवेणी माध्यमिक विद्यालय, कटारीको आयोजनामा पाँच दिने योग प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। विद्यालय परिसरमा सञ्चालन गरिएको उक्त कार्यक्रमले विद्यार्थीहरूमा योगप्रति चासो बढाउनुका साथै शारीरिक तथा मानसिक स्वास्थ्यप्रति सचेतना फैलाएको आयोजकले जनाएको छ।
पाँच दिनसम्म सञ्चालन भएको यस योग प्रशिक्षण कार्यक्रममा पतञ्जली योग केन्द्रीय समितिका राष्ट्रिय प्रशिक्षक अजिता बास्ताकोटीका तथा युवा नेपाल समितिका राष्ट्रिय प्रशिक्षक नवराज खत्रीले प्रशिक्षण प्रदान गर्नुभएको थियो। प्रशिक्षणका क्रममा प्रशिक्षकहरुले योगका आधारभूत आसन, प्राणायाम, ध्यान विधि तथा योगको वैज्ञानिक र व्यवहारिक महत्वबारे विद्यार्थीहरूलाई जानकारी दिनुभएको थियो।
कार्यक्रममा त्रिवेणी माध्यमिक विद्यालयका विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विभिन्न कक्षाका विद्यार्थीहरू उत्साहका साथ प्रशिक्षणमा सहभागी भएका थिए। योग अभ्यासपछि विद्यार्थीहरूले आफूहरूमा आत्मविश्वास बढेको, मन शान्त भएको र पढाइमा ध्यान केन्द्रित गर्न सहज भएको प्रतिक्रिया दिएका थिए।
पाँच दिने योग प्रशिक्षण कार्यक्रमको समापन समारोह कटारी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष भुपेन्द्र सिंह तामागंको सभापतित्व तथा पतञ्जली योग केन्द्रीय समितिका राष्ट्रिय प्रशिक्षक अजिता बास्ताकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
समापन कार्यक्रममा बोल्दै बास्ताकोटीले योगलाई केवल शारीरिक व्यायामको रूपमा मात्र नभई जीवनशैलीको अभिन्न अंगका रूपमा अपनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले बाल्यकालदेखि नै योग अभ्यास गर्ने बानी बसाल्न सके स्वस्थ, अनुशासित र सकारात्मक सोच भएका नागरिक तयार हुने बताउँदै विद्यालयस्तरमै यस्ता कार्यक्रम आवश्यक रहेको धारणा राख्नुभयो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक वालकृष्ण कार्कीले योग प्रशिक्षण कार्यक्रमले विद्यार्थीहरूको शारीरिक, मानसिक तथा नैतिक विकासमा महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्नुभयो। उहाँले विद्यालयले शैक्षिक गुणस्तरसँगै विद्यार्थीहरूको स्वास्थ्य र अनुशासनलाई समेत उत्तिकै प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
योग प्रशिक्षण कार्यक्रममा शिक्षक, कर्मचारी तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।