10/29/2025
2046 : सिंढीको मोडमा छुटेको उज्यालो
(वांग कर वाई को सिनेमा 'इन द मुड फर लभ 'को सम्झनामा)
सानो थियो
कोठा न 2046
तर त्यो नम्बर भित्र
एउटा ठुलो मौनता त्यसरी थिचिएर बसेको थियो,
जसरी पुरानो मन्दिरको काठे दरबारमा
कसैले फुसफुसाएर छाडेको रहस्य
धूपको बास्ना संगै बाँचिरहन्छ।
जब तिमीले आफ्नो कोठाको ढोका उघारर्थेउ
झाउ सूंनको स्वर,
र क्यान्टोनिज गीतका शब्द
धेरै वर्ष अघिको प्रेम पत्र झैँ
हावामा फैलिंन्थे
र पर्खाल नाघेर आइपुग्थ्यो मेरो झ्याल सम्म।
ति बर्सादी दिनहरु थिए
हामी हिड्ने सिँढी चिप्लो थियो
कुनै दिन
सिढी ओर्लदै गर्दा
मेरो झ्यालबाट खसेको प्रकाशको किरण
तिम्रो गालामा अड्किएको देखेंको थिए ।
हरेक दिन
तिमी फर्किन्थ्यौ तातो बाफ निस्कदै गरेको डम्प्लिङको डब्बा लिएर
बाफसँगै एउटा गन्ध बग्थ्यो र मेरो मन भित्र छिरथ्यो
तिमी सधैँ सिँढी उकालो लाग्थ्यो,
म तल झर्थेँ—
हाम्रो भेट सधैं
सिँढीको मोडमा पुगेर अधुरो हुन्थ्यो।
त्यतिबेला भित्तामा घडी एकनासले चलिरहन्थ्यो
र त्यो समय, समय नभएर
कुनै गीतको सानो इन्टरल्युड जस्तो लाग्थ्यो
जुन आजकल पनि मौसम बेमौसम एउटा लूपझैँ चलिरहन्छ।
साच्चै
तिमी गएपछि,
कोठा,
सिँढी,
रेडियो,
र त्यो तिम्रो गालामा अड्किएको किरण
सबै यथास्थानमा रही रह्यो
केवल हामी हरायौं
हामी
जसले एकदिन सँगै हिँड्ने निधो गरेका थियौं
र, अचानक आ–आफ्नो सिँढीबाट
विलीन भयौं .
2046
अब कुनै साल रहेन
न त कुनै कोठा,
रहेको छ त केवल बर्षातको पानी
कसैको आँखामा अड्किएको उज्यालो
र
कहिल्यै विर्सनै नसकिएको प्रेम।