05/21/2025
चर्चित बरिष्ठ पत्रकार राजेन्द्र बानिया लेख्छन्: एउटा कानुन बनाउ, नेता कहिल्यै नमर्ने- जनता भक्काभक मर्ने
राजनीति यति घीन लाग्दो र नग्न हुन्छ भन्ने जान्न नेपालको राजनीति हेरे भो हैन ? तपाईँहरुले पदमा बस्दा केसम्म गर्नुभएन ? पजेरो चढ्नुभो, रातो पासपोर्ट बेच्नुभो। काठमाण्डौमा घर हुँदाहुँदै घर भाडा हसुर्नुभो । त्यतिले नपुगेर आफ्नै श्रीमती, सम्धि–सम्धिनी, प्रेमिका र साहु जीलाई टीकट बेच्नुभो । हामीले सहिरह्यौं ।
तपाईहरु त्यतिमा रोकिनुभएन । छोराछोरीका लागि विदेशी दुतावास गएर छात्रवृत्ति माग्नुभो, ठेकेदारलाई टिकट दिएर जग्गा माग्नुभो, विदेशीलाई सूचना दिएर डलर माग्नुभो । नेपालीलाई पैसाकै लोभमा भुटानी बनाएर बेच्न नागरिकतामै झेल गर्नुभो, झेल गर्नेलाई सत्ता टिकाउन जेलबाट बाहिर ल्याएर मुद्धा नचलाउने निर्णय गर्नुभो । गर्नु पनि कत्ति गर्नुहुन्छ हौ?
कोरोनाको खोप खानुभो, पन्जाले मुख छोप्नुभो अनि रेम्डिसिभिर प्रेसरको औषधि भनेर खानुभो ।
मेलम्ची र चिलिमेका महंगा गाडी आफै चढ्नुभो । परिवारलाई सेतो नम्बर प्लेटका गाडी रातो बनाएर चढाउनुमात्र भएन , पच पार्नुभो । हामीले सहिरह्यौं ।
विदेश भ्रमणमा आफूले मात्र डलर हर्सुनुभएन, सोझा नेपालीसँग पैसा लिएर उतै लगेर छाडेर आउनुभो–हामीले मानव तस्कर भनेनौं ।
तपाईँले आफुलाई जसो गर्दा सजिलो हुन्छ, त्यस्तै गर्नुभयो । १३ दिने मन्त्रीले पनि पूर्व मन्त्रीको सुबिधा लिइरहे, हामी चुप लाग्यौं। हुन पनि लुतो न कन्याइ ?अब तपाईँलाई आजीवन सेवा सुबिधा दिने कानुन बनाउने रे , बनाउनुस् बनाउनुस् । बरु आजीवनमात्र गर्दा तपाईँहरुको उमेरले गर्दा तपाईँहरु धेरै बाँच्नुहुन्न। त्यसैले तपाईँहरु कहिल्यै नमर्ने र नेपाली जनता भक्काभक मर्ने कानुन बनाउनुस् ।