27/07/2026
एकछिनका लागि आँखा चिम्लिनुहोस्…
याद गर्नुस् त—
तपाईंको गाउँ वा सहरको सार्वजनिक पुस्तकालय(लाईब्रेरी) कहाँ छ?
याद आयो?
अब अर्को प्रश्न…
तपाईं अन्तिम पटक नेपालको सार्वजनिक पुस्तकालय(लाईब्रेरी) कहिले जानुभएको थियो?
सायद धेरैलाई सम्झनै गाह्रो पर्ला।
किनकि हामीकहाँ लाईब्रेरी भनेको अझै पनि किताब थुपारेर राख्ने एउटा कोठा हो भन्ने सोच धेरै ठाउँमा बाँकी छ। तर लाईब्रेरीको परिभाषा बदलिसकेको छ।
आजको आधुनिक सार्वजनिक पुस्तकालय किताब मात्रै पढ्ने ठाउँ होइन। यो एउटा समुदायको धड्कन हो।
जहाँ बालबालिकाले कथा सुन्छन्।
जहाँ विद्यार्थीले भविष्यको सपना कोर्छन्।
जहाँ युवाले नयाँ सीप सिक्छन्।
जहाँ ज्येष्ठ नागरिकले अनुभव बाँड्छन्।
जहाँ लेखक, कलाकार, उद्यमी, शिक्षक र नागरिक एउटै छानामुनि भेटिन्छन्।
जहाँ सरकारी सेवादेखि प्रविधि, रोजगारी, भाषा, कला र जीवन उपयोगी जानकारी सबैका लागि खुला हुन्छ।
म अमेरिकाको भर्जिनिया राज्यमा सार्वजनिक पुस्तकालयमा काम गर्न थालेको ८ वर्ष भयो।
हरेक दिन मेरो पुस्तकालयमा करिब १,००० भन्दा बढी मानिस आउँछन्। हजारौँ पुस्तकहरू घर लैजान्छन्। सयौँ बालबालिका, किशोरकिशोरी र वयस्कहरू निःशुल्क कार्यक्रम, तालिम, कथा सत्र, प्रविधि कक्षा, लेखकसँग भेटघाट र सामुदायिक छलफलमा सहभागी हुन्छन्।
सबैभन्दा राम्रो कुरा के छ भने…
पुस्तकालय यहाँ सबैको हो, र निःशुल्क हो!
धनी वा गरिब।
बालबालिका वा ज्येष्ठ नागरिक।
स्थानीय वा आप्रवासी।
जुनसुकै भाषा बोल्ने।
जुनसुकै विचार राख्ने।
ढोका सबैका लागि बराबरी खुला हुन्छ।
अनि मनमा एउटै प्रश्न उठ्छ…
के नेपालका हरेक नगरपालिका वा गाउँपालिकामा पनि यस्तै जीवन्त सार्वजनिक पुस्तकालय(लाईब्रेरी) कल्पना गरेर बनाउन सकिन्छ?
हामीले सडक, पुल र भवन बनाइरहे जसरी
ज्ञानको पूर्वाधार कहिले बनाउने?
किनभने एउटा राम्रो सार्वजनिक पुस्तकालयले केवल पाठक बनाउँदैन—
यसले सोच्ने नागरिक बनाउँछ।
सबल समुदाय बनाउँछ।
र अन्ततः, राम्रो राष्ट्र निर्माण गर्छ।
के हामी नेपालमा यस्तै लाईब्रेरी निर्माणको कल्पना गर्न सक्छौं?