02/04/2025
पद्मराशिस्तूप वा बहुद्वारस्तूपको उत्पत्ति, महत्व तथा लाभ
भगवान् गौतम बुद्धको जन्म लगभग ४६३ ई.पू. मा नेपालको कपिलवस्तु निकट अत्यन्त रमणीय स्थल लुम्बिनी उद्यानमा भएको थियो । राजकुमार सिद्धार्थको जन्म हुँदा सारा जगत प्रकाशमान भएको थियो ।
यसरी सुन्दर नगरी कपिलवस्तुमा राजा शुद्धोदनले राज्य सञ्चालन गर्ने गर्दथे । त्यसबेला उक्त स्थानमा सबै प्रजाहरु सुखी र समृद्ध थिए । यसरी वैभवशाली राजा शुद्धोदनको विवाह पश्चात् पनि धेरै लामो समयसम्म सन्तान लाभ नभएपछि महारानी मायादेवीकी बहिनी प्रजापति गौतमीलाई समेत राजा शुद्धोदनले आफ्नी कान्छी महारानीको रुपमा ग्रहण गरेका थिए । यसरी सन्तानको आश गर्दागर्दै लगभग बाईस वर्ष बितेपछि महारानी मायादेवीको कोखबाट अत्यन्त सुन्दर बालकको जन्म भयो ।
साधारणतया स्त्रीहरुलाई प्रसुती पिडाले भयंकर सताउने गरेतापनि राजकुमार सिद्धार्थको जन्म हुँदा भने महामायादेवी दुःख र कष्ट झेल्नको साटो अत्यन्त हर्षित भई देवदह फर्किने क्रममा अतिनै मनमोहक लुम्बिनी उद्यानमा मधुर स्वरमा गीत गाउँदै यताउती टहली रहेका थिए । यत्तिकैमा महामायादेवीले एउटा विशेष साल वृक्षको हाँगामा समाउँदै शान्तिको अग्रनायक बोधिसत्व सिद्धार्थ गौतमलाई जन्म दिइन् ।
यसरी राजकुमार सिद्धार्थ जन्मदा सारा जगतमा एक प्रकारको दिव्य प्रकाश छाएको बारे सबैले एकैसाथ अनुभव गरेका थिए । स्त्री–पुरुष, के बालक के वृद्ध, को अपांग को सपांग, सबैले अत्यन्त सुखद क्षणको अनुभव गरेका थिए । शास्त्रहरुमा यस्तो पनि भनिएको छ कि, बोधिसत्व सिद्धार्थको जन्म हुँदा सबै प्रकारको प्रतिकुल अवस्थाहरु समेत अनुकुल र सहज बनेका थिए ।
यस्तो लाग्थ्यो कि सारा जगत जताततै खुशीले गदगद् हुँदै आफ्नो हर्षको अनुभवहरु सुरिलो भाका र नाचगान मार्फत् व्यक्त गर्दथे । आकाश, धर्ती, बादल, वर्षा, इन्द्रधनुष, खोलानाला, तालतलैया अनि सारा प्रकृति नै यस्तो देखिन्थ्यो कि वसन्त ऋतुको चरम आनन्दमा झुमीरहेको होस् । चराचुरुङ्गीको मधुर आवाज, झरनाका मनमोहक दृष्यहरु अनि पहाड पर्वतका दिव्य सुस्केराहरु सबैले मानौ बोधिसत्व सिद्धार्थको स्वागतमा मंगलगान गाइरहेका जस्तो भान हुन्थ्यो । यस्तो खुसीको क्षणमा सबै प्रजाहरु खुसीले हर्षोल्लासका साथ झुमीरहेका बेला राजा शुद्धोदनको कानमा बोधिसत्व सिद्धार्थको जन्म भयो भन्ने खुसीको खबर पुग्यो ।
यस्तो खुसीको खबर सुन्ने बित्तीक्कै राजा शुद्धोदन यति खुसी भए कि उसको खुसीको कुनै सिमा रहेन । यस्तो खुसीको अवसरमा हर्षोल्लासका साथ राजकुमारको जन्मोत्सव मनाउन राजाले सबै प्रजाहरुलाई सार्वजनिक बिदा दिनुका साथै अनेक पकवान, वस्त्र र व्यञ्जनहरुबाट तृप्त पारेका थिए । कहिल्यै नसुनेका दिव्य धुन गुञ्जिनु, इन्द्रधनुष देखा पर्नु, हल्का वर्षा हुनु, शितल पवनको स्पर्श अनुभव हुनु र दिव्य पुष्प वृष्टि हुनु जस्ता मनमोहक दृष्यहरुबाट सबै प्रजाहरु अचम्मित भएका थिए । सूत्रमा बताए अनुसार धर्ती माताले समेत बोधिसत्व सिद्धार्थको जन्म हुँदा त्यस सुखद क्षणलाई थाम्न नसकी तीन पल्टसम्म फरक फरक तवरमा धर्ती कम्पित भएका थिए ।
यसरी बत्तीस लक्षण र असी अनुव्यञ्जनले युक्त अत्यन्त मनमोहक, आकर्षक, दिव्य तथा सुन्दर बालक सिद्धार्थ गौतम जन्मेको सुखद उपलक्ष्यमा राजा शुद्धोदनले एउटा विशेष प्रकारको स्तूप निर्माण गर्न लगाएका थिए । उक्त स्तूपलाई देव तथा मनुष्यहरुले पहिलो पटक बहुद्वार वा पद्मराशि (टासी गोमाङ, पेपुङ छ्योर्तेन) को रुपमा निर्माण गरेका थिए । उक्त पद्मराशिस्तूप नै आठ स्तूपहरु मध्ये प्रथम स्तूपको रुपमा हिमाली भेग लगायत मंगोलिया, तिब्बत, चीन, नेपाल तथा भारतको उत्तरी भेगहरुमा प्रसिद्ध हँुदै आइरहेका छन् ।
कुनै पनि तथागत स्तूपको परिक्रमा (कोरा) गर्नाले मानवले शरीर तथा वचनद्वारा संचित गरिएका सबै खाले पापहरु शोधन भएर जानेछ । त्यो कसरी त भन्दा, स्तूप वा चैत्य भन्ने शब्द पाली भाषाको ‘चेते’ भन्ने शब्दबाट विकसित भएको बुझिन्छ । पाली भाषामा ‘चेते’को अर्थ चित्त वा मन भन्ने बुझिन्छ । यसले के बुझाउँदछ त भन्दा चैत्य अर्थात् स्तूप नै सबै बुद्ध तथा बोधिसत्वहरुकै मनको स्वभावको रुपमा रहेकाले स्तूप वा चैत्यको परिक्रमा (कोरा) गर्नाले पूर्वकृत सबै पापहरु नाश भएर मृत्युपछि सुगतिमा जन्मनुका साथै सात प्रकारका स्वर्गीय गुणले समेत युक्त हुनेछ ।
तसर्थ, स्तूपको प्रदक्षिणा (कोरा), वन्दना, स्तूति तथा पूजन गर्नाले अपार पुण्य लाभ गर्ने कुरामा कुनै शंका छैन । छ्योर्तेनको कोरा गर्नाले सकारात्मक उर्जा प्राप्त गर्नाका साथै शारीरिक व्यायाम (जीउको तालिम) त हुन्छ नै त्यो भन्दा पनि अधिक अध्यात्मिक रुपमा यसबाट मानवले अपार पुण्य लाभ गरिरहेको हुन्छ ।
टीका शेर्पा (थुप्तेन काल्साङ)