12/12/2025
उषाको पहिलो घाम
रात लामो, अँध्यारो, र निस्तब्ध थियो
तर भित्र कतै टिमटिमाउँदै थियो
एउटा सानो आशाको दियो
थाकेका सपनाहरूको थालमा
टुटेका आकांक्षाहरूको गन्धमा
अनि भिजेका आँखाहरूको कुनामा
उषाको पहिलो घाम चुपचाप टपक्क टप्कियो
यो घाम
फरक थियो, अचम्मको थियो
न त त्यो घामले केवल शरीर ततायो
न त केवल ओठमा मुस्कान ल्यायो
त्यसले आत्मालाई जगायो
भित्रको मुर्दा आत्मालाई पुनः जिउँदो बनायो
उषाले भन्यो,
हेर
हिजोका आँसुहरूले आजको उज्यालो सम्भव बनाएका छन्
तिमीले बगाएका पसिनाका थोपा
अब सुन जस्तै चम्किनेछन्
र म,
आफ्नो च्यातिएको सपनाको कपडालाई सिउँदै
छिन्नभिन्न भएको आत्मालाई जोड्दै
फेरि उठ्न थालेँ
संसार जस्ताको तस्तै थियो
तर मेरो दृष्टि फेरिएको थियो
अहिले मलाई थाहा भयो
अन्धकार त केवल परीक्षा हो
र उज्यालो त्यसको पुरस्कार
उषाको पहिलो घामले सिकायो
धेरै चोट खाएर पनि
धेरै धोका भोगेर पनि
आफूलाई गुमाउन नहुने रहेछ
समय त परिवर्तनशिल हो
तर मनको बल, विश्वासको साहारा
र आशाको उज्यालो
ती अमर रहन्छन्
यदि तिमी आफैंसँग साँचो रह्यौ भने
त्यसैले
म अहिले पनि यात्रामा छु
पसलहरु बन्द हुँदा पनि
सपना साँच्दैछु
घरका आँगन सम्झँदैछु
माटोको गन्ध चुस्दैछु
र विश्वास गर्दैछु
उषाको पहिलो घाम मात्रै शुरुवात हो
अझ धेरै घामहरू बाँकी छन्
अझ धेरै जीवन बाँकी छ
जीवन कहिल्यै ढिलो हुँदैन
जहाँ बीउ पलाउँछ, त्यहीँ नयाँ जंगल हुर्कन्छ ।