14/06/2026
तेस्रो हिमालयन डायनामोज–बल्टी सकर प्रतियोगिता ४० प्लस सम्पन्न, भर्जिनिया राइनोज च्याम्पियन ।
ब्राम्टन , क्यानडा, जुन १२, २०२६ — नेपाली समुदायबीच खेलकुदको माध्यमबाट एकता, मित्रता र स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित तेस्रो हिमालयन डायनामोज–बल्टी सकर प्रतियोगिता ४० प्लस भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा क्यानडा तथा अमेरिकाका विभिन्न स्थानबाट आएका ८ वटा टोलीहरूको सहभागिता रहेको थियो।
प्रतियोगिताको उद्घाटन समारोहमा क्यानडाका लागि नेपालका राजदूत महामहिम भरतराज पौडेल, ब्राम्टन वेस्टका संघिय सांसद अमरजीत गिल तथा ब्र्याम्पटनका मेयर प्याट्रिक ब्राउन अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। उहाँहरूले खेलकुदले नेपाली समुदायलाई एकताबद्ध बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।
प्रतिस्पर्धात्मक खेलहरूपछि भर्जिनिया राइनोज प्रतियोगिताको उपाधि जित्न सफल भयो भने टीएनएससी टोरोन्टो उपविजेतामा सीमित रह्यो। विजेता टोलीले ५,००० डलर नगदसहित पदक प्राप्त गर्यो भने उपविजेता टोलीले २,५०० डलर नगदसहित पदक प्राप्त गर्यो।
व्यक्तिगत विधातर्फ विभिन्न खेलाडीहरू सम्मानित भएका छन्। उच्च गोलकर्ता पुरस्कार टीएनएससीका प्रकाश श्रेष्ठ र एडमन्टनका सुरेश गुरुङ ले समान ४–४ गोल गर्दै संयुक्त रूपमा प्राप्त गरे।
अन्य पुरस्कार विजेताहरू यस प्रकार रहेका छन्:
* उत्कृष्ट रक्षक (बेस्ट डिफेन्डर) – विज्ञान श्रेष्ठ (भर्जिनिया टोली)
*फेयर प्ले टिम अवार्ड: HRSC, Edmonton
* उत्कृष्ट मिडफिल्डर (बेस्ट मिडफिल्डर) – समीर गुरुङ (टीएनएससी रेड टोली)
* उत्कृष्ट गोलरक्षक (बेस्ट गोलकिपर) – राजु श्रेष्ठ (भर्जिनिया टोली)
* प्रतियोगिताकै उत्कृष्ट खेलाडी (प्लेयर अफ द टुर्नामेन्ट) – ज्याक्सन सुनार (भर्जिनिया टोली)
* फेयर प्ले अवार्ड – एडमन्टन टोलीका दिनेश लिम्बु ।
समापन समारोहमा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष गोपीकृष्ण काफ्ले तथा एनआरएनए क्यानडाका अध्यक्ष जगन सापकोटा ले संयुक्त रूपमा प्रमाणपत्र, पदक तथा पुरस्कार वितरण गर्नुभएको थियो।
कार्यक्रममा नेपाली समुदायका सयौं सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले प्रतियोगिताले खेल भावना, आपसी सद्भाव र नेपाली समुदायबीचको सम्बन्धलाई अझ सुदृढ बनाएको बताएका छन्।