18/06/2026
भारत–अमेरिका सम्बन्धको एशियामा बदलिँदो भू–राजनीतिक समीकरण
युगनाथ शर्मा पौडेल
विश्व राजनीतिमा स्थायी मित्र वा स्थायी शत्रु हुँदैनन्, स्थायी हुन्छन् केवल राष्ट्रिय हितहरू। उन्नाइसौं शताब्दीका बेलायती राजनीतिज्ञ लर्ड पाल्मर्स्टनको यो भनाइ आज पनि अन्तर्राष्ट्रिय सम्बन्धको सबैभन्दा यथार्थपरक व्याख्या मानिन्छ। वर्तमान विश्व व्यवस्थालाई हेर्दा यो सत्य अझ स्पष्ट रूपमा देख्न सकिन्छ। दोस्रो विश्वयुद्धपछि अमेरिकाले निर्माण गरेको विश्व व्यवस्था अहिले गम्भीर चुनौतीको सामना गरिरहेको छ। चीन आर्थिक तथा सैनिक शक्तिका रूपमा उदाउँदै छ, रूस पश्चिमी प्रतिबन्धका बाबजुद आफ्नो प्रभाव कायम राख्न संघर्षरत छ, भारत विश्वको सबैभन्दा ठूलो जनसंख्या भएको राष्ट्रका रूपमा नयाँ शक्ति केन्द्र बन्ने यात्रामा छ, र युरोप आफैं सुरक्षा तथा आर्थिक संकटका बीच नयाँ भूमिका खोजिरहेको छ। यस्तै संक्रमणकालीन अवस्थामा अमेरिका र भारतबीचको सम्बन्ध पनि नयाँ मोडमा पुगेको देखिन्छ। केही समयअघिसम्म “इन्डो–प्यासिफिक” अवधारणालाई भविष्यको विश्व रणनीतिको केन्द्र मान्ने विश्लेषकहरू आज त्यसै अवधारणाको भविष्यबारे प्रश्न उठाइरहेका छन्। के भारत र अमेरिकाको सम्बन्धमा दूरी बढ्दै छ ? के क्वाडको आधार कमजोर हुँदै गएको छ ? र के सार्कको जस्तै अवस्था कुनै दिन इन्डो–प्यासिफिक संरचनाले पनि भोग्नुपर्नेछ ? आजको बहस यही हो।
भारत स्वतन्त्र भएपछि उसको विदेश नीतिको आधार असंलग्नता रह्यो। पण्डित जवाहरलाल नेहरूले शीतयुद्धको समयमा अमेरिका वा सोभियत संघमध्ये कुनै एक पक्षमा उभिने नीति स्वीकार गरेनन्। उनले भारतलाई स्वतन्त्र निर्णय गर्ने राष्ट्रका रूपमा स्थापित गर्न खोजे। यही सोचबाट असंलग्न आन्दोलन जन्मियो। यद्यपि व्यवहारमा भारतको रक्षा तथा सामरिक सम्बन्ध सोभियत संघसँग बढी निकट रह्यो। पाकिस्तान अमेरिकाको सैन्य साझेदार बन्दै जाँदा भारतले मस्कोसँगको सम्बन्धलाई रणनीतिक आवश्यकता ठान्यो। सन् १९७१ को बंगलादेश युद्धमा सोभियत संघले भारतलाई दिएको समर्थनले त्यो सम्बन्धलाई अझ बलियो बनायो। यही कारण भारतको विदेश नीति सधैं “रणनीतिक स्वायत्तता” मा आधारित रह्यो। आज नरेन्द्र मोदीको सरकारले पनि फरक भाषामा त्यही नीति अगाडि बढाइरहेको छ। भारत अमेरिकासँग मित्रता बढाउँछ, तर रूससँग सम्बन्ध तोड्दैन; जापानसँग सहकार्य गर्छ, तर ब्रिक्समा चीनसँग पनि बस्छ; क्वाडमा सहभागी हुन्छ, तर एससीओको सदस्य पनि रहन्छ। यही बहुआयामिक नीति भारतको शक्ति पनि हो र चुनौती पनि।
अमेरिकाले सन् २०१७ पछि “इन्डो–प्यासिफिक” अवधारणालाई आफ्नो एशियाली रणनीतिको आधार बनायो। हिन्द महासागर र प्रशान्त महासागरलाई एउटै सुरक्षा क्षेत्रका रूपमा परिभाषित गर्दै चीनको प्रभावलाई सन्तुलन गर्ने योजना बनाइयो। यस अवधारणाको केन्द्रमा भारत थियो। अमेरिकी रणनीतिकारहरूको विश्वास थियो कि चीनको दीर्घकालीन उदयलाई रोक्न भारतभन्दा उपयुक्त साझेदार अर्को छैन। विशाल जनसंख्या, तीव्र आर्थिक वृद्धि, हिन्द महासागरमा महत्वपूर्ण भौगोलिक स्थान र लोकतान्त्रिक प्रणालीका कारण भारतलाई “प्राकृतिक साझेदार” को रूपमा प्रस्तुत गरियो। यही अवधारणालाई संस्थागत रूप दिन क्वाडलाई पुनर्जीवित गरियो। अमेरिका, भारत, जापान र अष्ट्रेलिया सम्मिलित यो समूहलाई चीनविरुद्धको रणनीतिक प्रतिरोधको रूपमा हेरियो। नयाँ दिल्लीमा धेरैले यसलाई भारत विश्व शक्ति बन्न लागेको संकेतका रूपमा व्याख्या गरे।
तर वास्तविकता यति सरल थिएन। अमेरिकाको अपेक्षा थियो कि भारत चीनविरुद्धको रणनीतिक मोर्चामा पूर्ण रूपमा उभिनेछ। भारतले भने त्यो बाटो रोजेन। गलवान झडपपछि चीनसँग तनाव बढे पनि भारतले आफ्नो सम्पूर्ण विदेश नीतिलाई चीनविरोधमा केन्द्रित गरेन। ब्रिक्समा चीनसँग सहकार्य जारी रह्यो। एससीओमा सक्रियता कायम रह्यो। रूसबाट अत्याधुनिक हतियार खरिद गर्ने नीति पनि परिवर्तन भएन। युक्रेन युद्धपछि पश्चिमी राष्ट्रहरूले रूसमाथि अभूतपूर्व प्रतिबन्ध लगाए, तर भारतले रूसी तेल खरिदलाई झन् बढायो। अमेरिकी दबाबका बाबजुद नयाँ दिल्लीले आफ्नो ऊर्जा सुरक्षा र राष्ट्रिय हितलाई प्राथमिकता दियो। यसले एउटा स्पष्ट सन्देश दियो—भारत अमेरिकाको साझेदार बन्न सक्छ, तर अमेरिकाको अनुयायी बन्न सक्दैन।
यही कारण वासिङ्टनका केही रणनीतिक वृत्तमा भारतप्रति निराशा बढ्न थालेको देखिन्छ। उनीहरूको दृष्टिमा भारत चीनविरुद्धको निर्णायक शक्ति बन्न इच्छुक छैन। अमेरिकी करदाताको पैसा, सैनिक सहयोग र कूटनीतिक समर्थन प्राप्त गर्ने तर निर्णायक समयमा अमेरिकी रणनीतिक उद्देश्यलाई पूर्ण समर्थन नगर्ने राष्ट्रका रूपमा भारतलाई चित्रण गर्ने प्रयास पनि कतिपय विश्लेषणमा देख्न सकिन्छ। विशेष गरी डोनाल्ड ट्रम्पको राजनीतिक दर्शन “अमेरिका फर्स्ट” ले बहुपक्षीय संरचनाभन्दा प्रत्यक्ष अमेरिकी हितलाई प्राथमिकता दिन्छ। ट्रम्पको दृष्टिमा प्रत्येक साझेदारीको मूल्यांकन आर्थिक र रणनीतिक लाभका आधारमा हुन्छ। यस्तो सोचले भविष्यमा भारत–अमेरिका सम्बन्धमा नयाँ तनाव उत्पन्न गर्न सक्छ।
यसै सन्दर्भमा इन्डो–प्यासिफिक अवधारणामाथि उठेको बहसले थप प्रश्न उठ्न थालेको छ। यदि अमेरिकाले वास्तवमै आफ्नो रणनीतिक प्राथमिकतालाई पुनर्परिभाषित गर्दै प्रशान्त क्षेत्रमा मात्र केन्द्रित हुने संकेत दिन थालेको हो भने यसको प्रत्यक्ष असर भारतमाथि पर्नेछ। “इन्डो” शब्द आफैं भारतको भू–राजनीतिक महत्वको प्रतीक थियो। त्यसैले यस सम्बन्धी कुनै पनि परिवर्तनलाई भारतमा संवेदनशील रूपमा हेरिनु स्वाभाविक हो। यद्यपि नीति निर्माताहरूले यस्ता संकेतलाई कहिलेकाहीँ सामान्य प्रशासनिक परिवर्तनका रूपमा व्याख्या गर्छन्, अन्तर्राष्ट्रिय राजनीतिमा प्रतीकहरूको महत्व अत्यन्त ठूलो हुन्छ। एउटा शब्दले पनि मित्रता, दूरी, प्राथमिकता वा उपेक्षाको सन्देश दिन सक्छ।
क्वाडको भविष्यबारे पनि अहिले गम्भीर बहस भइरहेको छ। क्वाड कुनै सैनिक गठबन्धन होइन, तर यसको वास्तविक उद्देश्य चीनको प्रभावलाई सन्तुलन गर्नु नै हो भन्ने बुझाइ व्यापक छ। यदि अमेरिका र भारतबीच रणनीतिक दृष्टिकोणमा अन्तर बढ्दै गयो भने क्वाडको प्रभावकारिता स्वतः कमजोर हुनेछ। जापान र अष्ट्रेलियाले अमेरिकासँगको सुरक्षा सम्बन्धलाई आफ्नो अस्तित्वसँग जोडेर हेर्छन्। भारतको दृष्टिकोण भने फरक छ। भारत आफ्नो निर्णय स्वतन्त्र रूपमा गर्न चाहन्छ। यही कारण क्वाडभित्र पनि भारत प्रायः सावधानीपूर्वक अगाडि बढेको देखिन्छ । यदि भविष्यमा अमेरिका र चीनबीच सम्बन्ध सुधार भयो वा वासिङ्टनले आफ्नो प्राथमिकता परिवर्तन गर्यो भने क्वाडको औचित्यमाथि प्रश्न उठ्न सक्छ। यो तत्काल विघटन नहोला, तर यसको राजनीतिक ऊर्जा कमजोर हुन सक्छ।
सार्कको अनुभव यहाँ सान्दर्भिक देखिन्छ। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन स्थापना हुँदा यसलाई दक्षिण एसियाको युरोपियन युनियन बनाउने सपना देखिएको थियो। तर भारत–पाकिस्तान द्वन्द्वले सार्कलाई कहिल्यै प्रभावकारी बन्न दिएन। विशेष गरी आतंकवादको मुद्दामा भारत र पाकिस्तानबीचको अविश्वास बढ्दै गएपछि सार्क लगभग निष्क्रिय अवस्थामा पुग्यो। भारतले आफ्नो ऊर्जा बिम्स्टेक र अन्य वैकल्पिक संरचनातर्फ केन्द्रित गर्यो। आज सार्क नाम मात्रको संस्था बनेको छ। यस घटनाले एउटा महत्वपूर्ण पाठ सिकाउँछ—कुनै पनि बहुपक्षीय संरचना त्यसमा सहभागी प्रमुख शक्तिहरूको साझा रणनीतिक दृष्टिकोण बिना टिक्न सक्दैन। यही पाठ क्वाड र इन्डो–प्यासिफिकमा पनि लागू हुन सक्छ।
भारतका लागि सबैभन्दा ठूलो सुरक्षा चुनौती केवल चीन होइन। पाकिस्तानबाट प्रेरित आतंकवाद, हिन्द महासागरको सुरक्षा, ऊर्जा आपूर्ति, सीमावर्ती स्थिरता र आर्थिक विकास पनि उत्तिकै महत्वपूर्ण विषय हुन्। चीनसँग प्रतिस्पर्धा भए पनि भारतले प्रत्यक्ष टकराव चाहँदैन। पाकिस्तानसँग शान्ति चाहन्छ, तर आतंकवाद स्वीकार गर्न सक्दैन। रूससँग मित्रता कायम राख्न चाहन्छ, किनभने भारतीय सेनाको ठूलो हिस्सा रूसी प्रविधिमा आधारित छ। यही कारण भारतको विदेश नीति बहुआयामिक छ। अमेरिकाले चाहेजस्तो स्पष्ट पक्ष रोज्ने सम्भावना कम छ। यही यथार्थ बुझ्न नसक्दा वासिङ्टन र नयाँ दिल्लीबीच बेलाबेला रणनीतिक असमझदारी देखिन्छ।
आज विश्व राजनीतिमा अर्को बहस सरकारी तहमा ( “G-2 G ”) को पनि छ। अमेरिका र चीनबीच प्रतिस्पर्धा तीव्र देखिए पनि केही विश्लेषकहरू दीर्घकालीन रूपमा दुई महाशक्तिबीच कुनै प्रकारको शक्ति–सन्तुलन वा सहअस्तित्वको समझदारी विकसित हुन सक्ने सम्भावना औंल्याउँछन्। यद्यपि यसको ठोस प्रमाण छैन, तर यदि भविष्यमा यस्तो अवस्था आयो भने भारत, जापान, अष्ट्रेलिया वा युरोपका धेरै देशहरूले आफ्नो रणनीति पुनर्विचार गर्नुपर्ने हुन सक्छ। इतिहासले देखाएको छ कि महाशक्तिहरूले आफ्ना राष्ट्रिय हितका लागि अप्रत्याशित सम्झौता गर्न सक्छन्। दोस्रो विश्वयुद्धदेखि शीतयुद्धसम्म यस्ता धेरै उदाहरण छन्। त्यसैले कुनै पनि राष्ट्रले आफ्नो सम्पूर्ण सुरक्षा रणनीति अर्को देशको प्रतिबद्धतामा आधारित गर्नु बुद्धिमानी हुँदैन।
भारतीय जनमानसमा पश्चिमी शक्तिप्रति रहेको ऐतिहासिक अविश्वास पनि यस बहसको एउटा पक्ष हो। दुई शताब्दीभन्दा बढी बेलायती औपनिवेशिक शासन भोगेको समाजले स्वतन्त्रता र आत्मनिर्णयलाई अत्यन्त महत्व दिन्छ। विन्सटन चर्चिलजस्ता नेताहरूले भारत र महात्मा गान्धीप्रति देखाएको घृणालाई भारतीय इतिहासले भुलेको छैन। यही कारण आज पनि कतिपय भारतीय विश्लेषकहरू पश्चिमी शक्तिहरूले भारतलाई बराबरीको साझेदारभन्दा बढी उपयोगी उपकरणका रूपमा हेर्ने गरेको आरोप लगाउँछन्। यो धारणा पूर्ण रूपमा सही हो वा होइन भन्ने बहस अलग विषय हुन सक्छ, तर भारतीय राजनीतिक चेतनामा यसको प्रभाव भने स्पष्ट देखिन्छ।
अन्ततः भारत र अमेरिका दुवै एकअर्काबाट अलग हुन सक्दैनन्। अमेरिकालाई एसियामा शक्ति सन्तुलनका लागि भारत आवश्यक छ। भारतलाई प्रविधि, लगानी, व्यापार, रक्षा सहकार्य र अन्तर्राष्ट्रिय समर्थनका लागि अमेरिका आवश्यक छ। त्यसैले सम्बन्ध विच्छेदको सम्भावना कम छ। तर सम्बन्धको स्वरूप परिवर्तन हुन सक्छ। भविष्यको भारत–अमेरिका सम्बन्ध भावनात्मक मित्रताभन्दा बढी व्यवहारिक साझेदारीमा आधारित हुनेछ। दुवै पक्षले साझा हित भएका क्षेत्रमा सहकार्य गर्नेछन् र असहमति भएका क्षेत्रमा स्वतन्त्र नीति अपनाउनेछन्। यही यथार्थलाई स्वीकार गर्नु दुवैका लागि लाभदायक हुनेछ।
आजको भु राजनीतिक निष्कर्ष स्पष्ट छ। सार्कको निष्क्रियता, इन्डो–प्यासिफिकमाथिको बहस र क्वाडको भविष्यबारे मिडियामा उठेका आशका र प्रश्नहरू एउटै ठूलो सत्यतर्फ संकेत गर्छन्—एक्काइसौं शताब्दीको विश्व बहुध्रुवीय बन्दै गएको छ। कुनै पनि राष्ट्र अर्को राष्ट्रको स्थायी छायाँ बनेर बाँच्न सक्दैन। भारत आफ्नो रणनीतिक स्वायत्तता जोगाउन चाहन्छ। अमेरिका आफ्नो राष्ट्रिय हितलाई सर्वोच्च प्राथमिकता दिन्छ। चीन विश्व शक्तिको रूपमा उदाउँदै छ। रूस अझै प्रभावशाली खेलाडीका रूपमा उपस्थित छ। यस्तो अवस्थामा गठबन्धनहरू बन्छन्, बदलिन्छन् र कहिलेकाहीँ इतिहास बन्छन्। सम्भवतः सार्कपछि कुनै दिन क्वाडको वर्तमान स्वरूप पनि इतिहास बन्न सक्छ। तर भारतको राष्ट्रिय हित, रणनीतिक स्वायत्तता र विश्व शक्तिका रूपमा उभिने आकांक्षा भने यथावत् रहनेछ। यही तथ्यले आगामी दशकको एशियाली राजनीति र विश्व शक्ति सन्तुलनको दिशा निर्धारण गर्नेछ।
लेखक असन बजार साप्ताहिकको प्रधान सम्पादक हुनुहुन्छ ।
(असन बजार साप्ताहिक सम्पादकीय नेपाल )