01/12/2025
~ भावपूर्ण श्रद्धाञ्जली आयुर्वेदिक चिकित्सक डा. रामनारायण साह ~
नेपाली आयुर्वेद प्रणालीका अग्रणी चिकित्सक डा. रामनारायण साहको जन्म बि सं २००६ कात्तिक २० गते महोत्तरीको एकडारामा गाउँका जमिन्दार मुनिलाल साहको परिवारमा जेठो सन्तानको रुपमा भएको थियो। उनले भारतको गुजरात आयुर्वेद विश्वविद्यालय, जामनगरबाट काय चिकित्सा विषयमा एमडी सकेर आएपछि नन–ग्रेजुएट पदबाट वि. सं २०४३ देखि सरकारी सेवामा प्रवेश गर्दै माथिल्लो पदसम्म पुगेर आफ्नो सेवाकालमा विभिन्न महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेका थिए ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रलाई व्यवस्थित र आधुनिक स्वरूप दिन महत्वपूर्ण भूमिका खेलेका उनले सिंहदरबार वैद्यखानाको प्रबन्ध निर्देशक, आयुर्वेद विभागमा निमित्त महानिर्देशक लगायत नरदेवी आयुर्वेद अस्पतालमा पनि केही समय सेवा गरेका थिए । बि सं २०५८ मंसिर २९ देखि २०६३ वैशाख ३१ सम्म डा. साह प्रबन्ध निर्देशक हुँदा सिंहदरबार वैद्यखानाबाट झन्डै एक सय ५० थरी औषधि उत्पादन भई बार्षिक दुई करोड देखि अढाई करोड रूपैयाँ बराबरको औषधि बिक्री हुने गरेको थियो ।
पिसाबमा संक्रमण देखिएपछि २०८२ साल मङ्सिर १४ गतेका दिन बिहान १०ः१५ बजे निजामती अस्पतालमा भर्ना गरिएका साहको आईसीयूमा राखेर उपचाररत अवस्थामा स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि मङ्सिर १४ गते अपराह्न निधन भयो।