11/09/2026
सोलुखुम्बुको हुङ्गा खोला पहिरोपछि तल्लो तटीय क्षेत्रमा सतर्क रहन इलाका प्रहरी कार्यालय कटारी प्रहरीको आग्रह
कटारी । हुङ्गा खोलामा पहिरो झरेर खोला थुनिएपछि दूधकोशी हुँदै सुनकोशी नदीसम्म पानीको बहाव बढ्न सक्ने सम्भावना रहेकाले इलाका प्रहरी कार्यालय कटारीले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित र सतर्क रहन आग्रह गरेको छ।
महाकुलुङ गाउँपालिका–२ र ४ स्थित हुङ्गा खोलामा २०८३ भदौ २६ गते बिहान करिब ७ बजे गौरीशंकर हाइड्रोपावरको हेड अफिसदेखि करिब १०० मिटर तल करिब ३५ मिटर अग्लो ढुंगाको पहिरो झरेर खोला थुनिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
पहिरोका कारण करिब १०० मिटर लामो र १५ मिटर अग्लो ड्याम बनेर खोला थुनिएको प्रहरीले जनाएको छ। खोला थुनिएपछि जुनसुकै समयमा पानीको बहाव बढ्न सक्ने जोखिम रहेको भन्दै हुङ्गा खोला हुँदै दूधकोशी र सुनकोशी नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन तथा सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षित स्थानमा रहन इलाका प्रहरी कार्यालय कटारीले आग्रह गरेको हो।
प्रहरीले नदी तथा खोलाको किनार आसपासमा अनावश्यक आवतजावत नगर्न र पानीको बहावमा अचानक परिवर्तन देखिएमा तत्काल सुरक्षित स्थानतर्फ जानसमेत अनुरोध गरेको छ।