07/09/2026
अब उर्लाबारीबाटै देश–विदेशका तीर्थस्थलदेखि रमणीय पर्यटकीय गन्तव्यसम्मको यात्रा
उर्लाबारीमा रुद्राक्ष होलिडेज प्रा.लि. ले ट्राभल तथा टुर सेवा औपचारिक रूपमा शुभारम्भ गरेको छ। उर्लाबारी स्थित मालबासे पेट्रोल पम्पको उत्तरपट्टि कार्यालय स्थापना गरी सञ्चालनमा आएको कम्पनीले स्वदेश तथा विदेशका विभिन्न पर्यटकीय, धार्मिक तथा मनोरञ्जनात्मक गन्तव्यका लागि सुरक्षित, सहज, भरपर्दो र व्यवस्थित यात्रा सेवा उपलब्ध गराउने जनाएको छ।
कम्पनीका प्रबन्ध निर्देशक सन्तोष बास्तोलाका अनुसार, पछिल्लो समय मानिसहरूमा घुमफिर, तीर्थयात्रा तथा नयाँ गन्तव्यको भ्रमण गर्ने चाहना बढ्दै गएको भए पनि यात्रा योजना, यातायात, होटल तथा अन्य व्यवस्थापनमा विभिन्न समस्या हुने गरेको छ। यही आवश्यकता पूरा गर्ने उद्देश्यले रुद्राक्ष होलिडेज सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो।
“हाम्रो उद्देश्य ग्राहकलाई एउटा ठाउँबाट अर्को ठाउँसम्म पुर्याउनु मात्र होइन, उहाँहरूको सम्पूर्ण यात्रालाई सुरक्षित, आरामदायी र सम्झनलायक बनाउनु हो,” बास्तोलाले भन्नुभयो, “ग्राहकको आवश्यकता, समय र बजेटअनुसार उपयुक्त प्याकेज तयार गरी गुणस्तरीय सेवा प्रदान गर्नु हाम्रो प्राथमिकता हुनेछ।”
रुद्राक्ष होलिडेजले टुर प्याकेज, धार्मिक तथा तीर्थयात्रा, पारिवारिक भ्रमण, स्कुल तथा कलेज टुर, सहकारी तथा समूह भ्रमण, कर्पोरेट टुर, होटल बुकिङ, हवाई टिकटिङ तथा सवारीसाधन व्यवस्थापन लगायतका सेवा उपलब्ध गराउने जनाएको छ।
कम्पनीले मुक्तिनाथ, मुस्ताङ, पोखरा, चितवन, लुम्बिनी, इलाम, पाथीभरा लगायत नेपालका प्रमुख पर्यटकीय तथा धार्मिक गन्तव्यका लागि विभिन्न प्याकेज सञ्चालन गर्नेछ। ग्राहकको रोजाइअनुसार अन्य गन्तव्यका लागि समेत यात्रा व्यवस्थापन तथा विशेष प्याकेज तयार गरिने कम्पनीले जनाएको छ।
त्यसैगरी, विद्यालय, कलेज, सहकारी, संघ–संस्था तथा विभिन्न समूहका लागि विशेष समूह प्याकेजका साथै ग्राहकको आवश्यकता, समय र बजेटअनुसार कस्टमाइज्ड टुर प्याकेज समेत उपलब्ध गराइने बास्तोलाले जानकारी दिनुभयो।
“यात्रा आफैंमा एउटा अनुभव हो। त्यसैले यात्रा सुरु गरेदेखि घर फर्किएसम्म ग्राहकले राम्रो सेवा र सकारात्मक अनुभव प्राप्त गरून् भन्ने हाम्रो चाहना हो,” उहाँले भन्नुभयो, “आगामी दिनमा उर्लाबारी तथा आसपासका क्षेत्रबाट देश–विदेश भ्रमण गर्न चाहने सबैका लागि रुद्राक्ष होलिडेजलाई विश्वासिलो ट्राभल पार्टनर बनाउने हाम्रो लक्ष्य छ।”
कम्पनीले सेवा शुभारम्भसँगै स्थानीय बासिन्दा, व्यवसायी, विद्यालय तथा कलेज, संघ–संस्था र सम्पूर्ण ग्राहकवर्गबाट सल्लाह, सुझाव, साथ र विश्वासको अपेक्षा गरेको जनाएको छ।
सम्पर्क -9802053250 / 9842053250