12/05/2025
ललितपुरको धापाखेल बस्ने एक व्यावसायीले दोहोरी साँझमा भेटिएकी युवतीलाई एक बर्षमा नगद र गहना गरेर ९२ लाख लुटाएको विवरण आएको छ।
दोहोरी साँझमा खानपिनमा अस्वभाविक खर्च गर्ने युवाको भेट तारा गुरुङ नामकी सुन्दरीसँग भेट भएको थियो। भेटघाट साँघुरो हुँदै गएपछि पटक–पटक गरेर ति युवाले ९२ लाख रुपैंया बाध्यता र धम्कीका कारण दिएको जिल्ला प्रहरी परिसर ललितपुरमा बताएका छन्।
उनले अनावश्यक माग गर्न थालेपछि विस्तारै समीर टाढिन खोजे पनि धम्कीका कारण तनावमा परेर रकम दिनु परेको उनको निवेदनमा उल्लेख छ।
‘फोन नउठाउँदा म्यासेजबाट धम्की दिन थालिन्।मागे जति रकम नदिए ब'लात्कार मुद्दामा फसाइदिने धम्की दिन थालिन्’, पीडित युवाले भनेका छन्,‘अनि म शरण माग्न प्रहरीकहाँ पुगेंं। म हनिट्रयापमा परेको चाल पाएँ।’
प्रहरीले गुरुङमाथि आप'राधिक लाभ मुद्दामा अनुसन्धान जारी राखेको छ। परिसरका अनुसार आपराधिक लाभ र धम्कीमा म्याद थपेर अनुसन्धान भैरहेको छ।
ताराको मागअनुरूप ताराकै परिवारका सदस्यसहित बसेर २० लाख दिने र सम्पर्कमा नरहने सहमति समेत भएको थियो। तर, त्यो सहमतिविपरित युवालाई निरन्तर धम्की र दबाब दिने गरेको खुलेको छ।
ताराले पटकपटक ब'लात्कारको उजुरी दिने धम्की दिँदै समीरसित रकम मागिरहेको पनि खुलेको छ।
‘ममाथि भौतिक आक्रमण समेत भयो। दाङ र काठमाडौं ओहोर दोहोर मात्र गरिन, नयाँ दिल्लीसम्म पनि भागें’, युवाले प्रहरीमा दिएको बयानमा उल्लेख छ।
सामाजिक सञ्जाल टिकटक, फेसबुकमार्फत युवाको फोटो राखेर चरित्रहत्या गर्ने शृंखला समेत चलेको थियो। ‘सहन नै नसक्ने भएपछि प्रहरीका गएको हुँ’, उनले भनेका छन्,‘अहिले मुद्दामा अनुसन्धान जारी छ।’
समीरबाट ताराले ४९ लाख रुपैयाँ नगद र बाँकी सुनका गरगहना, तीनवटा आइफोन लिएको खुलेको छ। समीरले उनलाई बैंकमार्फत रकम दिएको खुलेको छ।
ताराले अन्य युवालाई पनि फँसाएको हुन सक्ने कोणबाट प्रहरीले अनुसन्धान जारी राखेको छ।
अपराध संहिता, २०७४ अनुसार, आपराधिक विश्वासघात तथा आपराधिक लाभ लिएको पुष्टि भए एक वर्षदेखि १० वर्षसम्म कैद र ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।
राजधानीलगायतका ठाउँमा अहिले आपराधिक लाभ र हनिट्रयापमा पार्ने काम भैरहेको छ। काठमाडौं प्रहरीले यस्तै हनिट्रयापमा पारेर तीन लाख ६३ हजार रकम असुलेको प्रकरणमा अहिले दुई युवतीसहित ८ जनामाथि अनुसन्धान जारी राखेको छ।
प्रहरीले यस्तो शंका लागेमा उजुरी दिन या पूर्वसतर्क रहनका लागि पनि अपिल गरेको छ। @ Taja Khabar