30/07/2026
लाछिगाड पुल निर्माणमा ढिलाइ, डुंग्री क्षेत्रमा खाेला आएका कारण मस्टा गाउँपालिकाका स्थानीय र कर्मचारी पालिकामै थन्किए, अध्यक्ष बोहराप्रति जनआक्राेश!
बझाङको मस्टा गाउँपालिकामा लाछिगाड पुल निर्माण समयमै सम्पन्न हुन नसक्दा गाउँपालिकाका कर्मचारी, जनप्रतिनिधि तथा स्थानीयवासीले दैनिक आवतजावतमा सास्ती खेप्नुपरेको स्थानीयले बताएका छन्। पुल निर्माणमा भएको ढिलाइका कारण चैनपुर बजारसँगको आवागमन प्रभावित भएको उनीहरूको गुनासो छ।
स्थानीयका अनुसार डुंग्री क्षेत्रमा समेत पुल नहुँदा वैकल्पिक सडक प्रयोग गर्ने सवारीसाधनलाई समेत कठिनाइ भइरहेको छ। वर्षायाममा खोला तर्न जोखिम बढ्ने र अत्यावश्यक सेवा लिनसमेत समस्या हुने अवस्था रहेको उनीहरूको भनाइ छ।
यसैबीच, गाउँपालिका अध्यक्ष ज्ञानबहादुर बोहराको कार्यशैलीप्रति स्थानीयले असन्तुष्टि व्यक्त गर्न थालेका छन्। निर्वाचनका बेला गरिएका विकासका प्रतिबद्धता कार्यान्वयन हुन नसकेको भन्दै स्थानीयले नेतृत्वसँग जवाफ मागिरहेका छन्।
स्थानीयको आरोप अनुसार मस्टा गाउँपालिकाका विभिन्न शाखा सडक, विद्युत्, सञ्चार, खानेपानी, स्वास्थ्य, शिक्षा तथा अन्य पूर्वाधार विकासका क्षेत्रमा अपेक्षाअनुसार काम हुन सकेको छैन। कार्यकाल अन्तिम चरणमा पुग्दासमेत आधारभूत समस्या समाधान हुन नसकेको भन्दै नागरिकमा असन्तुष्टि बढ्दै गएको उनीहरूको भनाइ छ।
“लाछिगाड पुल समयमै बनेको भए आज कर्मचारीदेखि सर्वसाधारणसम्मले यस्तो सास्ती भोग्नुपर्ने थिएन। चुनावमा गरिएका प्रतिबद्धता कहाँ पुगे?” एक स्थानीयले प्रश्न गरे।
अध्यक्ष बोहराको कार्यकाल सकिन अब केही महिना मात्रै बाँकी रहँदा पनि नागरिकले भोग्दै आएका आधारभूत समस्या समाधान हुन नसकेको भन्दै स्थानीयले प्रभावकारी पहलको माग गरेका छन्। उनीहरूका अनुसार अब भाषण र आश्वासनभन्दा कामको परिणाम देखिनुपर्ने बेला आएको छ।