11/04/2026
आज, माननीय केन्द्रीय गृहमन्त्री श्री अमित शाह जी ले भारतीय जनता पार्टी पश्चिम बङ्गालको “संकल्प पत्र” सार्वजनिक गर्नुभयो। यो केवल हाम्रो दृष्टिकोण होइन, बरु राज्यका जनताप्रति गरिएका ठोस र प्रतिबद्ध वाचाहरू हुन्। म माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूलाई यस दूरदर्शी र अग्रगामी घोषणा-पत्रका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछु, जसले दार्जिलिङ पहाड़, तराई, डुवर्स र सम्पूर्ण राज्यका जनताको जीवनमा सकारात्मक बदलाव ल्याउनेछ।
दार्जिलिङ पहाड़, तराई र डुवर्सका लागि हामी संवैधानिक ढाँचाभित्र स्थानीय आकांक्षालाई सम्मान गर्ने स्थायी राजनीतिक समाधानप्रति प्रतिबद्ध छौं।
प्रत्येक चिया बगानका कर्मीहरुलाई आफ्नो जग्गाको स्वामित्व (पर्जा-पट्टा) प्रदान गरिनेछ। न्यूनतम ज्याला, गुणस्तरीय स्वास्थ्य सेवा, आधुनिक आवास र सामाजिक सुरक्षाका लागि ‘चिया श्रमिक विकास बोर्ड’ स्थापना गरिनेछ।
महिलाहरूको सशक्तीकरणका लागि मासिक ₹३००० आर्थिक सहयोग प्रदान गरिने छ, कलेजमा भर्ना हुने प्रत्येक छात्रालाई ₹५०,००० अनुदान, र राज्यका रोजगारीमा महिलाहरुलाई ३३% आरक्षण सुनिश्चित गरिनेछ। यसैगरी, आँगनवाडी, प्राणी मित्र र आशा कार्यकर्ताहरूका लागि सम्मानजनक मासिक पारिश्रमिक सुनिश्चित गर्नेछौं । प्रत्येक जिल्लामा कार्यरत महिलाहरूका लागि सुरक्षित होस्टेल स्थापना गर्नेछौं ।
युवाहरूका लागि एक करोड़ रोजगारी सिर्जना गरिनेछ र बेरोजगार युवालाई प्रत्येक महिना ₹३००० सहायता उपलब्ध गराइनेछ। भर्ती प्रक्रियामा प्रभावित उम्मेदवारहरूलाई ५ वर्षसम्म उमेरमा छुट दिइनेछ। सरकारी कर्मचारी र पेन्सनभोगीहरूका लागि महँगी भत्ता (DA) र सातौं वेतन आयोग लागू गरिनेछ।
उत्तर बङ्गाल समग्र रूपमा अब उपरान्त उपेक्षित रहने छैन । उत्तर बङ्गालमा एआईआईएमएस (AIIMS) र समर्पित क्यान्सर अस्पताल निर्माण गरिनेछ, जसले गर्दा हाम्रा जनतालाई उन्नत उपचारका लागि टाढाका शहरहरू जानु पर्ने छैन । उच्च गुणस्तरीय शिक्षाको आवश्यकतालाई सम्बोधन गर्दै हामीले उत्तर बङ्गालमा आईआईटी (IIT) र आईआईएम (IIM) स्थापना गर्नेछौं, जसले यहाँ नै विश्वस्तरीय प्राविधिक र म्यानेजमेन्ट शिक्षा उपलब्ध गराउनेछ । खेलकुद विश्वविद्यालय र जनजातीय विश्वविद्यालय पनि स्थापना गरिनेछ, जसले हाम्रो जस्तो जनजाति-प्रधान क्षेत्रका खेलाड़ी, खेलकुदकर्मी र विद्यार्थीहरूलाई प्रोत्साहन दिनेछ ।
स्वदेशी भाषा र सम्पदा संरक्षण गर्न हामीले राजबंशी र कुर्माली भाषालाई संविधानको आठौं अनुसूचीमा समावेश गर्नेछौं । हाम्रो सांस्कृतिक सम्पदाको संरक्षण गर्न, हामी क्षेत्रीय साहित्य, कला, संगीत, नृत्य, नाटक र संस्कृतिको प्रवर्द्धन गर्नेछौं र क्षेत्रीय सांस्कृतिक केन्द्रहरूको स्थापना गर्न विशेष अनुदान प्रदान गर्नेछौं
हामीले सबै किसानहरूलाई जीविकोपार्जन सहयोगका लागि ₹९००० को आर्थिक सहायता प्रदान गर्नेछौं । प्रत्येक ब्लकमा चिसो भण्डारण सुविधा (कोल्ड स्टोरेज) र प्रशोधन केन्द्रहरू निर्माण गर्नेछौं, जसले किसानहरूको उत्पादन फलफूल, तरकारी, दुग्ध र मत्स्यलाई सुरक्षित राख्नेछ। हामीले किसानहरूलाई उचित मूल्य समर्थन गर्नेछौं र सबै माछा मार्नेहरूलाई पीएम मत्स्य सम्पदा योजना अन्तर्गत दर्ता गर्नेछौं ।
हाम्रा गौरव दार्जिलिङ चियाको पुनरुत्थान गरिनेछ। साना चिया उत्पादकहरूलाई मिनी प्रशोधन इकाई र प्रत्यक्ष बजार पहुँच दिइनेछ।
हामीले दार्जिलिङलाई प्रमुख पर्यावरणीय, साहसिक (adventure) तथा सम्पदा (heritage) पर्यटन हबको रूपमा विकास गर्नेछौं । डुवर्सलाई वन, वन्यजन्तु र जनजातीय पर्यटन केन्द्रको रूपमा विकास गर्नेछौं, जसले पर्यावरणीय रिसोर्ट र निर्देशित भ्रमणमा रोजगारी सिर्जना गर्दै हाम्रो प्राकृतिक सम्पदा संरक्षण गर्नेछ ।
एउटा नयाँ राष्ट्रिय राजमार्गले दार्जिलिङलाई सुन्दरबनसँग प्रत्यक्ष जोड्नेछ, जसले उत्तर र दक्षिण बङ्गाललाई जोडेर नयाँ आर्थिक करिडोर खोल्नेछ । हामीले उत्तर बङ्गालमा चारवटा नयाँ शहर विकास गर्नेछौं र क्षेत्रको समग्र विकासमा ध्यान केन्द्रित गर्नेछौं, जसले वर्षौंदेखिको हाम्रो क्षेत्रले भोग्नु परेको उपेक्षालाई अन्त्य गर्नेछ ।
आधुनिक पूर्वाधार, पारदर्शी शासन र केन्द्रीय योजनाहरू जस्तै खेलो इन्डिया, आयुष्मान भारत र पीएम आवास योजना लगायत सबै केन्द्रीय सरकारी योजनाहरूको पूर्ण कार्यान्वयन अन्ततः हाम्रो क्षेत्रको हरेक कुनामा पुग्नेछ ।
थप रूपमा, भाजपाले राष्ट्रिय सुरक्षा संरक्षण गर्न घुसपैठ विरुद्ध कडा कारबाही गर्नेछ । हामीले तृणमूल कांग्रेसको १५ वर्षको भ्रष्टाचार उजागर गर्ने सेतो पत्र जारी गर्नेछौं । हामीले तृणमूलद्वारा संरक्षित सिन्डिकेट राज र कट-मनी प्रणालीलाई अन्त्य गर्नेछौं ।
हामीले राज्यमा समान नागरिक संहिता (uniform civil code) लागू गर्नेछौं र गाई तस्करी रोक्न कडा कानुन बनाउनेछौं । हामीले वन्दे मातरम् सङ्ग्रहालय स्थापना गर्नेछौं र धार्मिक अभ्यासको स्वतन्त्रता सुनिश्चित गर्ने कानुन लागू गर्नेछौं ।
यो केवल घोषणा-पत्र होइन । यो दार्जीलिङ पहाड़, तराई, डुवर्सका जनताका लागि १५ वर्षको उपेक्षालाई अन्त्य गर्ने र न्याय दिलाउने हाम्रो पवित्र प्रतिज्ञा हो ।
*राजु बिष्ट*
*लोकसभा सांसद दार्जिलिङ एवं*
*राष्ट्रीय प्रवक्ता, भारतीय जनता पार्टी*