16/12/2024
शिक्षित बन्नु हो, नौकरी पाउनु शिक्षा लिनु गलत उद्देश्य हो : अनित थापा
बाग्राकोट उच्चतर माध्यमिक पाठशालाले पाठशालाको कौस्तुभ जयन्तीको उत्सव भव्यताको साथ मनायो। जीटीए (गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन) प्रमुख कार्यपाल अनित थापा प्रमुख अतिथि रहेको समारोहमा कालेबुङका विधायक रुदेन लेप्चा अनि सभासद्हरूको उपस्थिति रहेको थियो। जीटीए प्रमुख कार्यपाल अनित थापाले नयाँ विद्यालय भवनको आधारशिला राख्दै भने, मैले वचन दिए अनुसार बाग्राकोट उच्चतर माद्यामिक विद्यालयलाई, विद्यालयको कौस्तुभ जयन्ती महोत्सवको उपलक्षमा नयाँ विद्यालय भवन उपहार स्वरूप प्रदान गर्दछु।
नयाँ भवनमा विद्यार्थीहरूको निम्ति विभिन्न सुविधाहरू जस्तै साइन्स ल्याब, लाइब्रेरी आदि उपलब्ध रहनेछन्। समारोहलाई
सम्बोधन गर्दै थापाले भने, म जुन काममा हात हाल्छु त्यो काम फत्ते गर्छु नै गर्छु। विद्यालयको हेडमास्टरलाई स्कूलको ठूलो चिन्ता छ।
स्कूलले राम्रो अभिभावक पाएको छ। तकनीकीको विकास संगसंगै शिक्षा पनि त्यही गतिमा चल्नु पर्ने आफ्नो विचार राख्दै उनले भने, 'वर्तमानमा जुन किसिमले तकनीकीको प्रगति भई रहेको छ, त्यो हिसाबमा हाम्रो प्रगति भएको छैन। शिक्षालाई मूलधारमा ल्याउनु तकनीकीको प्रयोग गर्नु नै पर्छ।
प्राथमिक विद्यालय ध्वस्त भयो भने उच्च माध्यमिक विद्यालय ध्वस्त हुनु समय लाग्दैन। प्राथमिक विद्यालयलाई बचाउनु हो भने समाजमा व्याप्त सरकारी विद्यालय प्रतिको नकारात्मक धारणा परिवर्तन गर्नु पर्छ। घट्दो जनसंख्याको कारण विद्यालयहरुले विद्यार्थीको अभाव खप्नु परेको बताउँदै उनले भने, हाम्रो समाजमा जनसंख्या घट्दै गएको कारण हाम्रो स्कुलहरुमा बिध्यार्थी बहु सकेको छैन।
हाम्रो पहाडमा कतिपय गाउँहरूमा साना नानीहरू नै छैनन्। सिक्किममा विद्यार्थी नभएको कारण धेरै विद्यालय बन्द गर्नु पर्यो, त्यस्तो स्थिति हाम्रो पहाडमा पनि छ। के शिक्षा आर्जन गर्नु नौकरी पाउनुको निम्ति मात्र हो? थापाले भने, शिक्षा आर्जन गर्नु शिक्षित हुनु हो। नौकरी पाउनुको निम्ति मात्र शिक्षा लिनु गलत हो। शिक्षित व्यक्तिले जसरी पनि गरिखान सक्छ। शिक्षित व्यक्ति स्वनिर्भर व्यक्ति बन्नु सक्छ। यो सोच विद्यार्थीहरूको विवेकमा पनि हाली दिनु पर्छ।