09/08/2026
प्युठानमा LPG ग्यासको हाहाकार : ‘अभाव छैन’ भन्छ आयल निगम, उपभोक्ता भने ग्यास खोज्दै भौँतारिँदै
प्युठान — खाना पकाउने LPG ग्यास सहज रूपमा उपलब्ध हुन नसक्दा प्युठानका उपभोक्ता समस्यामा परेका छन्। भारतबाट नियमित रूपमा ग्यास आयात भइरहेको र देशभर ग्यासको अभाव नरहेको नेपाल आयल निगमले बताउँदै आए पनि प्युठानमा भने उपभोक्ताले ग्यास नपाएको गुनासो गरेका छन्।
ग्यास लिनका लागि लामो समयसम्म कुर्नुपर्ने, वितरक तथा बिक्री केन्द्रमा पुग्दा ग्यास सकिएको जवाफ पाउने र कतिपय अवस्थामा ग्यासको सिलिन्डर पाउनै मुस्किल हुने गरेको उपभोक्ताहरूको गुनासो छ।
देशमा ग्यासको आपूर्ति नियमित भइरहेको हो भने प्युठानका उपभोक्ताले ग्यास किन सहज रूपमा पाउन सकेका छैनन्? यो प्रश्न अहिले गम्भीर रूपमा उठेको छ।
ग्यासको वास्तविक अभाव हो वा आपूर्ति तथा वितरण प्रणालीमा समस्या, त्यसको स्पष्ट जानकारी उपभोक्ताले पाउन सकेका छैनन्। कतै मागअनुसार ग्यास नआएको हो? ढुवानीमा समस्या हो? वितरण प्रणाली कमजोर भएको हो? अथवा बजारमा कृत्रिम अभाव सिर्जना गरिएको हो?
यी प्रश्नको जवाफ सम्बन्धित निकायले दिन आवश्यक देखिन्छ।
विशेषगरी ग्रामीण तथा पहाडी जिल्लाका उपभोक्ताले हरेकपटक यस्ता समस्या भोगिरहनुपर्ने अवस्था हुनु दुःखद हो। ग्यास एउटा व्यापारिक वस्तु मात्र होइन, अहिले अधिकांश घरपरिवारको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको अत्यावश्यक वस्तु हो।
घरमा खाना पकाउने ग्यास नहुँदा यसको प्रत्यक्ष असर सर्वसाधारणको भान्सामा पर्छ। दैनिक ज्यालादारी गर्ने परिवारदेखि बालबालिका, वृद्धवृद्धा र गृहिणीसम्म यसको मारमा पर्न सक्छन्।
त्यसैले सम्बन्धित निकायले प्युठानमा ग्यासको वास्तविक अवस्था तत्काल अनुगमन गर्नुपर्ने देखिन्छ।
यदि पर्याप्त ग्यास आएको हो भने कहाँ–कहाँ वितरण भयो?
उपभोक्ताले किन पाएनन्?
वितरकसँग कति मौज्दात छ?
वितरण प्रणालीमा कहाँ समस्या छ?
र यदि कसैले कृत्रिम अभाव सिर्जना गरेको हो भने त्यसको जिम्मेवार को हो?
‘ग्यासको अभाव छैन’ भन्ने सरकारी भनाइ र ‘ग्यास पाइएन’ भन्ने उपभोक्ताको गुनासोबीचको वास्तविकता अब सम्बन्धित निकायले स्पष्ट पार्नुपर्छ।