22/07/2025
महिला फुटबल टिमका हेड कोच क्रीस्पिन छेत्रीलाई KFC सिलगढी द्वारा सम्मान
सिलगढी २२ जुलाई: भारतीय राष्ट्रिय महिला फुटबल टिमका हेड कोच क्रीस्पिन छेत्रीलाई आज २२ जुलाई, मङ्गलबार स्थानीय सुकुना इला पाल स्कुल खेल मैदानमा आयोजित विशेष समारोहमा KFC सिलगढी क्लब द्वारा सम्मानित गरिएको छ।
खेलकुदमा विगतदेखि सक्रिय भूमिका निभाउँदै आएका खरसाङ निवासी छेत्रीले हाल भारतीय महिला फुटबल टिमलाई AFC कपको लागि क्वालिफाइ गराएका छन्। यस ऐतिहासिक सफलताका लागि क्लबले उनलाई भव्य स्वागत गर्दै श्रद्धासुमन अर्पण गर्यो।
कार्यक्रममा क्लबका उपाध्यक्ष एल.के. राईले खदार्पण गर्दै सम्मान व्यक्त गरे भने सहसचिवद्वय विजय लिम्बू, शिवकुमार राई, साथै चिफ कोच दिनकर छेत्री, आशिष प्रधान र कर्णेल डी.के. सुब्बाले सयपत्री माला अर्पण गरी सम्मान जनाए।
त्यस्तै टेक्निकल कमिटीका सदस्यहरू—कप्तान एच.के. लामा, कप्तान एस.डी. तामाङ, मदन राणा, पी.सी. थुलुङ—ले पनि खदार्पण गर्दै क्रीस्पिनलाई सम्मानित गरे। क्लबका खेलाडीहरू क्रमशः अमिर लामा, निवाङ तामाङ, राम राई, अनित राई लगायत अन्यले पनि भावपूर्ण सम्मान अर्पण गरे।
क्लबका अध्यक्ष अन्जु शेर्पाले सम्मान पत्र प्रदान गर्दै क्रीस्पिन छेत्रीको योगदानप्रति आभार व्यक्त गरिन् र आगामी दिनहरूमा अझ ठूलो सफलता मिलोस् भन्ने शुभकामना प्रकट गरिन्।
कार्यक्रममा सुरेन प्रधानले सबैलाई स्वागत गर्दै क्रीस्पिन छेत्रीको संक्षिप्त जीवन परिचय प्रस्तुत गरे। चिफ कोच दिनकर छेत्रीले क्रीस्पिनको प्रारम्भिक संघर्षदेखि हालसम्मको सफल यात्राबारे विस्तृत जानकारी गराए।
टेक्निकल इनचार्ज एच.के. लामा, जो भूतपूर्व सर्भिसेस खेलाडीसमेत हुन्, उनले युवाहरूप्रति प्रेरणात्मक सम्बोधन गर्दै भने, “हाइटभन्दा पनि आत्मविश्वास र निरन्तर अभ्यासले खेलाडीलाई सफल बनाउँछ। फुटबल व्यक्तिगत खेल होइन, टीमवर्क हो।"
अन्त्यमा क्रीस्पिन छेत्रीले क्लबप्रतिको कृतज्ञता प्रकट गर्दै भने, “यहाँका बालबालिकाले अहिले जुन सुविधा पाईरहेका छन्, त्यसको अधिकतम सदुपयोग गरी अगाडि बढ्नुपर्छ। यस क्षेत्रमा फुटबल विकासका लागि सबै मिलेर अघि बढ्न आवश्यक छ।”
KFC सिलगढीका महासचिव सुरेन प्रधानले क्रीस्पिन छेत्रीको भनाइ लोहागढ़ टाईम्सलाई जानकारी दिए।