01/08/2026
आहले ग्राउन्ड नजिक २७.२७० ग्राम लागूऔषधसहित दुई युवक पक्राउ
मिरिक, १ अगस्ट। मिरिक प्रहरीले लागूऔषधविरुद्धको अभियानमा उल्लेखनीय सफलता हासिल गर्दै आहले ग्राउन्ड नजिकबाट दुई स्थानीय युवकलाई पक्राउ गरेको छ। उनीहरूको साथबाट करिब २७ .२७० ग्राम शंकास्पद लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।
पश्चिम बंगाल सरकारको ‘नो ड्रग्स’ अभियानअन्तर्गत मिरिक प्रहरी निरीक्षक (आईसी) नयन चक्रवर्तीको नेतृत्वमा सञ्चालन गरिएको विशेष अभियानमा गोप्य सूचनाको आधारमा सिलिगुडीबाट मिरिकतर्फ आउँदै गरेको WB 78 4117 नम्बरको सेतो वागनआर कारलाई रोकिएको थियो।
सवारी साधनको खानतलासीका क्रममा कारमा सवार व्यक्तिहरूको साथबाट करिब २७ ग्राम शंकास्पद लागूऔषध बरामद भएपछि उनीहरूलाई घटनास्थलमै पक्राउ गरिएको हो।
प्रहरीका अनुसार, पश्चिम बंगाल सरकारको लागूऔषधप्रति शून्य सहनशीलता (Zero Tolerance) नीतिअनुसार मिरिक क्षेत्रमा लागूऔषधविरुद्धको अभियान निरन्तर जारी रहनेछ। साथै, बरामद लागूऔषधको स्रोत पत्ता लगाउन थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।