07/03/2018
नेपाली साहित्यका सुप्रख्यात साहित्यकार, चिन्तक एवम् द्रष्टा इन्द्रबहादुर राईको देहान्त नेपाली जगत्को निम्ति अपुरणीय क्षति हो। नेपाली साहित्यमा तीन युगलाई काँधमा उत्तरदायित्वपूर्वक बोकेर हिँड्न सक्ने सर्जक आजसम्म इन्द्रबहादुर राई मात्र हुन् । वैचारिकतासँग सम्पूर्णता लेख्ने अभियानद्वारा ‘तेस्रो आयाम” आन्दोलन उनले गरेको अद्वितीय कार्य मानिन्छ। “लीलालेखन”-मा अझ त्यो वैचारिकता चुलिएर गएको पाइन्छ।
भारतमा नेपाली भाषाको संवैधानिक मान्यताको अभियानमा प्रेरणाका श्रोत भई इन्द्रबहादुर राईद्वारा गरिएका कार्य अविस्मरणीय छ। उनको एउटै उपन्यासले दार्जिलिङको सामाजिक, आर्थिक र राजनैतिक पक्षको उद्घाटन गर्न सक्षम भएको मानिन्छ। वास्तवमा इन्द्रबहादुर राई आफैमा एक विश्वविद्यालय हुन्।
उनका समालोचना र अन्वेषण कार्यले मात्र पनि नेपाली जगत् उनीप्रति कृतज्ञ रहनुपर्ने हुन्छ। साहित्यका सबैजसो विधामा कार्य गरिरहने इन्द्रबहादुर राईले हिजो ०६.०३.२०१८ - मा आफ्नै बासस्थान लोचनगर, दार्जिलिङमा अन्तिम स्वास फेरे।
प्रत्येक विषयका जानकारी राख्ने सचेत इन्द्रबहादुर राईको गामा प्रकाशनसँग पनि आत्मीय सम्बन्ध थियो भने उनीबाट परामर्श प्राप्त गर्ने अवसर पनि पाउने गर्दथ्यौँ। यसर्थ, उनको पुण्यात्माले परमात्माको सायुज्यता प्राप्त गरोस् भनी गामा प्रकाशन दिग्गज साहित्यकार, सामाजिक इन्द्रबहादुर राईको निधनमा गहिरो शोक प्रकट गर्दै सन्तप्त परिवारमा समेत ईश्वरले सहन गर्ने क्षमता प्रदान गरून् भनी प्रार्थना गर्दछौँ ।