DSTV Darjeeling

DSTV Darjeeling First Indian GORKHA news Channel.
(1)

06/09/2026

सदर–२ मण्डलको विशेष पहलमा मण्डल अध्यक्ष अनुप राई, चौरस्ता वार्ड अध्यक्ष दिलीप संग्राय तथा वार्ड अध्यक्षका कार्यवाहक मनु थामीको नेतृत्वमा आज चौरस्ता परिसरमा व्यापक सरसफाइ अभियान सञ्चालन गरिएको छ।

राष्ट्रिय स्वच्छता अभियानअन्तर्गत आयोजित अभियानमा चौरस्ता क्षेत्रको सरसफाइमा विशेष ध्यान दिइएको थियो। यसै क्रममा हिन्दू धार्मिक महत्त्व बोकेको चौरस्ता परिसरमा पकाइएको मासु बिक्रीमा रोक लगाउनुपर्ने मागसहित सम्बन्धित निकायमा लिखित निवेदनसमेत बुझाइएको जनाइएको छ।

आजको कार्यक्रमबारे विस्तृत जानकारी भाजपाको चौरस्ता वार्ड अध्यक्ष दिलीप संग्राय तथा वार्ड अध्यक्षका कार्यवाहक मनु थामीले दिएका छन्।

06/09/2026

तक्दाह (६ सेप्टेम्बर): तक्दाह छाउनी मानेबजारस्थित श्रीकृष्ण मन्दिरमा आयोजित पाँचदिने कृष्ण जन्माष्टमी पूजा–अर्चना आइतबार प्रवचन, भजन तथा आरतीसहित सम्पन्न भएको छ।

परमपूज्य गुरु होमनाथ आचार्य, सोमनाथ शास्त्री तथा टोलीको प्रवचन र धार्मिक अनुष्ठानसहित सम्पन्न कार्यक्रममा अवकाशप्राप्त वायुसेना ग्रुप कमान्डर टीके सिन्हा, धर्मपत्नी सोमा सिन्हालगायत भक्तजनको उपस्थिति रहेको थियो।

पूजा तथा भण्डारामा सहयोग गर्ने विभिन्न समाज तथा संघसंस्थाका प्रतिनिधिहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो। कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण भक्तजन तथा संघसंस्थाप्रति मानेबजार श्रीकृष्ण मन्दिर सञ्चालन तथा पूजा समितिले आभार व्यक्त गरेको जानकारी समितिले संवाददाता अल्ताफ हुसेनलाई दिएको छ।

06/09/2026

डिजास्टर व्यवस्थापन तथा पुनर्निर्माण कार्यमा भगवती कन्स्ट्रक्सन कम्पनीले लापरवाही गरेको आरोप लगाउँदै आईजीजेएफ केन्द्रीय समिति संगठनात्मक सचिव भरत तामाङको नेतृत्वमा टोलीले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेको छ।

टोलीले निर्माण तथा मर्मतसम्भारको कामको गुणस्तर, प्रगति र प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिँदै कथित कमीकमजोरी तथा लापरवाहीसम्बन्धी प्रमाण संकलन गरेको जनाएको छ।

06/09/2026

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाअन्तर्गत पुलबजार–बिजनबारी–गोक समष्टिको सांगठनिक साधारण सभा लोअर कोलबुङमा सम्पन्न भयो।

समष्टि अध्यक्ष दिनेश राईको अध्यक्षतामा सम्पन्न सभामा केन्द्रीय समिति सदस्य आरसी गुरुङ, दार्जीलिङ ब्राञ्च कमिटी उपाध्यक्ष गाइस सुब्बा, सदस्य अनिल सुब्बा, समष्टि सचिव किरण राईलगायत पार्टीका विभिन्न तहका पदाधिकारी तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

सभामा संगठनको वर्तमान अवस्था, आगामी कार्यक्रम तथा जनसरोकारका विषयमा छलफल गर्दै संगठनलाई तल्लो तहसम्म सुदृढ बनाउने र जनसम्पर्क विस्तार गर्ने विषयमा जोड दिइयो। कार्यक्रममा शहीद परिवारलाई सम्मानसमेत गरिएको थियो।

सांगठनिक गतिविधिलाई थप प्रभावकारी र गतिशील बनाउने प्रतिबद्धतासहित सभा सम्पन्न भएको आयोजकले जनाएको छ।

06/09/2026

बाल आवाज परिवार र कालिम्पोङ विज्ञान केन्द्रको संयुक्त आयोजनामा कालिम्पोङ गट ट्यालेन्टको क्वार्टर फाइनल चरण आइतबार कालिम्पोङ विज्ञान केन्द्रको अडिटोरियम हलमा सम्पन्न भयो।

क्वार्टर फाइनलमा लोअर इच्छे, १६ माइल, सामसिङ डुवर्स, ह्याप्पी भिल्ला, चन्द्रलोक, लोवर बोङ बस्ती, धोङ डाँडा, धोकी डाँडा, ७ माइल र ६ माइललगायत क्षेत्रबाट छनोट भएका बाल प्रतिभाहरूले गायन तथा नृत्य प्रस्तुत गरे।

नृत्यतर्फ बिन्दू लकान्द्री र निडेनला लेप्चा तथा गायनतर्फ टन्का बराइली र सिका रनपहेलीले निर्णायकको भूमिका निर्वाह गरेका थिए। संगीतज्ञ दिनेश सुब्बाले गीत प्रस्तुत गर्दै प्रतियोगीहरूलाई प्रोत्साहित गरे।

क्वार्टर फाइनलबाट छनोट भएका प्रतिभागीहरू अब सेमी फाइनलमा प्रवेश गर्ने आयोजकले जनाएको छ।

06/09/2026

खरसाङ (६ सेप्टेम्बर): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा असंगठित श्रमिक संगठनको सभा खरसाङ टाउन कमिटी अध्यक्ष वीरबल पाख्रिनको अध्यक्षतामा महकुमा कार्यालयमा सम्पन्न भयो।

सभामा श्रमिकहरूको समस्या समाधान तथा अधिकारका लागि स्थायी मञ्च निर्माण र संगठनलाई सुदृढ बनाउने विषयमा छलफल गरियो। पाख्रिनले श्रमिकहरूको पञ्जीकरणको व्यवस्था टाउन कमिटीमार्फत गरिने जानकारी दिँदै कार्यक्षेत्रमा इमानदारी, अनुशासन र राम्रो आचरण कायम राख्न आग्रह गरे।

सभाले सर्वसम्मत रूपमा शरण विश्वकर्मालाई अध्यक्ष, छिरिङ शेर्पालाई सचिव, राकेश बम्जनलाई महासचिव तथा दिपेन तामाङलाई मुख्य सल्लाहकार चयन गरेको छ।

06/09/2026

रिम्बिक हिमालयन मसीह मण्डलीमा रिम्बिक–लोधोमा पास्टर्स युनाइटेड र जोइन्ट फोरम पहाड–तराई क्रिस्टियन वेल्फेयर अर्गनाइजेशन केन्द्रीय समितिबीच समन्वयात्मक सभा सम्पन्न भयो।

पास्टर्स युनाइटेडका सभापति रेभरेन्ड पास्टर जोनाथन रुचालको अध्यक्षतामा सम्पन्न सभामा क्षेत्रका विभिन्न चर्च तथा मण्डलीका प्रतिनिधिहरू सहभागी थिए। सभामा चर्च तथा पास्टरहरूबीच एकता, सहकार्य र समन्वय सुदृढ गर्ने विषयमा छलफल गरियो।

जोइन्ट फोरमका महासचिव पास्टर अशिम राईले फोरमको उद्देश्य, आवश्यकता, भूमिका तथा जिम्मेवारीबारे जानकारी दिँदै पहाड, तराई तथा दार्जीलिङ जिल्लाका विभिन्न क्षेत्रमा रहेका चर्च तथा पास्टरहरू क्रमशः फोरममा आबद्ध हुँदै गएको बताए। उनले फोरम सम्पूर्ण इसाई समुदायलाई समेट्ने छाता संगठनका रूपमा अघि बढिरहेको बताए।

06/09/2026

मिरिकको पाइला गाउँ तथा लाबरे बोटे क्षेत्रमा भइरहेको पैह्रोका कारण राङभाङ खोलामा प्राकृतिक रूपमा ड्याम बनेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै जोरबङ्लो–सुकेपोखरी खण्ड समितिका सभापति अञ्जु लामा नेतृत्वको टोलीले मगरजोङ बहादुर गाउँमा स्थलगत निरीक्षण गरेको छ।

टोलीमा समिति सदस्य रक्षन्द मुखिया तथा पञ्चायत समिति सदस्य छितेन शेर्पा सहभागी थिए। टोलीले पैह्रो प्रभावित क्षेत्रको अवलोकन गर्नुका साथै स्थानीयवासीसँग भेटघाट गरी प्राकृतिक ड्यामबाट उत्पन्न हुन सक्ने जोखिमबारे छलफल गरेको थियो।

सभापति लामाले सम्भावित विपद्का बेला स्थानीयवासीको सुरक्षा र आवश्यक व्यवस्थापनका लागि पहल गर्ने आश्वासन दिइन्।

06/09/2026

लेबोङ खेल मैदानमा आयोजित कार्यक्रममा ब्राजिलका विश्वकप विजेता फुटबल लेजेन्ड काफुको उपस्थितिमा दार्जीलिङमा करिब २१५ करोड रुपैयाँको लागतमा स्पोर्ट्स एन्ड वेलनेस रिसोर्ट निर्माण गर्ने योजना सार्वजनिक गरिएको छ।

आर्या टी एस्टेटले करिब ४० एकड क्षेत्रमा १०० भन्दा बढी लक्जरी कोठा तथा भिल्लासहित फुटबल, बास्केटबल, टेनिसलगायत खेलकुद तथा साहसिक गतिविधिका आधुनिक पूर्वाधार निर्माण गर्ने योजना अघि सारेको छ। परियोजना सन् २०३१ सम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

यसै अवसरमा पहाड तथा उत्तर बंगालका युवा फुटबल प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले ‘दार्जीलिङ वारियर्स’ र ‘नर्थ बंगाल फाइटर्स’ फुटबल क्लब तथा तिनका एकेडेमीको पनि शुभारम्भ गरियो। क्लबहरूले स्थानीय प्रतिभाको पहिचान, प्रशिक्षण र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवसर प्रदान गर्ने लक्ष्य राखेका छन्।

06/09/2026

उपभोक्ता सप्ताहको अवसरमा उपभोक्ता अधिकार तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले दार्जीलिङमा साइकल यात्रा तथा उपभोक्ता सचेतना र्याली आयोजना गरियो।

मेफेयरबाट भानु भवनसम्म साइकल यात्रा सम्पन्न भएपछि भानु भवनबाट निकालिएको र्याली रोबर्टसन रोड, क्लब स्ट्याण्ड र नेहरू रोड हुँदै चौरस्तासम्म पुगेको थियो।

र्यालीमा स्थानीय विद्यालयका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा पश्चिम बंगाल सरकारका युवा सेवा तथा खेलकुद एवं उपभोक्ता मामिला विभागका राज्यमन्त्री डा. इन्द्रनील खान, पर्यटनमन्त्री शंकर घोष, दार्जीलिङका एसडीओलगायत सम्बन्धित अधिकारीहरूको उपस्थिति रहेको थियो।

Address

7th Drive Zakir Hussain Road
Darjeeling
734101

Alerts

Be the first to know and let us send you an email when DSTV Darjeeling posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to DSTV Darjeeling:

Shortcuts

Share