DSTV Darjeeling

DSTV Darjeeling First Indian GORKHA news Channel.

29/11/2025

आज पेशोक डाक बांग्ला सार्वजनिक भवनमा आज दार्जीलिङ वेलफेयर सोसाइटीको प्रमुख हर्ष वर्द्धन श्रृङ्ला र उनको टोली मेलिण्डा गेट्स फाउन्डेसन एशिया प्रमुख हरि मेनन ले क्षेत्रीय साथै बाहिर बाट आएको पन्ध्र वटा स्व:निर्भर दलहरुलाई लिएर पहाडका चिया श्रमिकहरुको आजिविकाको अवसर विषय लिएर एक कार्यक्रम आयोजना गरिएको जानकारी प्राप्त भएको छ। कार्यक्रमको मुख्य उद्देश्य क्षेत्रको कृषि उत्पादनहरुलाई सठीक रूपमा बजार व्यवसाय गर्न अनि क्षेत्रका महिलाहरुलाई स्व:निर्भर बन्नको निम्ति अवसर प्रदान गर्नु रहेको थियो। यस अवधि क्षेत्रका उत्पादनहरु अनलाइनमार्फत पनि उपलब्ध रहेको जनाउँदै एक क्याटलक पनि विमोचन गरिएको जानकारी हाम्रा सम्वाददाता अल्ताफ हुसेनले जानकारी दिएका छन्।

29/11/2025

दार्जीलिङ वेलफेयर सोसाइटीका अध्यक्ष हर्ष वर्द्धन श्रृङ्ला, उनको टोली तथा मेलिण्डा गेट्स फाउण्डेशनका एशिया प्रमुख हरी मेननले आज पेशोक क्षेत्रमा रहेका डल्ले खोर्सानी र मशरूम फार्महरूको भ्रमण तथा निरीक्षण गरेका छन्। भ्रमणका क्रममा उनीहरूले स्थानीय कृषकहरूसँग उत्पादनका प्रजाति, खेती पद्धति तथा सम्भावित विकासका अवसरबारे विस्तृत रूपमा छलफल गरे। यस निरीक्षण कार्यक्रममा ग्रान्ट थार्नटनको समेत सक्रिय सहभागी रहेको जानकारी प्राप्त भएको छ।

29/11/2025

खरसाङको वार्ड नम्बर २ मा रहेको टेकवीर बस्तीमा आजदेखि गाउँले हाट शुरु गरिएको छ। अबदेखि हप्ताको प्रत्येक शनिवार लाग्ने यो गाउँले‌ हाटको उद्घाटन प्रमुख अतिथिको रुपमा उपस्थित खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, विशिष्ट अतिथिको रुपमा उपस्थित भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीको कार्यकारी सभापति सन्दीप बल र टेकवीर बस्ती प्रगति गाउँ प्रगति संघको सचिव बीरबल पाख्रिन आदिको बाहुलीबाट विधिवत् रूपमा रिबन काटेर उद्घाटन गरिएको छ।

29/11/2025

मजुवा बस्ती सार्वजनिक भवन र खेल मैदानकाे विषयमा इण्डियन गोर्खा जनशक्ति फ्रण्टका कार्यकर्ताहरुले लगाएको आरोपलाई ठेकेदारले पनि खण्डन गरेका छन्। यस विषयमा आशिर्वाद कन्स्ट्रक्शनकाे प्रोफराईटर सन्दीप गुरुङले आईजीकेएफले लगाएकाे आरोप झूटो र गाउँमा अशान्ति फैलाउने प्रयास गरेको भन्दै घोर भर्सना गरेका छन्। यस विषयमा एक भिडियो जारी गर्दै आफ्नो काम कति र कसरी गरेको जानकारी आशिर्वाद कन्स्ट्रक्सन काे प्रोफराईटर सन्दीप गुरुङले जानकारी गराएका छन्। यसको साथै उनले गरेको काममा भ्रष्टाचार भएको आरोप लगाउने आईजीजेएफका कार्यकर्ताहरुले आफ्नो सस्तो राजनीति र निजि पब्लीसिटीकाे लागि अर्काकाे गाउँ समाजकाे नाम बदनाम नगरिदिने सुझाउ पनि दिएका छन्।

29/11/2025

खड़़की डाँडा एकता समाजका वर्तमान सभानेत्री स्वर्गीय डेन्का भोटियाको आगामी दिनांक ३ दिसेम्बर २०२५ (बुधबार) को दिन अन्त्येष्टि कार्य हुने तय भएको हुनाले यस दुखद घडीको समयमा परिवारलाई शोक सम्वेदना प्रकट गर्न चाहने ईष्ट–मित्र, आफन्तजन,
शुभेच्छुक तथा शवयात्रामा सहभागी हुने सम्पूर्णलाई परिवारको पक्षबाट उपस्थित भइदिने निवेदन गर्दछौं।

स्थान: पुरानो गुम्बा, गुम्बा लाइन, सुकेपोखरी

विनीत:
छितेन डोमा भोटिया (आमा), छवाङ्ग भोटिया (पति)
तेन्जिङ्ग डोल्मा भोटिया, रिन्छेन डोल्मा भोटिया (छोरीहरु)
दोर्जे भोटिया - छोडेन डुक्पा (भदै - बुहारी)
डोन्कर शेर्पा - कपिल गुरुङ (बहिनी - ज्वाँई)
एवं सम्पूर्ण शोकाकुल परिवार।

29/11/2025

मुण्डाकोठी उच्च विद्यालयको स्वर्ण जयन्ती समारोह आज गौरवपूर्ण रूपमा सम्पन्न भयो। पाँच दशकको शैक्षिक यात्रालाई स्मरण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विद्यालय परिवार, पूर्व विद्यार्थी, अभिभावक, स्थानीय समाजका अग्रज तथा विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति थियो।

कार्यक्रमका प्रमुख अतिथि जीटीए-का डेप्युटी चेयरम्यान तथा क्षेत्रीय सभासद राजेश चौहान रहेका थिए। विशिष्ट अतिथिमा सभासद नुरी शेर्पा, पूर्व सभासद महेन्द्र प्रधान र रबिन्द्र लामा, एआई, एसआई, पूर्व शिक्षक तथा स्थानीय जनप्रतिनिधिहरू सहभागी थिए।

स्वागत सम्भाषण शान्ति राईले प्रस्तुत गरिन् भने प्रधान अध्यापिका सुधा राईले विद्यालयको इतिहास र उपलब्धिहरूबारे प्रकाश पारे। कार्यक्रममा बीके देवान, एनएल राईसहित पूर्व शिक्षक तथा पूर्व विद्यार्थीलाई सम्मान गरिएको थियो। साथै प्रमुख तथा विशिष्ट अतिथिहरूसहित विभिन्न विद्यालयका शिक्षक–शिक्षिकालाई स्मृति चिन्ह प्रदान गरियो।

सांस्कृतिक तथा सांगीतिक प्रस्तुतिले कार्यक्रमलाई झनै आकर्षक बनायो। सन् १९७५ मा स्थापना गरिएको मुण्डाकोठी उच्च विद्यालयले यस वर्ष आफ्नो ५० वर्षे यात्रा सम्पन्न गरेको छ।

29/11/2025

हिमालयन चालक तथा मालिक कल्याण संघ, दार्जीलिङ; गोर्खा एकता चालक संघ, दार्जीलिङ र हिमालयन यातायात समन्वय समितिमा आबद्ध सबै चालक तथा ट्याक्सी मालिक संघहरूले आज पर्यटन उद्योगमा कल्याणकारी र सहज सेवा प्रवाहका विषयमा एक आन्तरिक बैठक आयोजना गरेका छन्।

बैठकमा गैर–स्थानीय सवारी साधनलाई साइट सीन तथा टाइगर हिल सूर्योदय यात्रामा अनुमति दिएको कारण स्थानीय सिन्डिकेटको व्यवसायमा परेको प्रभावबारे विस्तृत छलफल गरिएको थियो।

बैठकपछि सबै सदस्यहरूले अबदेखि टाइगर हिल जाने सवारीका लागि टोकन नलिने निर्णय सर्वसम्मतिले पारित गरेका छन्।

उक्त बारेमा हिमालयन चालक तथा मालिक कल्याण संघ, दार्जीलिङका महासचिव राहुल शरसार; गोरखा एकता चालक संघ, दार्जीलिङका महासचिव भरत तिरूवा; तथा हिमालयन यातायात समन्वय समिति, दार्जीलिङका अध्यक्ष पासाङ शेर्पाले विस्तृत जानकारी दिएका छन्।

29/11/2025

दार्जीलिङ नगरपालिका बजार विभागले आज दार्जीलिङलाई भिखारीमुक्त बनाउने निर्णय र पहलको बारेमा पत्रकार सम्मेलनको आयोजना गरेको छ। यो पहल विशेष गरी महाकाल मन्दिर क्षेत्रमा दार्जीलिङ शहरलाई सफा र भिखारीमुक्त बनाउने हो। यस सम्बन्धमा नगरपालिकाले भविष्यमा तोकिएको भिखारी क्षेत्र निर्माण गर्ने निर्णय गरेको छ। उक्त विषयमा दार्जीलिङ नगरपालिका बजार विभाग सुपरभाइजर सुमन कार्कीले विस्तृत रूपमा जानकारी दिएका छन्।

29/11/2025

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा कालेबुङको सांङ्गठनिक सभा आज सम्पन्न भयो। सभामा कालेबुङका वरिष्ठ नेता, ब्लक १, २, ३ र ४ का प्रतिनिधि तथा भ्रातृ संगठनका नेतृत्व सहभागी थिए।

सभाले आगामी ६ दिसेम्बर २०२५ मा कालेबुङ डुङ्रा बस्ती सामुदायिक भवनमा छैटौं अनुसूची सम्झौता दिवस भव्य रूपमा मनाउने निर्णय गरेको ब्लक १ का सचिव बिकाश मुखियाले बताए।

कार्यक्रम तयारीका लागि गठन गरिएको समितिको अध्यक्षमा वरिष्ठ नेता सेबास्टियन प्रधान, सचिवमा बिकाश मुखिया, उपाध्यक्षमा प्रमोद बस्नेत, कोषाध्यक्षमा निमा ढेन्दुप शेर्पा तथा उप–सचिवमा रुपेन सुब्बा चयन गरिएको छ।

सचिव बिकाश मुखियाले ६ दिसेम्बर २००५ मा केन्द्र, राज्य सरकार र तत्कालीन दागोपाप अध्यक्ष सुवास घिसिङबीच भएको त्रिपक्षीय सम्झौताकै आधारमा गोरामुमो छैटौं अनुसूचीको मुद्दामा अडिग रहेको बताउँदै, "हामीले सम्झौता कहिल्यै बिर्सेका छैनौँ, संविधानअनुसार पहिचान, अधिकार र सुरक्षा सुनिश्चित हुने व्यवस्था नै हाम्रो माग हो," भनी स्पष्ट पारे।

29/11/2025

स्वतन्त्रता सेनानी गागा छिरीङ डुक्पाको ११६औं जयन्ती आगामी ७ दिसेम्बरमा दार्जीलिङस्थित प्रगति भवन सेवा संघमा मनाइने भएको छ।

आज डुक्पा वेलफेयर एसोसिएशन केन्द्रीय समितिको निजी कार्यालय, जोरबंगलोमा केन्द्रीय सभापति सांगे डुक्पाको अध्यक्षतामा ११ वटा शाखाका सभापति–सचिवहरू सहित बैठक सम्पन्न भएको जानकारी सभापति डुक्पाले सञ्चारकर्मीलाई दिएका छन्। बैठकको संचालन सह–कोषाध्यक्ष ठेण्डुप वाङ्दी डुक्पाले गरेका थिए।

यस विशेष सभामा सभापति सांगे डुक्पाले पहाड तथा देशभरका स्वतन्त्रता सेनानी गागा छिरीङ डुक्पाको ११६औं जन्मजयन्ती दार्जीलिङ रेलवे स्टेशन नजिकै रहेको प्रगति भवन सेवा संघमा मनाइने जानकारी दिए।

उक्त कार्यक्रमका लागि दार्जीलिङ नगरपालिकाका अध्यक्ष दिपेन ठकुरी मुख्य अतिथि रहनेछन् भने सुकेपोखरी ग्राम पञ्चायत सभापति सोनाम डोमा, कमिशनर पेमा छोडेन लामा र दोर्जी डुक्पा विशिष्ट अतिथि रहने जनाइएको छ।

सोही दिन कार्यक्रमको दोस्रो भागमा आमसभा आयोजना गरिनेछ। आमसभामा पुरानो केन्द्रीय कमिटीलाई विघटन गरी नयाँ कमिटी गठन गरिने पनि सभापति डुक्पाले बताए।

आजको सभामा सभापति सांगे डुक्पा, उप–सभापति सामडु डुक्पा, पेनजो डुक्पा, सह–सचिव बुद्ध डुक्पा, कोषाध्यक्ष पेम्बा छिरीङ डुक्पा, सह–कोषाध्यक्ष ठेण्डुप वाङ्दी डुक्पा, चन्दा डुक्पा, वाङ्दी डुक्पा, फिन्चो वाङ्दी तथा अन्य सल्लाहकारहरूको उपस्थित रहेको थियो।

29/11/2025

जीटीए अन्तर्गत दार्जिलिङ क्षेत्रका सम्पूर्ण विद्यालय प्रमुखहरुको अवकाश जीवनको विदाई एवं सम्मान समारोह कार्यक्रम आज गोर्खा रङ्गमञ्च भवनमा भव्यताका साथमा सम्पन्न गरिएको छ। उक्त सम्मान समारोह कार्यक्रममा १३ जान प्रधानअध्यापिका लगायत ४० जान प्रधानाध्यापकहरुलाई भव्य स्वागत सम्मान एवं स्मृति चिन्ह साथै सम्मान पत्र पनि प्रदान गरिएको जानकारी प्राप्त भएको छ। यस कार्यक्रममा संगठनका सभापति/ सचिव, जीटीए सभाध्यक्ष अञ्जुल चौह्वान भारप्राप्त सभासद एनोस थापा, नगरपालिका अध्यक्ष दिपेन ठकुरी, डा. मिलन तामाङ, अनिल शर्मा लगायत अन्य अन्यको विशेष उपस्थित रहेको थियो।

29/11/2025

खरसाङका भेटेरिनरी अफिसर डा. सुडेनला छिरिङ भुटियाले एक भिडियोमार्फत दार्जीलिङ तथा आसपासका सबै पशुप्रेमीलाई आगामी ७ दिसेम्बर आयोजना हुने ‘निःशुल्क अंगीकरण शिविर’ (Free Adoption Camp) मा सहभागी हुन आग्रह गरेकी छन्। उक्त कार्यक्रम बिहान १०:०० बजेदेखि दिउँसो १:०० बजेसम्म दार्जीलिङको क्यापिटल हलमा सञ्चालन हुनेछ।

यो कार्यक्रम एसडीएम दार्जीलिङको पहलमा दार्जीलिङ नगरपालिका, एआरडी विभाग तथा दार्जीलिङ गुडविल एनिमल शेल्टरको संयुक्त सहकार्यमा आयोजित गरिएको हो। शिविरमा सडक वा परित्यक्त अवस्थामा रहेका कुकुरका बच्चा र बिरालाका बच्चालाई निःशुल्क अंगीकरण लिन सकिने व्यवस्था गरिएको छ।

यसै अवसरमा घरपालुवा जनावरहरूको निःशुल्क स्वास्थ्य परीक्षण तथा निःशुल्क एन्टी–रेबीज खोप पनि उपलब्ध गराइने छ। घरपालुवा जनावरका मालिकहरूलाई आफ्नो पालतु जनावरहरूको खोप कार्ड साथमा ल्याउन अनुरोध गरिएको छ।

डा. भुटियाले निर्दोष जनावरहरूलाई माया, सुरक्षा र प्रेमपूर्ण घर उपलब्ध गराउन सबै पशुप्रेमीहरूलाई अगाडि आउन हार्दिक अपिल गर्दै अंगीकरण संस्कृतिलाई प्रवर्द्धन गर्ने महत्वपूर्ण प्रयासका रूपमा यस कार्यक्रमलाई समर्थन जनाउन आग्रह गरेकी छन्।

Address

7th Drive Zakir Hussain Road
Darjeeling
734101

Alerts

Be the first to know and let us send you an email when DSTV Darjeeling posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to DSTV Darjeeling:

Share