25/11/2025
चीनको शाङ्घाइ पुडोङ विमानस्थलमा एक भारतीय नागरिकलाई जन्मस्थान अरुणाचल प्रदेश भएको कारण आव्रजन अधिकारीहरूले उनको भारतीय पासपोर्ट ‘अवैध’ भन्दै करिब १८ घण्टा रोकेको घटना सार्वजनिक भएको छ। भारतीय दूतावासको हस्तक्षेपपछि मात्र उनी विमानस्थल छोड्न सफल भएकी हुन्।
यूकेमा १४ वर्षदेखि बस्दै आएकी प्रेमा वाङजोम थोङडोक लन्डनको ग्याट्विक विमानस्थलबाट जापान जाने क्रममा शाङ्घाइमा ट्रान्जिटमा थिइन्। e-gate पार गरिसकेपछि उनी अर्को उडानको लाइनमा उभिएकी थिइन्। त्यही बेला चिनियाँ आव्रजन अधिकारी एक्कासि आएर उनलाई लाइनबाट निकाल्दै भने—
“अरुणाचल– इंडिया होइन, चीन– चीन… तिम्रो भिसा मान्य हुँदैन। तिम्रो पासपोर्ट अवैध छ।”
‘तिमी चिनियाँ हौ’ भन्दै उपहास, हाँसो
थोङडोकका अनुसार, उनले कारण सोध्दा अधिकारीहरूले उल्टै उनको भारतीय पहिचानमाथि प्रश्न उठाउँदै उपहास गरेका थिए।
उनी भन्छिन्—
“उनीहरूले ‘अरुणाचल चीनको भाग हो’, ‘तिमी भारतीय होइनौ’, ‘चिनियाँ पासपोर्ट बनाऊ’ भन्दै हाँसेर मजाक गरे।”
उनका अनुसार विमानस्थलका कर्मचारीहरूले समेत उनको पासपोर्ट देखाउँदै हाँसो र उपहास गरेका थिए। यसअघि उनी शाङ्घाइमार्फत ट्रान्जिट भइसकेकी थिइन् तर कहिल्यै यस्तो समस्या नभएको बताइन्।
सहयोग माग्नै नसक्ने स्थिति : इन्टरनेट, Google, Whatsapp केही चलेन
थोङडोकले विमानस्थलमा वाइफाइ चलेन, र चीनमा Google वा Whatsapp जस्ता सेवा प्रतिबन्धित भएकाले कसैलाई सहयोग माग्न पनि नसकेको बताइन्। उनी पूर्ण रूपमा एक्लै परेकी थिइन्।
भारतीय दूतावासले हस्तक्षेप गरेपछि मात्र समस्या समाधान
घटनाबारे खबर पाएपछि शाङ्घाइ र बेइजिङस्थित भारतीय दूतावासका अधिकारीहरूले तुरुन्तै हस्तक्षेप गरे।
उनले भारतीय अधिकारीहरूले बारम्बार आव्रजनसँग समन्वय गरेपछि साँझ करिब १०:३० बजे मात्र आफू विमानस्थलबाट बाहिरिन सफल भएको बताइन्।
“हामी भारतीय हौँ, शुद्ध हिन्दी बोल्छौँ”
थोङडोक भन्छिन्—
“हामी अरुणाचलका मानिस भारतीय हौँ। शुद्ध हिन्दी बोल्छौँ। चिनियाँ भाषा त C पनि बुझ्दैनौँ। हामीलाई ‘तिमीहरू भारतीय होइनौ’ भनेर अपमान गर्नु हुँदैन।”
उनले भारत सरकारले यस्तो घटनालाई कूटनीतिक तहमा उठाउन माग गरेकी छन्।
भारतको कडा प्रतिक्रिया : ‘हास्यास्पद कारणमा रोकियो’
भारतीय विदेश मन्त्रालय स्रोतलाई उद्धृत गर्दै ANI ले लेखेको छ—
भारतले बेइजिङ र दिल्ली दुवै ठाउँबाट चीनलाई कडा डिमार्शे गरेको छ। भारतले स्पष्ट भनेको छ कि—
“अरुणाचल प्रदेश भारतको अविभाज्य हिस्सा हो र त्यहाँका नागरिकले भारतीय पासपोर्ट लिएर विश्वमै यात्रा गर्न पूर्ण हक राख्छन्।”
भारतले चीनको कदमलाई—
हास्यास्पद,
अन्तर्राष्ट्रिय उडान–सम्बन्धी कन्वेन्सन उल्लङ्घन,
दुवै देशबीच सम्बन्ध सामान्य पार्ने प्रयासमा बाधक
भनेर आलोचना गरेको छ।
चिनियाँ चलखेल ? ‘सप्ताहन्त भएकाले झन्झट सिर्जना गरिएको हुनसक्छ’
थोङडोकले घटनालाई चिनियाँ अधिकारीहरूले भारतीय नागरिक, विशेषगरी अरुणाचल प्रदेशका मानिसलाई सताउन प्रयोग गर्ने रणनीति हुनसक्ने टिप्पणी गरिन्।
उनले यो घटनापछि भारतका परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री कार्यालय, अरुणाचलका मुख्यमन्त्री लगायत अधिकारीहरूलाई इमेल लेखेर यस्तो घटना पुनः नदोहोरिन माग गरेकी छन्।