
26/07/2025
प्रेस विज्ञप्ति
भर्खरै छापामा मलाई भारतीय जनता पार्टीको सदस्यताबाट मेरा पार्टी अध्यछ श्री डीआर थापाले बर्खास्त गरिएको हाँस्यस्पद समाचार पढन् पाएँ। एक मनले सोचें यस्तो फटाहा चामलिङले पालेको दुई कौडीको सिक्किम विरोधीहरुको क्रिया कलापको के प्रतिक्रिया दिनु। फेरि अर्को मनले भन्यो होईन सत्य त बाहिर आउनै पर्छ साधारण सिक्किमे जनता, भारतीय जनता पार्टीका अन्य सदस्य तथा भारतीय जनता पार्टीको केन्द्रिय नेतृत्वले पनि सहि कुराको जानकारी पाउनु पर्छ भनेर साथी भाइहरुसित सल्लाह गर्दा एउटा प्रेस विज्ञप्ति जारि गरेर सत्य कुराको जगजाहिर गर्ने पक्का गरेर यो प्रेस विज्ञप्ति जारि गर्दैछु। सत्यको पूल्ठो सँधै जलाई राख्ने प्रेस मिडियाका मेरा साथीहरु मेरो खबर जस्ताको त्यस्तै सिक्किमे जनताको अघि पुर्याईदिनु होला। को सहि को गलत त्यो फैसला गर्ने म पनि होईन र पैसाको बलमा गलत तरिकाले भारतीय जनता पार्टी कब्जा गरेर बसेका चामलिङका खेतालाहरु पनि होईनन् । सहि र गलतको निर्णय गर्ने सिक्किमे जनता हुन् अनि भारतीय जनता पार्टीको केन्द्रिय नेतृत्व हो जो सिक्किमको एसकेएम पार्टीसित गठबन्धनमा आज पनि छ।
मेरा आदरणीय सिक्किमे जनसमुदाय एवं भारतीय जनता पार्टीभीत्रका साथीहरु, सिक्किममा अहिले जुन भ्रम छ त्यसबाट म यथासक्दो पर्दा उठाउने कोसिस गर्दैछु। राम्ररी मनन गर्नुहोला।
पहिलोमा भारतीय जनता पार्टीको साधारण सदस्यबाट बर्खास्त गर्ने अधिकार कसैकोमा छैन। तर एसडीएफबाट भारतीय जनता पार्टीमा छिरेर पैसाको ताकतमा गलत तरिकाले पुराना कार्यकर्ताको टाउको चढेर भारतीय जनता पार्टी कब्जा गरेर बसेका चामलिङका खेताला डीआर थापाले भारतीय जनता पार्टीको नीति सिदान्त र संस्कारको अभावमा यो गल्ति गरे जसलाई म मेरो तर्फबाट माफ गरिदिंदैछु। बिचरा बबुरो आजपनि भारतीय जनता पार्टीलाई पनि एसडीएएफनै सम्झन्छन् ।
फाँसीमा झुन्डाईने अपराधीलाई पनि झुन्डाईनु अघि तेरो अन्तिम ईच्छा के छ भनेर सोधिन्छ। तर, मलाई यो बबुरो एसडीएएफको खेतालाहरुले एकपल्ट पनि सोधेन, चेतावनी दिएन सो कज नोटिस जारि गरेन। गरेको भए तुरन्त त्यो सार्वजनिक गरिहाल। अनि त्यो पछि हुन्छ खेला शुरु। जुन खेला तिमीले शुरु गर्यौ त्यसको अन्त हामी गर्नेछौं। सुनिराख्नु। भारतीय जनता पार्टी कसैको गोजीको पेवा पार्टी होईन। यो भारतीयहरुको साझा सपना हो। वाई. टी. लेप्चा को हो यो राम्ररी सुनीराख। बिजेपीको बिउ सिक्किममा उमार्न वाई.टी लेप्चाले खाली खुट्टै बसेको छ। वाई.टी. लेप्चाको खाली खुट्टामा जुत्ता लगाईदिने भारतका यस्वस्वी आदरणीय प्रधान मन्त्री मोदी हुन् पवन चामलिङ र उसको खेताला डिल्लीराम थापा होईन। जति खेर डीआर थापा र उनको नेता चामलिङ मोदीलाई धोती र बिजेपीलाई मदिशेको पार्टी भनेर गाली गर्थे र सराप्थे त्यो समयको सदस्य हो वाई. टी. लेप्चा। यो खबर लिएर फेरि पनि खाली खुट्टै मोदीको दरबारसम्म गुहार लगाउन सक्ने हिम्मत वाई.टी. लेप्चाकोमा छ। सुनिराख्नु।
अब राजनीतिमाथिबाट पर्दा उठाऔं। 2019 मा बिजेपी र एसकेएमको विरोधमा चुनाउ लडेर चुनाउमा चित खाए पछि एसकेएमको सरकार ढाल्ने नियतले चामलिङको ईशारामा आएका थापाहरु आज पनि चामलिङकै ईशारामा काम गर्दैछन् । 2019 उन्नाईसको चुनाउ पछि यिनीहरु भारतीय जनता पार्टीको उन्नति र विकासको निम्ति होईन तर बिजेपीसित गठबन्धनमा रहेको एसकेएम पार्टीको सरकार ढाल्न आएका थिए। यिनीहरुको शरिर भाजपामा भए पनि मन र आत्मा एसडिएफमा थियो र नै 13 मा दश जना विधायक आफ्नो साथमा छँदा पनि थापाले चामलिङलाई एसडीएफबाट बेदखल गरेर एकनाथ सिन्दे जस्तो एसडीएफ कब्जा गरेर एसडीएफलाई भाजपामा विलय गरेर सिक्किममा भारतीय जनता पार्टीको सरकार गठन् गरेनन् तर बिजेपीमा रहेर चामलिङको ईशारामा गुडिया जस्तो चलिरहे।
अब अर्को सत्य म यहाँ पर्दा फास गर्दछु। जुन सत्य बाहिर आएको दिन तिमीहरुको गन्दा राजनीतिको खेला खतम हुनेछ। सुरु देखिनै एसकेएम पार्टी एनडिएको एउटा घटक दल थियो । केन्द्रिय स्तरमै 2024 को चुनाउमा भारतीय जनता पार्टीको आधिकारिक गठबन्धन एसकेएम पार्टीसितै थियो। तर, डिआर थापाको नेतृत्वमा रहेको सिक्किमको भारतीय जनता पार्टी भीत्र भित्रै पवन चामलिङको एसडिएफसित मिलेर ईन्डी एलायन्सको सरकार बनाउन सक्रिय थियो। चुनाउ पछिको गणनाको दिनसम्म डीआर थापा, पवन चामलिङसित दिल्लीमा क्याम्प लगाएर केन्द्रिय नेतृत्वको विरोधमा एसडीएफसित मिलेर सरकार गठन गर्ने प्रकियामा थिए। भारतीय जनता पार्टीको सिक्किम प्रदेशको नेतृत्वले आफ्ना केहि उम्मेद्वारहरुलाई एसडिएफसितको एलाएन्सको निम्ति विश्वासमा लिने कोशिस गरेका थिए। उनिहरुको भनाई थियो बिजेपीले चारवटा सीट जित्छ र एसडीएफसित मिलेर सरकार बनाउँछ। यो त सिक्किमे जनताको सूझ बूझ थियो कि एसडीएफको साँउ सूदसित उसको खेतालहरुको पनि चोक उठाई दियो।
यस्तो केन्द्रिय नेतृत्वको सिदान्तलाई पनि उंल्लघन गरेर निर्णय लिने थापाले बिजेपीको मूल बिउ वाई. लेप्चालाई पार्टीबाट निकाल्यो भन्नु उनको मूर्खता देखाउनु हो। भाजपामा बसेर ईन्डी एलान्सको काम गर्नेहरुको चरित्र उदाङ्गो पार्नु पनि जरुरी थियो। जो मौका उनले मलाई दिए जसको निम्ति म फेरि पनि उनलाई धन्यवाद दिँदछु। अब मैले भारतीय जनता पार्टीको केन्द्रिय नेतृत्वलाई सोध्नु छ बिजेपीमा बसेर ईन्डी एलाएन्सको निम्ति फिल्डिङ गर्नेहरुको विरोधमा कस्तो कार्वाही हुन्छ।
विनित
वाई.टी.लेप्चा
पूर्व विधायक एवं
सदस्य
भारतीय जनता पार्टी सिक्किम