06/09/2025
गाजाको चित्कार
-किशोर
रगतले रंगिएको छ गाजा,
रंगहीन समेटिएको छ आज गाजा।
घर, छैन, ओछ्यान छैन,
अस्ति जुन आकाश हेर्थे, आज त्यहीँबाट मृत्यु झर्छ।
शब्दहरूले नपुग्ने पीड़ा छ त्यहाँ,
आमाको काख रित्तिएको
बाबाको हात चिसिएको,
र...एउटी सानी छोरी - टुक्राटुक्रा सपना लिएर
छरपष्टमा परेको छ आज गाजा।
यो युद्ध होइन,
यो आत्मा विरुद्धको हमला हो।
यो कुनै राजनीति होइन,
यो मानवताको चिरहरण हो।
गाजा बोल्दैछ-
“म कहाँ जानु? पृथ्वी नै मेरो लागि जेल भयो।”
संयुक्त राष्ट्र चुप,
शक्ति राष्ट्रहरू व्यस्त छन्- आँखा चिम्लेर।
तर बचेका छन् केही स्वर,
कविताका रुपमा,
प्रार्थनाका स्पन्दनमा,
र...क्रोधित मौनतामा।
गाजा अझै बाँच्न खोज्छ,
बालबालिकाले अझै पनि चित्र बनाउँछ आकाशका।
तर निष्प्राण छन् रंगहरू। त्यहाँ रंगहरू बोल्दैनन्।
गाजाको गल्लीहरू बोल्छन् बरु..
बमले उडेका लाशहरूमा...
रित्तिएका आँखाहरूको मौन क्रन्दनमा...
छरपष्ट हरेक इँटामा कुँदिएका छ एउटा कथा-
छरपष्ट हरेक राशमा दबिएको छ धेरै वेदना-
त्यहाँ आकाश छैन, धरती च्यातिएको छ।
त्यहाँ हाँसो छैन, क्रन्दन पोखिएको छ।
तर...संसार?
त्यो संसारले त हेर्छ केवल टेलिभिजनमा फुटेका शरीरहरू
पोखिएका रगतका फाल्साहरू...
अनि लगत्तै टेलिभिजनको च्यानल फेर्छ,
र भोलि हेर्छ आफूलाई सुख दिने दृश्यहरू...
तर गाजामा भोलिको सूर्य उदाउँदैन।
त्यहाँ त केवल आगो र मलामीहरू उदाउँछन्।
गाजाले सबैलाई सोध्दैछ...
के मेरो नाम लिन तिमीलाई डर लाग्छ?
के मेरो पीडा टाढ़ा छ तिमीहरूको कानबाट?
के तिमीहरूलाई केवल शक्तिको खबरहरू प्रिय छन्?
इतिहासले मौनतालाई कहिले माफ गर्दैन।
साक्षी बनेका तिमीहरू एकदिन प्रश्नित हुनेछौ-
“गाजामा अबोध नानीहरूको रगत बग्दा तिमी कहाँ थियौ?”